७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

सांसदहरु बस्नेत र श्रेष्ठ तथा पूर्व आइजीपी खनालविरुद्ध मानव अधिकार आयोगमा मुद्दा

काठमाडौं- सत्तारुढ दल नेकपा सांसदहरु महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ र पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी परेको छ । जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवले आफूलाई अपहरण गरेको भन्दै उनीहरुविरुद्ध उजुरी दिएका हुन् । बिहीबार आयोगको कार्यालय पुगेर यादवले उजुरी दिएका हुन् ।

उजुरी बुझेपछि आयोगका सदस्य प्रकाश वस्तीले उजुरीमा उल्लेख भएबमोजिम कार्यहरु भए/नभएको विषयमा अनुसन्धान गरिने बताए । अपराध भए/नभएको, अपहरण भए/नभएको हेर्ने काम अदालत र प्रहरीको भएको उल्लेख गर्दै वस्तीले उजुरी कर्ताको मानव अधिकार भएको छ की छैन भन्ने विषयमा आयोगले अनुसन्धान गर्ने बताए । उजुरीमा उल्लेख भएअनुसार मानवअधिकार उल्लंघन भएको पाइए त्यसको पुर्नस्थापना गर्न के गर्नुपर्छ त्यसका लागि सरकारलाई निर्देशन दिइने उनले बताए ।

डा. यादवले सदस्य वस्ती र माहना अन्सारीलाई भेटेर उजुरी दिएका हुन । शक्तिको आडमा आफ्नो ज्यान नै लिन सक्ने जोखिम रहेकोले सांसदहरु र पूर्वआइजीपीलाई पक्राउ गरी आवश्यक छानबिन र कारवाही गर्न आयोगमा दिइएको उजुरीपत्रमा उल्लेख गरिएको छ । काठमाडौंबाट गएका सांसदहरु बस्नेत र श्रेष्ठ तथा पूर्वआइजीपी खनालले यादवलाई वैशाख १० गते काठमाडौं ल्याएका थिए । यसअघि महानगरिय प्रहरी परिसर र जिल्ला सरकारी वकिल कार्यालयमा यादवले उजुरी दिन खोजेपनि उजुरी लिन अस्वीकार गरेका थिए ।

 

प्रकाशित: १८ वैशाख २०७७ १२:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App