१६ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

क्वारेन्टाइनमा बस्नेको थरिथरिका माग

खोटाङ– नोबेल कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको आशंकामा विदेश वा शहरबाट आउने स्थानीयलाई राख्नका लागि खोटाङका दशवटै स्थानीय तहले काम चलाउ क्वारेन्टीन बनाएका छन् । हलेसी तुवाचुङ नगरपालिका, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, दिप्रुङ चुईचुम्मा गाउँपालिका, खोटेहाङ गाउँपालिका, बराहपोखरी गाउँपालिका लगायतका स्थानीय तहको काम चलाउ क्वारेन्टीनमा शहरदेखि विदेशबाट आउने स्थानीयलाई राखिएका छन् ।

तर, संकटकोबेला दुःखकष्ट गर्दै गाउँ आइपुगेका स्थानीयलाई क्वारेन्टीनमा लगेर राख्न भने सहज छैन । ‘क्वारेन्टीनमा बस्दिन’ भनेर अड्डी कस्ने आफ्ना जनतालाई कतिपय स्थानीय सरकारले क्वारेन्टीनमा बस्नका लागि ‘कन्भिन्स’ गर्न सकेकै देखिन्न । उनीहरुलाई १४ दिनका लागि क्वारेन्टीनसम्म पुर्‍याउनका लागि स्थानीय तहका जनप्रतिनिधिलाई ‘कन्भिन्स’ गर्न जती गार्‍हो छ, उत्तिकै गार्‍हो भइरहेको छ उनीहरुको माग पुरा गर्न । क्वारेन्टीनमा राखिएका कतिपय व्यक्तिले थरिथरिका माग राखेर हैरान पार्ने गरेको स्थानीय तहका प्रमुखहरु बताउँछन् ।

क्वारेन्टीनमा राखिएका नागरिकले ‘चुनाव त आवस, देखाइदिन्छौँ’ भन्दै धम्की दिने गरेको खोटेहाङ गाउँपालिकाका अध्यक्ष प्रदीप राईले बताए । ‘परदेशबाट गाउँ आएपछि घरैमा बस्छौँ भन्छ, क्वारेन्टीनमा बस्नुपर्छ भन्दा चुनाव त आवस् न भन्छ,’ अध्यक्ष राईले भने, ‘सम्झाई बुझाई क्वारेन्टीनमा लगेपछि मासु माग्छ, सुप चाहियो भन्छ ।’ विदेशबाट फर्किएका श्रीमान क्वारेन्टीनमा बस्दा बाहिर श्रीमती आएर बाहिर रुवाबासी गर्न थालेपछि श्रीमान श्रीमतीकै रुवाबासी देखिने गरेको अध्यक्ष राईले बताए ।

क्वारेन्टीनमा राखिएका कतिपय व्यक्तिले नेटको सुविधा, मिठो खानपिन र आरामदायी ओछ्यानको माग राख्ने गरेको ऐसेलुखर्क गाउँपालिकाका अध्यक्ष बिश्वनाथ निरौलाले बताए । ‘नेट चाहियो भन्छ, दूध चाहियो भन्छ, ओछ्यान भएन भन्छ, कतिको माग पुरा गर्नु !,’ अध्यक्ष निरौलाले भने, ‘कसैले यस्तो ठाउँमा पनि सुत्ने हो भनेर बाहिरबाट उचालिदिँदो पनि रहेछ ।’ यस्तै, क्वारेन्टीनमा राखिएका कतिपयले खसी, कुखुराको मासु, नेटको सुविधा माग्ने गरेको रावाबेँसी गाउँपालिकाका अध्यक्ष लिलानाथ निरौलाले बताए । ‘खसीको मासु चाहियो, कुखुराको मासु चाहियो भन्छ, नेट चाहियो भन्छ,’ निरौलाले भने, ‘क्वारेन्टीनमा बस्नेको माग थरिथरिका छन् ।’

सोझासिधा क्वारेन्टीनमा, टाठोबाठो होम क्वारेन्टीनमा
हाल खोटाङका विभिन्न स्थानीय तहमा बनाइएको काम चलाउ क्वारेन्टीनमा ९७ जनालाई राखिएका छन् । दिप्रुङ चुईचुम्मा गाउँपालिकाको क्वारेन्टीनमा ७२ जना, हलेसी तुवाचुङ नगरपालिकाको क्वारेन्टीनमा १३ जना, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको क्वारेन्टीनमा १० जना, बराहपोखरी गाउँपालिकाको क्वारेन्टीनमा ७ जना, रावाबेँसी गाउँपालिकाको क्वारेन्टीनमा ७ जना, खोटेहाङ गाउँपालिकाको क्वारेन्टीनमा ६ जना र साकेला गाउँपालिकाको क्वारेन्टीनमा २ जनालाई क्वारेन्टीनमा राखिएको छ ।

क्वारेन्टीनमा बस्नेको व्यक्तिलाई नियल्ने हो भने सोझासिधा मात्र क्वारेन्टीनमा राखे/बसेको देखिन्छ । भारतका विभिन्न शहर, काठमाडौं, बिराटनगर, इटहरी लगायतका शहरमा पुगेर दैनिक ज्यालादारी काम गर्ने सर्वसाधारणलाई मात्र क्वारेन्टीनमा ल्याएर राखिएको स्थानीयको गुनासो छ । जिल्ला भित्रिने टाठाबाठा बाटो छल्दै गाउँघरमा पुग्दा सोझासिधा भने सम्झाई–बुझाई गरेपछि क्वारेन्टीनमा पुग्ने गरेका छन् ।

जिल्ला समन्वय समितिको सभाहलमा आईतबार आयोजित नोबेल कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समितिको बैठकमा स्वास्थ्य कार्यालयका प्रमुख पुण्यप्रसाद रिग्देलले पनि ‘सर्वसाधारण क्वारेन्टीनमा, पहुँचवाला होम क्वारेन्टीन’मा राखिएको उल्लेख थिए ।

प्रकाशित: १३ वैशाख २०७७ ०६:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App