५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

मुख्यमन्त्री राईद्वारा भुल्केको निरीक्षण

मुख्यमन्त्री राईसँग बाँसको भाटाले सामाजिक दुरी कायम गरेर प्रतिक्रिया लिदै पत्रकार । तस्बिरः महेश्वर

उदयपुर- प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले ‘कोरोना केन्द्र’ बनेको उदयपुर भुल्केको अवलोकन भ्रमण गरेका छन् । हेलिकोप्टरमार्फत कोरोना प्रभावित गृह जिल्ला भोजपुरको अनुगमन गरी उदयपुर आएका मुख्यमन्त्री राईले एकै ठाउँ २८ जना संक्रमित भेटिएपछि सातादिनयता ‘सिल’ गरिएको भुल्के मस्जिद र बस्तीको अवलोकन गरे ।

आन्तरिक मामिलामन्त्री हिक्मत कार्की र सामाजिक विकासमन्त्री जीवन घिमिरे तथा नेपाली सेनाको इटहरी पृतनापतिसमेत आएका मुख्यमन्त्री राईले प्रभावित स्थानीयलाई कोरोनाबाट नआत्तिन र नडराउन ढाडस दिए । उनले प्रदेशबासी जनताको स्वास्थ्यप्रति आफूहरु अत्यन्त संवेदनसिल भएको भन्दै उपचार सेवा र थप संक्रमण हुन नदिने सबैखाले प्रयास जारी रहेको बताए ।

स्थानीय जनप्रतिनिधि, प्रशासन, प्रहरी, स्वास्थ्यकर्मी, पत्रकार र स्थानीयसँग अन्तरसंबाद गर्दै उयदपुरमा कोरोना अस्पताल खोल्न जिल्लाबासीले गरेको मागप्रति आफू सकारात्मक रहेको प्रतिक्रिया दिए । तर, कसरी कहाँ खोल्दा उचित हुन्छ भन्नेबारे अध्ययन भईरहेको उनले बताए । मुख्यमन्त्री राईले उदयपुरलाई आवश्यक बिभिन्न स्वास्थ्य सामग्रीसमेत ल्याइदिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार कोरोना स्वाब परीक्षण गर्न ९५ थान भाइरस ट्रान्सफर मिडिया (भिटिएम) मुख्यमन्त्रीबाट प्राप्त भएको छ ।

भुल्केको अवलोकनपछि प्रदेश सरकारले सञ्चालनमा ल्याएको कटारी नगरपालिका १ स्थित बेलसोत क्वारेन्टाइनको पनि शनिबारै अवलोकन गरेका छन् । कोरोना अस्पतालको उदयपुरबासीले माग गरेपछि उचित स्थानको खोजी गर्ने क्रममा उनले बेलसोत क्वारेन्टइनको अवलोकन गरेको कटारी नगरप्रमुख ज्ञानेन्द्र श्रेष्ठले बताए ।

उदयपुरमा एक्कासी संक्रमित भेटिन थालेपछि सातादिनअघि नै त्रियुगा नगरप्रमुख बलदेव चौधरीले सदरमुकाममा कोरोना अस्पताल खोल्न प्रदेश र संघीय सरकारसँग माग गरेका थिए । उता चौदण्डीगढी नगरप्रमुख खगेन्द्र राईले सदरमुकाममा जिल्ला अस्पताल रहेको र कटारी छेउ परेको भन्दै चौदण्डीगढी केन्द्र बेलटारस्थित निर्माणाधीन सशस्त्र प्रहरी बलको व्यारेकक्षेत्रमा खोल्न माग गरेका छन् । 

 

प्रकाशित: १४ वैशाख २०७७ ०१:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App