१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

सीमापारि रहेका ५ सय नेपालीले अझै प्रवेश पाएनन्

धनगढी - सुदूरपश्चिमको दार्चुला र बैतडी जिल्लाको सीमा नाका पारि रहेका नेपाली मजदुरलाई प्रवेश गर्न दिइए पनि कैलाली र कंचनपुर लगायतको सीमा नाका पारि भारतको क्वारेन्टाइनमा एक महिनादेखि रहेका करिव ५ सय जना मजदुरले भने प्रवेश पाएका छैनन्। कंचनपुरको सिमानाका पारि बनवासा र टनकपुरमा, कैलालीको पलिया लगायतमा एक महिनादेखि क्वारेन्टाइनमा रहेकाहरु सरकारले अनुमति नदिएकाले प्रवेश गर्न नपाएका हुन्।

दार्चुला र बैतडी पारि रहेका करिव १ हजार बढी जनालाई सरकारको अनुमतिमा जिल्ला प्रशासनले जिल्ला प्रवेश गराएका हुन्। कैलाली र कंचनपुर जिल्ला प्रशासनले पनि सिमापारि भारतीय क्वारेन्टाइनमा रहेका नेपालीलाई प्रवेश गराउन सरकारलाई सिफारिस गरेपनि अनुमीत पाएका छैनन्।

‘हामीले पहल त गरिरहेका छौं, तर सरकारबाट अनुमति नपाएकाले सिमापारि रहेकालाई प्रवेश नगराइएको हो’कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बोहराले भने,‘सरकारले अनुमति आएपछि उनीहरुलाई प्रवेश गराएर स्थानीय तहसँग समन्वय गरेर क्वारेन्टाइनमा राख्ने तयारी गरिएको छ।’

सिमापारि रहेका नेपालीलाई प्रवेश गराउने र प्रवेश गराएर कसरी व्यवस्थापन गर्ने सवै होमवर्क भैसकेको र सरकारले निर्णय गरेपछि भित्र्याइने उनको भनाई छ। कैलालीको सीमापारि पलियामा एक महिनादेखि १ सय ६४ जना क्वारेन्टाईनमा बसेका छन्। एकमहिना बढी समयदेखि क्वारेन्टाइनमा बसेकालाई प्रवेश नगराउदाँ त्याहाँ बिभिन्न ठाउँबाट पैदल हिडेर आएका नेपाली मजदुर थपिदै गएका छन्। पछिल्ला दिनमा थपिएका कारण  जोखिम बढ्ने संभावना रहेको छ।

‘सबैै विबरण संकलन गरेर सिमापारि रहेकालाई भित्र्याएर कसरी व्यवस्थापन गर्ने भनेर कार्ययोजना समेत बनाइसकेका छौं, व्यवस्थापन गर्ने कार्ययोजना सहितको विवरण केन्द्रमा जानकारी गराएका छौं’उनले भने,‘दुई देशका सरकारबिच समझदारी भएर निर्णय हुन्छहोला।’ सिमापारिबाट प्रवेश गराएर पनि उनीहरुलाई १४ दिन  अनिवार्य क्वारेन्टाइनमा राखिने योजना रहेको र त्यसका लागी स्थानिय तहसँग समन्वय भैरहेको उनले बताए।

भारतीय नागरिक समेत धनगढीको क्वारेन्टाइनमा ६० जना रहेका छन्।
दुवै देशका नागरिक प्रवेश गराउने बिषय भएकाले दुई देश बिच समझदारी भएपछि मात्र निर्णय हुनाले याहाँ ढिलो भएको हुनसक्ने उनको भनाई छ।

यसैगरि कंचनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले कंचनपुरको सीमापारि बनवासा र टनकपुरमा गरेर २ सय ५१ जना नेपाली भारतिय क्वारेन्टाईनमा रहेको बताएका छन्।

उनीहरुलाई एक महिना बढी पुगेको उनले बताए। केही दिनअघि आफू सहितको  टोली सीमापारि नेपालीहरु बसेको क्वारेन्टइनमा अनुगमनका लागि गएर अवस्था बुझेको उनले बताए।  क्वारेन्टाइनमा बसेका नेपालीहरुले नेपालमै क्वारेन्टाइनमा बस्न तयार भएको र देशमा जान पाउन माग गरेका थिए।

सीमापारि एक महिनादेखि बसिरहेका नेपालीहरु यता आएर क्वारेन्टाइनमा बस्न तयार छन्, उनीहरुलाई नेपाल ल्याएर व्यवस्थापन गर्नका लागी मन्त्रालयमा सिफारिस पठाएको प्रजिअ खतिवडाले बताएका छन्।‘नेपाल प्रवेश गराउन हामीहरुले पहल गरिराखेकै छौं, केन्द्रमा सिफारिस पनि पठाएका छौं’उनले भने,‘अहिलेसम्म सरकारको कुनै निर्णय नआएकोले उनीहरुलाई प्रवेश गराइएको छैन।’ सरकारको अनुमति आउने बित्तिकै उनीहरुलाई प्रवेश गराइने उनले बताए। यसैगरि बैतडीको सिमानाका पारी भारतको चम्फावत जिल्लामा रहेका करिव ६० जना जती मजदुरले भारतीय प्रशासनले अनुमति नदिदा प्रवेश पाएका छैनन्। 

भारतका बिभिन्न ठाउँवाट पैदल हिडेर उनीहरु सीमा नजिक पुगेका हुन्। लकडाउनका कारण सीमामा प्रवेश नपाएपछि उनीहरु एक महिना बढी समयदेखि भारतीय क्वारेन्टाइनमा बसिरहेका छन्।

भारतीय क्वारेन्टाइन भनेपनि कोचाकोच गरेर सुत्नुपर्ने, खाने, वस्ने, शौचको समस्या भएर कष्टकर गरि दिन बिताउनु परेको उनीहरुको भनाई छ। 

भारतीय क्वारेन्टाइनमा एक महिना लामो समयदेखि बसेका नेपाली मजदुरको कोरोना भाईरस परीक्षण समेत भएको छैन। सुरुमा स्वास्थ्यकर्मीले समान्य चेकजाँच गरे पनि कोरोनाको जाँच नगरिएको उनीहरुले बताएका छन्।

भारतीय क्वारेन्टाइनमा एक महिना बढी देखि रहेकाहरु समेत उच्च जोखिममा छन्। पैदल हिडेर बिभिन्न ठाउँबाट त्याहाँ पुग्ने नेपालीहरुलाई समेत अलग नराखी एक महिनादेखि क्वारेन्टाइनमा रहेका उनीहरु सँगै राख्ने गरिएकाले उच्च जोखिम भएको उनीहरु बताउछन्। पलियामा एक महिनादेखि १ सय २० जना मात्र रहेकोमा पछिल्ला दिनमा थपिएर १ सय ६४ जना पुगेका हुन्।
 
बिश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार दुरी र सावधानी बिना क्वारेन्टाइनमा कोचाकोच गरेर राखिएकाले एक जनामा मात्र संक्रमण भए सवैलाई सक्रमण फैलिने खतरा रहेको छ। पछिल्लो समयमा आएका नेपालीलाई पनि संगै मिलाएर क्वारेन्टाईनमा राख्ने र उनीहरु सवैलाई सँगै नेपाल प्रवेश गराउने हो भने नेपालमा पनि उच्च जोखिम रहने बिज्ञहरुले चिन्ता गरेका छन्।

‘सवैभन्दा खतरा नै भारतबाट संक्रमण वोकेर आउनेवाट रहेको छ’सेती प्रादेशिक अस्पतालमा पूर्व मेडिकल सुपरिटेण्डेण्ट गणेश बहादुर सिंह भन्छन,‘पहिले देखि सिमामा रहेकालाई क्वारेन्टाईनमा राख्ने गरि भित्र्याइनु पर्छ तर बिभिन्न ठाउँवाट आजभोलि नै सिमानाकामा पुगेका नयाँ मान्छेलाई भित्र्याउदाँ महामारी फैलिने जोखिम धेरै रहन्छ।’ सरकारले नाका बन्द गरेपछि भारतका बिभिन्न ठाउँबाट पैदल र मालवाहक सवारीसाधनमा सीमासम्म पुगेर त्यहाँबाट लुकीछिपी नेपाल प्रवेश गर्ने क्रम नरोकिदा जोखिम छ।

प्रकाशित: २० वैशाख २०७७ ११:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App