७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

काेराेना त्रासः संक्रमितका परिवार र आफन्त निगरानीमा

बाँकेका मस्जिद, मदरसा र मन्दिरमा बसेका ब्यक्तिको स्वाब संकलन गरिदै। तस्बिर: नागरिक

नेपालगन्ज - बाँकेमा फेला परेका कोरोना संक्रमित ब्यक्तिका परिवार तथा आफन्तलाई कडा निगरानीमा राखिएको छ। नेपालगन्जका मस्जिदमा बसोबास गर्ने ब्यक्तिको स्वाब परीक्षण गर्दा डिएसपी रोड निवासी ६० बर्षिय पुरुषमा शुक्रबार कोरोना भाइरसको संक्रमण देखिएको थियो।

संक्रमित ब्यक्तिलाई खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा स्थापना गरिएको आइसोलेसन कक्षमा राखिएपछि उनका परिवार र आफन्तलाई निगरानीमा राखिएको हो। 

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाहले कोरोना संक्रमित ब्यक्तिका परिवारका सदस्यको पनि स्वाब परीक्षण गरिएको बताए। ‘संक्रमित ब्यक्तिको परिवारका सदस्यको पनि स्वाब परीक्षण गरेका छौं, रिपोर्ट कस्तो आउँछ, त्यसको पर्खाइमा छौं,’ उनले भने। यस्तै आफन्त तथा इष्टमित्रसँग संक्रमित ब्यक्तिको सम्पर्क भए÷नभएको पत्ता लगाउने काम पनि भइरहेको शाहले जानकारी दिए। 

कोरोना संक्रमित ब्यक्ति फेला परेपछि नेपालगन्जमा लकडाउन कडा पारिएको छ। यहाँका मस्जिदलाई डोरीको घेरा लगाएर शिल गरिएको छ। प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले नेपालगन्जका मस्जिदमा सुरक्षा ब्यवस्था कडा पारिएको बताएका छन्। संक्रमित ब्यक्ति नेपालगन्जको महेन्द्र पार्क नजिकैको एक मदरसाका शिक्षक हुन्। संक्रमित ब्यक्तिले आफु दुई महिना देखी नेपालगन्जमै रहेको बयान दिएपनि उनी यो बीचमा क–कसको सम्पर्कमा रहे भन्ने बारेमा प्रहरीले पत्ता लगाउने प्रयास गरिरहेको छ। नेपालगन्जको धम्बोझीस्थित मस्जिदका अर्का ब्यक्तिको स्वाबको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालयका प्रमुख शाहले जानकारी दिए। ती ब्यक्तिको शंकास्पद रिपोर्ट देखिएपछि खजुरास्थित आइसोलेसन कक्षमा राखिएको थियो। 

त्रासमा नेपालगन्जबासी

कोरोना भाइरसका संक्रमित फेला परेपछि सर्बसाधारण त्रसित भएका छन्। छिमेकी मुलुक भारतमा महामारीको रुपमा फैलिरहेका बेला नेपालगन्जमा पनि फेला परेपछि यहाँका सर्बसाधारण त्रसित भएका हुन्। यसअघि बिहान र बेलुकातिर अत्यावश्यक बस्तु किनमेल गर्न निस्कने गरेका सर्बसाधारण अहिले आफै सजग भएका छन्। 

नेपाल–भारत खुल्ला सिमा भएका कारण जो कोही ब्यक्ति पनि सहजै प्रवेश हुन सक्ने भन्दै सर्बसाधारणले सिमा क्षेत्रमा निगरानी बढाउन माग गरेका छन्। नेपाल–भारत सिमा क्षेत्रमा सुरक्षाकर्मी बाक्लो मात्रामा परिचालन गरिएको स्थानीय प्रशासनले जनाएको छ। भारतबाट लुकिछिपी प्रवेश हुन सक्ने भएपछि सुरक्षा सर्तकता बढाइएको प्रजिअ खड्काले बताए। ‘नेपाल–भारत सिमाक्षेत्रलाई हामीले एकदमै निगरानीमा राखेका छौं, उताबाट र यताबाट कसैलाई पनि सिमा आवत जावत गर्न दिएका छैनौ,’ उनले भने। 

मस्जिद, मदरसा र मन्दिरको अनुगमन

नेपालगन्जमा मुस्लिम समुदायका ब्यक्तिमा कोरोना संक्रमण पुष्टी भएपछि जिल्लाका मस्जिद, मदरसा र मन्दिरको अनुगमन गरिएको छ। अनुगमनका क्रममा मस्जिद, मदरसा र मन्दिरमा बसोबास गर्ने ब्यक्तिको स्वाब संकलन गर्ने गरिएको छ। राष्ट्रिय मुस्लिम आयोगको पहलमा अनुगमनलाई तिब्रता दिइएको अनुगमनमा सहभागी मानवअधिकारकर्मी आलम खानले जानकारी दिएका छन्। 

अनुगमनका क्रममा जिल्लाको राप्तीपारी नरैनापुरका मस्जिद, मदरसा र मन्दिरबाट ५६ वटा स्वाब संकलन गरिएको छ। मस्जिद र मदरसाका ३१ जना मौलाना, मन्दिरका ७ जना पुजारी तथा क्वारेन्टाइनमा रहेका १५ जना, क्वारेन्टाइनमा कार्यरत २ जना स्वास्थ्यकर्मी र सहयोगी १ जना गरी ५६ जनाको स्वाब संकलन गरिएको नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बताए। संकलन गरिएको स्वाब भेरी अस्पतालमा पठाइएको छ। 

अनुगमनका क्रममा कतिपय जमाती मुस्लिम समुदायका ब्यक्ति सम्पर्कमा आउन नचाहेको र सम्पर्क गर्दा आलटाल गरिरहेको पुर्वसभासद अब्दुल हमिद सिद्धिकी (भोला) ले बताएका छन्। ‘सकंटको घडीमा संवेदनशिल मामिलामा जो कोही संस्था र अगुवा ब्यक्तिले जानीजानी मुस्लिम आयोगको सर्बपक्षिय बैठकको निर्णयलाई बेवास्ता गरी मनोमानी गरेका छन,’ उनले नागरिकसँग भने ‘वर्तमान अवस्थामा कुनै हालतमा पनि माफ गर्न सकिदैन, तसर्थ मुस्लिम आयोगले हाल तत्काल सर्बपक्षीय बैठक राखेर ठोस रुपमा निर्णय गरी कडा रूपमा कारबाहीको लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा पत्रचार गर्न अति आवश्यक छ।’ 

नेपालगन्जमा कोरोना पुष्टी भएका ब्यक्ति ‘तब्लिग जमात’ कै ब्यक्ति रहेको उनले बताएका छन्। संक्रमित ब्यक्तिका घर परिवार तथा इष्टमित्रलाई पनि क्वारेन्टाइनमा राख्नुपर्ने पुर्वसभासद सिद्धिकीको सुझाव छ।

प्रकाशित: २० वैशाख २०७७ ०८:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App