coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

तरकारीको मूल्य आकासियो, टमाटरमा १५० प्रतिशत मूल्य वृद्धि

वीरेन्द्रनगरमा तरकारी बिक्री गर्दै तरकारी व्यवसायी। तस्विरः गणेश विशु/नागरिक

वीरेन्द्रनगर - कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा तरकारीको मूल्य आकासिएको छ। जिल्ला बाहिरबाट आउने तरकारीको आयात ठप्प हुनु र स्थानीयस्तरको उत्पादन बजारसम्म नपुक्दा यहाँ तरकारीको मूल्य आकासिएको हो।

सबैभन्दा बढी टमाटरको मूल्य आकासिएको छ। बन्दाबन्दी (लकडाउन) अर्थात् चैत ११ गतेभन्दा अगाडि ४५ रूपैयाँ केजी पर्ने टमाटरको मूल्य वृद्धि भएर एक सय ३० देखि एक सय ५० रूपैयाँसम्म पुगेको छ। त्यही पनि बजारको मागअनुसार पाउन समस्या छ। टमाटरको सिजनमै महँगो भएपछि उपभोक्ता मारमा परेका छन्। ‘तरकारी किन्न गएको ठाउँमा टमाटर मात्र माग्यो भने पाइन्न,’ उपभोक्ता रीमा सारुले भनिन्, ‘टमाटर किन्दा अरु तरकारी अनिवार्य किन्नु पर्छ।’ बजारमा टमाटरको माग उच्च रहेको र मूल्य पनि त्यसरी नै वृद्धि हुँदै गएको तरकारी व्यवसायीहरूको भनाइ छ।

अन्य तरकारीमा पनि २५ देखि ५० प्रतिशतसम्म मूल्य वृद्धि भएको छ। वीरेन्द्रनगरमा धेरैजसो तरकारी नेपालगन्ज, भारतीय बजार रुपैडिहाबाट आउने गर्छ। लकडाउनका कारण तरकारी भित्रिन सकेको छैन। स्थानीयस्तरमा उत्पादन भएको सबै तरकारी बजारसम्म पुग्न सकेको छैन। जसले गर्दा बजारमा तरकारीको मागसँगै मूल्य वृद्धि हुँदै गएको छ। बजार नजिकका स्थानका किसानले उत्पादन गरेको तरकारीले मात्र बजार धान्न सकेको छैन।

स्थानीय उत्पादनलाई समेत चर्काे मूल्यमा बिक्री हुँदा आफूहरू मर्कामा परेको उपभोक्ताहरूको भनाइ छ। ‘लकडाउनको बहानामा तरकारीको मूल्य वृद्धि भएको छ,’ वीरेन्द्रनगरकी उपभोक्ता सीता थापाले भनिन्, ‘यसमा प्रशासनले केही गर्न सकेको छैन।’ स्थानीय प्रशासन मौन बसेको उनको भनाइ छ। वीरेन्द्रनगरभन्दा भित्रका किसानले उत्पादन गरेको तरकारी भने बजारसम्म पु¥याउन समस्या भएको किसानहरूको भनाइ छ। 

बजारमा आलुको माग धेरै भए पनि आफ्नो तरकारी बजारसम्म पुग्न नसेको किसान कृष्णबहादुर आचार्यले बताए। ‘आफैँ बजारसम्म तरकारी लिन गाडी बन्दछन्,’ उनले भने, ‘आफैँ गाडी रिजर्भ गरेर लिन सक्दैन।’ यस्तो अवस्थामा सरकारले गाडीको व्यवस्था गरेर किसानको तरकारी बजारसम्म पु¥याउन सहयोग गर्नु पर्ने उनको भनाइ छ। उत्पादन भएको तरकारी कुहाएर फाल्नु पर्ने स्थिति आएको किसानहरू बताउँछन्। तरकारी बजारसम्म ल्याउन प्रदेश तथा स्थानीय सरकारले पहल गर्नुपर्ने राष्ट्रिय कृषक महासंघका केन्द्रीय उपाध्यक्ष शसिराम आचार्यले बताए। ‘गाउँका किसानको तरकारी बजारसम्म ल्याए अहिलेजस्तो मूल्य महँगो हुँदैन,’ उनी भन्छन्, ‘उता किसानले उत्पादन गरेको तरकारी कुहाएर फाल्नु पनि पर्दैन।’

यता तरकारी व्यवसायीले भने आफूहरूले खरिद गर्दाको मूल्यमा थोरै आम्दानी लिने गरेको बताउँछन्। ‘हामी खरिद मूल्यभन्दा पाँच÷दश रूपैयाँ मात्र आम्दानी जोड्छौं,’ तरकारी व्यवसायी बत्तिसरा कार्कीले भनिन्, ‘त्यति नजोडे त भाडा र आफ्नो दुःख नै उठ्दैन।’ उनले विचौलियाले गर्दा तरकारीको मूल्य आकासिएको संकेत गरिन्। लकडाउनका कारण पहिले जस्तो तरकारी आउँदैन भन्दै उनले भनिन्, ‘बजारमा अहिले तरकारी पु¥याउन समस्या छ।’ अहिले आलु ८०, प्याज ७०–८०, काउली ५०–७० र बन्दा ४०–५० रूपैयाँ केजी मूल्य पुगेको छ। लकडाउनभन्दा अघिको मूल्यभन्दा करिब २५ देखि ५० प्रतिशत महँगो हो।

तरकारी व्यापारीले किसानबाट तरकारी खरिद गर्दा सस्तो भए पनि उपभोक्ताको भान्सा महँगो परेको गुनासो गरेका छन्। यसका लागि स्थानीय प्रशासनले समेत अनुगमन गर्न नसकेको यहाँका उपभोक्ताहरूको भनाइ छ।

प्रकाशित: १५ वैशाख २०७७ ०६:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App