५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

कोरोना भाइरसको जोखिमबाट बच्न डोल्पामा यार्सागुम्बा संकलनमा रोक

यार्सागुम्बा संकलनको लागि गत वर्ष माझफालको यार्सापाटनमा गएका यार्सा संकलन कर्ताहरु ।

डोल्पा- विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको जोखिमबाट बच्न पूर्व सतर्कताका लागि हिमाली जिल्ला डोल्पामा यो वर्ष बहुमुल्य जडिबुटी यार्सागुम्बाको संकलनमा रोक लगाइएको छ । शे फोक्सुण्डो राष्ट्रिय निकुन्जको कार्यालय सुलिगाड डोल्पामा शनिबार बसेको सरोकारवलाहरुको बैठकले विषम परिस्थतीका कारण यो वर्षको यार्सागुम्बा संकलनमा रोक लगाएको हो ।

यर्सागुम्बा व्यवस्थापन सङ्कलन तथा ओसारपसार निर्देशिका २०७३ बमोजिम प्रत्येक वर्ष निकुन्ज तथा यस अन्र्तगतको मध्यवर्ती क्षेत्रमा रहेका यार्सागुम्बायुक्त पाटनहरुमा सङ्कलनको लागि निकुन्ज कार्यालयले अनुमति प्रदान गर्दै आएको थियो । देशैभर लकडाउन(बन्दाबन्दी)को अवस्था रहेको र कोरोना भाइरस (कोभिड–१९)रोगको महामारी नियन्त्रण समेत नभएको बेला जिल्ला प्रवेश तथा सङ्कलन अनुमति प्रदान गर्दा बाहिरी जिल्लाबाट दशौ हजार मानिसहरु निकुन्ज तथा मध्यवर्ती वन क्षेत्रका पाटनहरुमा प्रवेश भई कोरोना भाइरस रोग एक ब्यक्तिबाट अर्को ब्यक्तिमा मात्र नभई वन्यजन्तुमा समेत संक्रमण सर्ने भयावह अवस्था सृजना हुने देखिएकोले हुनसक्ने सम्भावित क्षेतिलाई मध्यनजर गर्दै सुरक्षा निकायका प्रमुख निकुन्ज कर्मचारी मध्यवर्ती क्षेत्र ब्यवस्थापन समितिका पदाधिकारी स्थानीय निकायका प्रतिनिधि र संचारकर्मी समेतको उपस्थितीमा छलफल गरि यो वर्ष यार्सागुम्बा संकलनमा रोक लगाउने निर्णय गरिएको शे फोक्सुण्डो राष्ट्रिय निकुन्ज कार्यालय सुलिगाड डोल्पाका कायमुकायम प्रमुख संरक्षण अधिकृत सरोजमणि पौडेलले बताए ।

निकुन्ज कर्मचारी निकुन्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको ईश्वरी बक्स गुल्मका सुरक्षाकर्मी मध्यवर्ती क्षेत्र व्यबस्थापन समिति –परिषद) का पदाधिकारी र संचारकर्मीहरुको उपस्थितीमा यो वर्षको यार्सागुम्बा संकलन कार्य बन्द गर्ने निर्णय निकुन्जले गरेको हो । यार्सागुम्बा स्थानीय बासिन्दा तथा जिल्लाबासीको आर्थिकोपार्जनको मुख्य स्रोत बन्दै आएको भएपनि कोरोना भाइरसको महामारीको यस विषम परिस्थतीमा मानव जीवन र वन्यजन्तु समेतको जीवन रक्षाको लागि बाध्य भएर यार्सागुम्बाको संकलनमा रोक लगाउनु परेको पनि कायमुकायम प्रमुख संरक्षण अधिकृत पौडेलले बताए ।

निकुन्ज तथा मध्यवर्ती क्षेत्र भित्र रहेका पाटनहरुमा कुनै पनि व्यक्ति प्रवेश गर्न नपाओस भनि पाटन प्रवेश गर्ने सम्पूर्ण नाकामा निकुन्ज कर्मचारी तथा सुरक्षाकर्मी परिचालन गरिने र वर्तमान विषम परिस्थतीमा गरिएको निर्णयलाई उल्लंघन गरिपाटनमा जाने जो कोही व्यक्तिलाई तत्काल पक्राउ गरि राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ बमोजिम कडा कारवाही गरिने समेत निकुन्जले जारि गरेको सार्वजनिक सूचनामा उल्लेख छ ।

यसअघि बैशाख ९ गते जिल्ला प्रशासन कार्यालय डोल्पामा प्रमुख जिल्ला अधिकारी सुरेश सुनारको अध्यक्षतामा बसेको जिल्ला विपत व्यवस्थापन समितिको बैठकले पनि शे फोक्सुण्डो राष्ट्रिय निकुन्ज यसको मध्यवर्ती क्षेत्र र डिभिजन वन कार्यालयको क्षेत्रभित्र पर्ने पाटनहरुमा विगतका वर्षहरु झै यस वर्ष पनि यार्सागुम्बा संकलन गर्दा बाहिरी जिल्लाबाट भित्रने हजारौ मानिसहरुको कारण कोरोना भाइरसको संक्रमण बढ्ने भन्दै यार्सागुम्बा संकलनमा रोक लगाउने निर्णय गरेको थियो ।

 

प्रकाशित: १४ वैशाख २०७७ ११:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App