काठमाडौं – सरकारले पहुँच र प्रभावका आधारमा प्रभावशाली मन्त्रालय तथा निकायमा कार्यरत कर्मचारीलाई दिँदै आएको अतिरिक्त भत्ता रोक्ने भएको छ। कोरोना भाइरस संक्रमणको उपचारमा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मी, सुरक्षामा खटिने सुरक्षाकर्मीलगायतलाई भत्ता दिने निर्णय भएसँगै यसअघि मन्त्रालय तथा निकायको पहुँचका आधारमा दिइँदै आएको भत्ता कटौती हुने भएको हो।
प्रभावशाली मन्त्रालयसमेत दुई दर्जनभन्दा बढी निकायमा कार्यरत कर्मचारीले पहुँच र प्रभावका आधारमा ३० देखि सतप्रतिशतसम्म प्रोत्साहन भत्ता प्राप्त गर्दै आएका थिए। त्यस्तो भत्ता कुनै मापदण्ड अथवा कार्यसम्पादन मूल्यांकनबिनै हाजिर गरेको भरमा प्राप्त हुन्थ्यो।
अर्थ मन्त्रालय स्रोतका अनुसार कोरोनाको उपचारलगायतका काममा खटिने चिकित्सक, सुरक्षाकर्मी र कर्मचारीलाई सरकारले सतप्रतिशतसम्म भत्ता दिने निर्णय गरेपछि विभिन्न निकायका कर्मचारीले यसअघि पाउँदै आएको भत्ता खारेज गर्ने तयारी भएको हो। ‘कोरोना संकटका कारण राजस्व संकलन प्रभावित भएको छ। उपचारमा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई प्रोत्साहन भत्ता दिनुपर्ने नै भयो,’ अर्थ मन्त्रालय स्रोतले भन्यो, ‘यसअघि कार्यबोझको आधारमा भन्दा पनि प्रभावको आधारमा दुई दर्जन निकाय र तीअन्तर्गतका कार्यालयका कर्मचारीलाई हाजिर भएकै भरमा भत्ता दिइएको थियो, अब त्यो रोकिनेछ।’
सरकारले राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, सर्वाेच्च अदालत, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, महालेखा परीक्षकको कार्यालय, राष्ट्रिय सतर्कता केन्द्र, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोकसेवा आयोग, उच्च अदालतहरु, महान्यायाधिवक्ताको कार्यालय, जिल्ला अदालतहरु, सरकारी वकिलको कार्यालय, निजामती किताबखाना, राजस्व अनुसन्धान विभाग, आन्तरिक राजस्व कार्यालय, नेपाल ट्रस्टको कार्यालय, कोष तथा लेखा नियन्त्रक कार्यालय, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र राहदानी विभागका कर्मचारीलाई भत्ता दिने गरेको छ।
यीमध्ये राष्ट्रिय सतर्कता केन्द्र, उपराष्ट्रपतिको कार्यालय, नेपाल ट्रस्ट र निजामती किताबखानामा अतिरिक्त काम होइन, कर्मचारीलाई न्यूनतम तोकिएको दैनिक ८ घन्टालाई समेत काम पुग्दैन।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्रोतका अनुसार अतिरिक्त भत्ता पाइने निकायमा कार्यरत कर्मचारीको संख्या २० हजारभन्दा बढी छ। सरकारले अतिरिक्त भत्ताको नाममा बर्सेनि अर्बाैं रुपैयाँ खर्च गर्दै आएको छ।
प्रकाशित: १३ वैशाख २०७७ ०१:५० शनिबार