१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
समाज

तीन सय हुम्लीको उद्धार

सिमकोट -  नेपाल सरकारले लकडाउनको समय बढाउँदै गएपछि कर्णाली प्रदेश सामाजिक मन्त्रालयले जिल्लाको मध्य क्षेत्रमा रहेको सर्केगाड गाउँपालिकाका नागरिकको उद्धार गरेको छ। कर्णाली प्रदेश सरकारले बाँके र  सुर्खेतमा अलपत्र ३१५ जनालाई मुगुसम्म आफैँले भाडा हाली घर पठाएको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) हुम्ला सचिवालय सदस्य छवि थापाले जानकारी दिए। आइतबार राति सुर्खेत र बाँकेबाट सर्केगाड –१ देखि ८ सम्मका  नागरिकको उद्धार गरिएको छ। 

बाँकी रहेका अन्यको आज पनि उद्धार गरिने जनाइएको छ। उद्धार गरिएका नागरिकले प्रदेश सरकारसँग १४ दिन क्वारेन्टाइनमा बस्ने सहमति गरेका छन्।जिल्लाका अन्य बाँकी ६  गाउँपालिकाले जिल्ला बाहिर रहेका आफ्ना नागरिकको उद्धारमा चासो नदिँदा र जिल्ला बाहिर कति छन् भन्ने तथ्याङ्क प्रदेश सरकारलाई नदिँदा उद्धार गर्न नसकिएको सामाजिक विकास मन्त्रालय स्रोतले बताएको छ।  अन्यको बिचल्ली काम र अध्ययनका सिलसिलामा  बाँके र सुर्खेतमा रहेका हुम्लीले घर जान पाऊँ भन्दै सबैलाई समस्या दर्शाउँदै आएका छन्।

नेपालगञ्ज विमानस्थल नजीकै आसपास क्षेत्रका होटेलमा महिना दिनसम्म बसेका हुम्लीहरु  लकडाउन खुल्ने छाँट नदेखेपछि प्रदेश र स्थानीय सरकारलाई हुम्ला पुर्‍याइदिन हारगुहार गर्न थालेका छन्।  चुनाव आउँदा मात्रै हामी जनता चाहिने रहेछौँ, आपत्विपत्का बेला महिनौँ दिनसम्म कसैले चासो दिएन, सिमकोट –२ का रामबहादुर बोहराले गुनासो गरे।  होटेलमा प्रतिदिन आठ नौ सय खर्च भएको तथा घर फर्कने गाडी र जहाज भाडासमेत नभएको महेन्द्र बोहराले बताए। बाँके र सुर्खेत आइपुगेका छ सयदेखि सात सय हुम्ली लकडाउनमा फसेको अनुमान छ।

कर्णाली प्रदेशका कालीकोट, सल्यान, जाजरकोट, कालीकोट, जुम्लालगायत जिल्लाका स्थानीय तहले आआफ्ना नागरिक उद्धार गरे पनि हुम्लाका ६ वटै स्थानीय तहले यस विषयमा कुनै चासो नदिँदा उनीहरुले आक्रोश व्यक्त गर्न थालेका छन्। गत बिहीबार प्रमुख जिल्ला अधिकारी विनिता भट्टराईको संयोजकत्वमा बसेको सर्वदलीय बैठकले उद्धार गर्ने निर्णय गरे पनि हालसम्म कुनै टुङ्गो लागेको छैन। रासस

प्रकाशित: १५ वैशाख २०७७ ०३:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App