५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

आर्थिकोपार्जनको आधार गुम्न थालेपछि सर्वसाधारण चिन्तामा

डोल्पा- गत वर्षको अन्तिम महिनादेखि अहिलेसम्म डोल्पाका उच्च हिमाली पाटनहरु हिउँले सेताम्मे छन् । बैशाखको तेस्रो साता लागि सक्दा समेत डोल्पाका यार्सायुक्त पाटनहरुमा हिमपात हुने क्रम जारि नै छ । हिमपातलाई डोल्पालीहरु शुभ साइतको रुपमा लिने गर्छन् । हिमपात भएमा बहुम्रल्य जडिबुटी यार्सागुम्बु छिटो राम्रो र धेरै उम्रने भएकाले पनि उनीहरु हिउँलाई शुभ मान्छन् । तर यत्तिखेर विश्वभर महामारीको रुपमा कोरोना भाइरसको सन्त्रास फैलाइरहेको छ । यसको पूर्वसतर्कता अनुरुप नेपाल सरकारले गरेको लकडाउनले पनि ४० औ दिन पार गरेको छ ।

देश पूर्ण लकडाउनमै छ । यसैबीच डोल्पालीको वर्षभरिको कमाई गर्ने आधार महिना मानिने बैशाखले पनि तेस्रो सातामा प्रवेश गरेको छ । यो महिना उनलाई पाटन जानको लागि चाहिने बन्दोबस्तीका सामाग्री जुटाउनको लागि भ्याईनभ्याई हुन्थ्यो । विश्वभर फैलिएको कोरोना सन्त्रासले एकातिर चिन्तित बनाएको त छदै छ, त्यसैमा पनि वर्षभरिको खर्च धान्ने आम्दानीको स्रोत मानिएको बहुमूल्य जडिबुटी यार्सागुम्बु माथिको प्रतिबन्धले उनलाई थप चिन्ता थपिदिएको हो । त्रिपुरासुन्दरी नगरपालिका १ करेलीकाँडाकी ३५ वर्षीया शान्ति बोहरालाई यार्सागुम्बु माथिको प्रतिबन्धले कोरोना सन्त्रास भन्दा पनि बढि चिन्तित बनाएको हो ।

बोहराको ७ जनाको परिवार छ । तर सबै जना निरक्षर भएकाले यार्सागुम्बु नै उनको परिवारको आम्दानीको स्रोत बन्दै आएको थियो । लकडाउनको कारण घर बाहिरसम्म समूहमा जान नपाइने भएकाले घरकै आगनमा बैशाखको टनटलापुर घाममा एकातिर कोरोना संक्रमणले छुने होकी भन्ने, अर्कोतिर यार्सागुम्बु नटिपे कसरी कोरोनापछिको दैनिक जीवनयापन गर्ने भन्नेले पिरोलि रहेको छ उनलाई । करेलीकाँडाकै २७ वर्षीय बालकृष्ण बोहरा गाउँका यार्सागुम्बु व्यापारी हुन । उनको परिवार पनि यार्सागुम्बुकै आम्दानीबाट बर्षभरिको खर्च टार्दै आएका छन् । तर यत्तिखेर उनी साथीभाईसंग भेट्दा खिस्स बनावटी हाँसो देखाउने गरेपनि उनको मनमा भने यार्सागुम्बु टिप्न नपाएपछि कसरी गुजरा चलाउने भन्ने अनेकन कुराले पिरोलीरहेको आभास हुन्छ ।

बैशाख ९ गते जिल्ला प्रशासन कार्यालय डोल्पामा प्रमुख जिल्ला अधिकारी सुरेश सुनारको अध्यक्षतामा बसेको जिल्ला विपत व्यवस्थापन समितिको बैठकले शे फोक्सुण्डो राष्ट्रिय निकुन्ज यसको मध्यवर्ती क्षेत्र र डिभिजन वन कार्यालयको क्षेत्रभित्र पर्ने पाटनहरुमा विगतका वर्षहरु झै यस वर्ष पनि यार्सागुम्बा संकलन गर्दा बाहिरी जिल्लाबाट भित्रने हजारौ मानिसहरुको कारण कोरोना भाइरसको संक्रमण बढ्ने भन्दै यार्सागुम्बा संकलनमा रोक लगाउने निर्णय गरेसंगै बोहरा लगायतका करेलीकाँडाका बासिन्दामा चैनसंग निन्द्रा लागेको छैन । त्रिपुरासुन्दरी नगरपालिका १ मा पर्ने करेलीकाँडा गाउँ शे फोक्सुण्डो राष्ट्रिय निकुन्ज अन्र्तगतको त्रिपुरासुन्दरी मध्यवती वन व्यवस्थापन समिति अन्र्तगत पर्छ ।

कोरोना भाइरस (कोभिड–१९)रोगको महामारी नियन्त्रण समेत नभएको बेला जिल्ला प्रवेश तथा सङ्कलन अनुमति प्रदान गर्दा बाहिरी जिल्लाबाट दशौ हजार मानिसहरु निकुन्ज तथा मध्यवर्ती वन क्षेत्रका पाटनहरुमा प्रवेश भई कोरोना भाइरस रोग एक ब्यक्तिबाट अर्को ब्यक्तिमा मात्र नभई वन्यजन्तुमा समेत संक्रमण सर्ने भयावह अवस्था सृजना हुने देखिएकोले हुनसक्ने सम्भावित क्षेतिलाई मध्यनजर गर्दै निकुन्जले पनि यो वर्ष यार्सागुम्बा संकलनमा रोक लगाउने निर्णय गरेको छ ।

त्रिपुरासुन्दरी नगरपालिका १ कै लोकमान श्रेष्ठलाई पनि यर्सागुम्बु माथिको प्रतिबन्धले चैन छैन ।उनले भने “घरमा कसैको रोजगार छैन, परिवारको कमाइ भनेकै यार्सागुम्बा हो,यो वर्ष यार्सागुम्बा रोकियो अव कसरी वर्षभरीको खर्च टार्ने होला” “एक महिना यार्सागुम्बा टिप्यो भने केही नभए तीन लाखसम्म कमाई हुन्थ्यो, त्यसैले घरपरिवार पाल्ने,बच्चा पढाउने, चाडपर्व मनाउने, स्वास्थ्य उपचार गर्ने गरिन्थ्यो ।” श्रेष्ठले लामो सुस्केरा हाल्दै भने कोरोनाले मरिन्छ मरिदैन थाहाँ छैन तर अर्को वर्ष भोकभाकै पक्कै मरिन्छ । यार्सागुम्बु वर्षभरिको दैनिकी चलाउने आधार मात्र नभई सुविधा सम्पन्न शहरमा घरघडेरी जोड्ने आम्दानीको स्रोत पनि हो ।

मेरो परिवारको मात्रै होइन गाउँमा रहेका ५६ घरधुरीको कमाईनै यार्सागुम्बा संकलन हो । यार्सागुम्बु नटिपे त दुई चार घर बाहेक सबैलाई जीवन जीउन र बालबच्चाको पढाई लगायतका अति आबश्यकीय काम गर्न समेत समस्या हुन्छ करेलीकाँडाका विष्णु बुढाले बताए । डोल्पामा अहिले सम्म कोरोना भाइरस संक्रमणको अवस्था नभएकोले पुर्वसर्तकताका लागि बाहिरका मान्छेलाई रोकेर स्थानीयलाई संकलन गर्न दिएमा स्थानीयको रोजीरोटी नखोसिने बुढाको भनाई छ ।यार्सागुम्बुलाई डोल्पालीहरु मौसमी खेतीको रुपमा लिदै आएका छन् । नगरपालिकाको १ का जमानसिं कठायतलाई पनि यार्सागुम्बा रोकियको खबरले दुःखी बनाएको छ ।

चार परिवार भएका उनको आम्दानीको मुख्य स्रोत नै यार्सागुम्बा हो, यार्सागुम्बुको संकलननै रोकिएपछि वर्षभरी कसरी खाद्यान्न किन्ने र कसरी बच्चा–बच्ची पढाउने भन्ने छ । यार्सागुम्बुको संकलन कार्य हुनु भन्दा पहिले मान्छेहरुले खेती किसान गर्थे तर यार्सागुम्बुको उदयसंगै सबैले खेतिकिसान छोडेर सबै यार्सामा परनिर्भर भएकाले यार्सागुम्बु विगत केहि समय यतादेखि विकल्परहित आम्दानीको माध्यम बन्दै आएको बठायतले बताए ।

करेलीकाँडा गाउँ मात्र नभएर अधिकांश डोल्पालीको आम्दानीको स्रोतनै यार्सागुम्बा संकलन हो,यार्सागुम्बा बेचेरै नुन,तेल,चामल लगायतको जोहो देखि केटाकेटीलाई कापी कलम किन्ने, बिरामी पर्दा उपचार गर्ने पनि यार्सागुम्बाकै कमाईबाट गर्दै आएका छन् । डोल्पाली पाल्ने नै यार्सागुम्बा हो,सबैको रोजगारी भनैकै यार्सागुम्बा हो, यस वर्ष यार्सागुम्बा रोकिएकाले पैसाकै कारण डोल्पालीले धेरै दुःख पाउने त्रिपुरासुन्दरी नगरपालिका १ की दुर्गादेवी न्यौपानेले बताईन् ।

शे–फोक्सुण्डो निकुञ्ज क्षेत्रमा पर्ने बन र सामुदायिक बनमा यार्सागुम्बा संकलन प्रतिवन्ध लागेपछि डोल्पालीको चैनको निद्रा हटेको छ । जिल्लाका त्रिपुरासुन्दरी, ठुलीभेरी नगरपालिका,मुड्केचुला, जगदुल्ला, शे–फोक्सुण्डो, काइके, डोल्पो बुद्ध, छार्काताङ्सोङ् गाउँपालिकाका प्रायः स्थानीयको आम्दानीको मुख्य स्रोतनै यार्सागुम्बा संकलननै हो । डोल्पाका तीन दर्जन भन्दा बढि पाटनहरुमा बहुमूल्य जडिबुटी यार्सागुम्बु पाइन्छ । यार्सागुम्बा सिजनमा डोल्पाको एउटै गाउँमा करोड भन्दा धेरै कारोवार हुने गरेको यार्सा व्यापारीहरु बताउँछन् ।

सहज हुदैनथ्यो यार्सागुम्बु यात्रा    
वर्षदो असिनापानी र कठाङ्गिदो जाडोको प्रवाहा नै नगरि जीवनलाई जोखिम मोल्दै कस्टपूर्ण यार्सा यात्रालाई पार लगाउने प्रयात्नका साथ घुँडा धर्सेर चिसो सिरेटोसंगै बुट्यानयुक्त घाँसमा लुकेर उर्मिरहेको जीवनबुटी खोज्नु पर्‍थ्यो ।

एक पटकको कस्टपूर्ण सघर्षबाट मनग्य आम्दानी हुने भएपछि मानिसहरु यार्सागुम्बा प्राप्तीको जोखिमपुर्ण यात्रासंग रमाई रमाई जस्तोसुकै दुख र पिडालाई पनि यार्साको प्रयाप्ती पछि भुल्ने गर्थे । ठुलीभेरी नगरपालिका ६ दुरगाउँका ६९ वषीय गोरे रोकायलाई यत्तिखेर  गाउँका सबै जना नाबालकसहित पाटन तीर गएर गत वर्ष यार्सा खोजीरहेको सम्झनाले सताउन थालेको छ ।

गएको वर्ष ५० देखि ६० वटासम्म यार्सा टिपेका उनले यत्तिखेर घरको आगनमै बसेर पाटनतीर हेर्दे विगतलाई सम्झेर अनेकन कुरा खेलाउदै मनलाई बरालि रहनुको अर्को विकल्प छैन । एक ओटा यार्सा भनेको नै हजारको नोट हुन्थ्यो केहि नपाएपनि कम्तीमा ५० देखि १ लाखसम्म कमाइन्थ्यो अवत यो पनि बन्द भयो रोकायले दुखेसो पोखे । लक्ष्मी पाउन सहज हुदैन यो त भाग्यमा लेखेकाले मात्र पाउँछन् । यसो त पाटन पुगेका सबैले यार्सा पाएर फर्कन्छन् भन्ने पनि थिएन तर यो वर्ष संकलनमै रोक लगाएपछि यार्सागुम्बुमाथि भाग्य लेखिएकाहरुको लागि आम्दानी गुम्ने भयो ।

नेपालका मध्य तथा पश्चिमी हिमाली जिल्लाहरुमा पाइने बहुमूल्य जडीबुटीमध्येकै एक अनौठो विशेषता बोकेको महत्वपूर्ण जडीबुटी हो यार्सागुम्बा । तिब्बती भाषामा यार्चाकुन्भूको परिभाषा यार भनेको वर्षा, चा भनेको घाँस वा झार,कुन् भनेको हिउँद र भू भनेको कीरा हो ।तसर्थ यसको नाम वर्षे झार हिउँदे कीरा पनि हुन आउँछ । हिउँमा हिउँदभित्र कीराको रुपमा रहने र हिउँ पग्लेपछि बनस्पतीको रुपमा जमिनमाथी देखापर्ने हुँदा यसलाई यार्चाकुन्भू भन्ने गरिएको भनाइ छ ।

यार्सागुम्बा पाइने बस्तीहरुमा यसलाई जीवनबुटी, जरा, च्याउ, च्याउकीरा, कीरा र हरियो सुनको नामले चिन्ने गरेको डिभिजन बन कार्यालय डोल्पाका प्रमुख जितेन्द्र महत बताउँछन् ।वनस्पति र प्राणी दुवैको विशेषतायुक्त यो यार्साकुन्भू बहुउपयोगी जडीवुटीको रुपमा चिनिन्छ । यार्चाकुन्भू औसत ५.० देखि १० से.मि. लामो र १.८ देखि २.१ से.मि.मोटो र सुनौलो तामा रङको हुने गर्छ ।

यसको औसत तौल ०.५० देखि ४.२ ग्रामसम्म हुने र डोल्पामा पाइने  यार्सागुम्बा अपेक्षाकृत ठुलो आकारको हुने र एक किलोग्राममा २ हजार ५ सय देखि ३हजार ३ सय वटा सम्म यार्सागुम्बा हुने जिल्ला डिभिजन बन कार्यालय डोल्पाले प्रकासित गरेको यार्सागुम्बा परिचय हाते पुस्तकमा उल्लेख छ । डोल्पा र दार्चुला जिल्लामा मुख्यरुपमा पाइने भएपनि मुगु, हुम्ला, जुम्ला, मनाङ्ग, गोरखा ,बझाङ्ग, रुकुम, लमजुङ, सिन्धुपाल्चोक, संखुवासभा, धादिङ, ताप्लेजुङ र रसुवा लगायतका २० ओटा नेपालका जिल्ला र भुटान, भारत, चीन र तिब्बतमा पनि यार्सागुम्बा पाइन्छ ।

सामान्यतया ६ महिना हिउँ पर्ने र ६ महिना हिउँ पग्लने हिमरेखाको आसपास समुद्र सतहबाट ३ हजारदेखि ५५ सय मिटरसम्मको घाम लाग्ने पारिलो मोहडाका पाटन क्षेत्रमा यार्सागुम्बा पइने अनुसन्धान कर्ता शिव देवकोटाले ०६४ सालमा डोल्पामा गरेको सर्वेक्षणमा उल्लेख छ ।

बाहिरी मुलुकहरुमा यसको प्रयोग यौनवद्र्दक, क्षयरोग, लहरेखोकी, किड्नी उपचार र फोक्सो रोगको उपचार उच्च एवं निम्न रक्तचाप नियन्त्रण थकान घटाउने शरीरको रोगसंग लड्न सक्ने क्षमतामा विकास र अनियमित मासिक स्राव रोक्नको लागि प्रयोग हुने गरेको डिभिजन बन कार्यालय डोल्पाका प्रमुख महते बताए । उनका अनुसार मुख्यरुपमा यौनवद्र्दक औषधीको रुपमा स्वीकार गर्दै हिमालयन भियाग्राको नामले बाहिरी मुलुकहरुमा परिचित भएको र नेपालमा पनि हाल चामलमा यसको धूलो मिसाई यार्सागुम्बा चामल र चियामा मिसाई यार्सागुम्बा टी नाम दिई विदेशमा समेत निर्यात गरिने गरिएको छ ।

प्रतिगोटा २०० देखि ३०० रुपैयाँसम्म पाटन क्षेत्रमा मूल्य पर्ने यो यार्सागुम्बा डोल्पाको सदरमुकाम दुनै आइपुग्दासम्म प्रतिगोटाको ५०० देखि १००० रुपैयाँसम्म पर्ने गर्दथ्यो । डोल्पामा प्रतिकिलो यार्सागुम्बाको १४ देखि १६ लाख सम्म पर्छ भने छिमेकीमुलुक चीनको स्वशासित क्षेत्र तिब्बतमा १६ देखि २६ लाख सम्म पर्ने गर्छ ।यार्सागुम्बा डोल्पालीको लागि आयआर्जनको राम्रो स्रोत बन्दै आएको थियो ।

व्यापारमा आर्थिक मन्दी
डोल्पालीको बर्षभरीको आम्दानी मात्रै गुमेको छैन यार्सागुम्बु माथिको प्रतिबन्धले व्यापार ब्यवसायमा समेत मन्दी ल्याएको छ । जिल्लाको दुनै, त्रिपुराकोट, खदाङ्ग, लिकु लगायतका बजारमा यत्तिखेर पाटनमा लैजाने बन्दोबस्तीका सामाग्री किन्नेहरुको भीड लाग्ने गर्दथ्यो । तर लकडाउन संगै यार्सागुम्बु संकलनमा प्रतिबन्ध लगाइएपछि बजारमा आवतजावत नै ठप्प भएपछि व्यापार ब्यवसाय गर्दै आएका व्यापारीहरुको ब्यवसाय पनि संकट परेको छ ।

“यार्सागुम्बा सिजन आउनु भन्दा एक महिना अघि बैशाख देखिनै होटेल पसलहरुमा आर्थिक कारोवार सुरु हुन्थ्यो, बैशाखदेखि जेठ पहिलो हप्तासम्म केही नभएर पाँच ६ लाखको कारोवार हुन्थ्यो स्थानीय ब्यापारी धर्मसिं रोकायाले बताए । उनले भने “यतिखेर लत्ताकपडा, नुन तेल चामल चाउचाउ बिस्कुट लगायतका सामान बिक्री हुन्थ्यो, नगद उधारो दुबै कारोवार हुन्थ्यो, यार्सागुम्बा संकलन गरेर बिक्री गरिसकेपछि साउन भदौ भित्र रकम चुक्ता गर्ने सर्तमा पनि सामान दिइन्थ्यो ।

दाङबाट डोल्पा पुगेर इलोक्ट्रोनिक ब्यापार गर्दै आएका व्यापारी प्रकाश पन्थीले यो बर्ष व्यापार ब्यवसायमा बिराम लागेको बताए । उनले भने कतिपयले त गत वर्षकै उदारो बाँकी राखेका छन् । यो वर्ष त झनै टिप्नै नपाउने भएपछि गत वर्षको पनि नउठ्ने यो वर्ष ब्यापार नै नहुने भएपछि अघिकाशं व्यापारीहरुको उठिबासनै हुन्छ, बसेका व्यापारीलाई लाखौँ घाटा लाग्छ । जिल्ला भरीका होटेल, इलेक्ट्रोनिक, कस्मेटीक, फेन्सी, सुनचाँदी लगायतको व्यापार वर्षभरी हुने यार्सागुम्बुबाटको आम्दानीले नै आर्थिक कारोवार हुने गर्छ ।

त्रिपुरासुन्दरी नगरपालिका मेयर ओमबहादुर बुढा डोल्पाली जनताको कमाउने माध्यमनै यार्सागुम्बा लगायतका जडिबुटी भएको बताउँछन् । डोल्पालीलाई मात्रै टिप्ने ब्यवस्था गरि यार्सापाटन खोल्नु पर्ने भएता पनि वर्तमान विषम परिस्थतीका कारण सबैलाई बन्द गर्नु परेको मेयर बुढाको भनाई छ । जिल्ला समन्वय प्रमुख शेरबहादुर बुढाले डोल्पाबासीको आर्थिक उपार्जनको मुख्य स्रोतनै यार्सागुम्बा भएकाले बैशाख मसान्त भित्र पुनःएक पटक जिल्लाका सरोकारवाला निकायसँग छलफल गरेर खुल्ने–नखुल्ने टुङ्गो लगाइने बताए । डोल्पामा प्रत्येक जेठको दोस्रो साताबाट यार्सागुम्बु संकलन गर्ने गरिने भएकाले पुनः एकपटक छलफल गरिने समन्वय प्रमुख बुढाको भनाई छ ।

डोल्पामा यार्सागुम्बा संकलनकै लागि रुकुम, जाजरकोट, सल्यान, जुम्ला रामेछाप सिन्धुपाल्चोक काठमाण्डौ धादिङ्ग लगायतका जिल्लाबाट प्रत्येक बर्ष दशौँ हजार मानिसहरु डोल्पा भित्रन्थे ।

जिल्ला प्रवेश गर्ने मानिसहरुलाई प्रवेश शुल्क र संकलन पुर्जी वितरण गरेर मात्रै निकुञ्ज कार्यालय सुलिगाड र सामुदायिक बनहरुले करोडौँ आम्दानी गर्दै आएका थिए । डोल्पा नेपालमै सबैभन्दा धेरै र उच्च गुणस्तरको यार्सागुम्बा पाइने जिल्लाको रुपमा समेत चिनिन्छ । यार्सागुम्बा एउटैको पाँच सयदेखि एक हजारसम्म पर्दछ भने एक किलोको १६ लाख देखि २६ लाखसम्म पर्ने गर्दछ ।

चीन,सिंगापुर,थाइल्यान्ड लगायतका अन्तराष्ट्रिय बजारमा यार्सागुम्बाको मूल्य नेपालको भन्दा दुई देखि तीन गुणा धेरै पर्ने यार्सा ब्यापारीहरु बताउँछन् ।

जिल्लाका तीनहजार मीटरदेखि पाँच हजार मीटरसम्मका उच्च हिमाली पाटनहरुमा यार्सागुम्बा पाइने गर्दछ । बहुमूल्य जडिबुटी भएकै कारण ज्यान नै जोखिममा पारेर यार्सागुम्बा संकलनका लागि सर्वसाधारणहरु यार्सा पाटन जाने गर्छन् ।

 

 

प्रकाशित: २० वैशाख २०७७ १२:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App