२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

इलामबाहिरका इलामबासी घर ल्याउन नपाइने

इलाम- इलामबाहिर बसोबास गरिरहेका इलामबासीलाई लकडाउनका बेला घर (जिल्ला) ल्याउन नपाइने भएको छ । काठमाडौं र अन्य जिल्लाबाट इलामबासीलाई घर ल्याउने भन्दै सामाजिक सञ्जाल र अन्य माध्यमबाट गरिएका सबै सूचना हटाउन पनि स्थानीय प्रशासनले निर्देशन दिएको छ ।

जिल्ला समन्वय समिति, स्थानीय प्रशासन र जिल्लाका स्थानीय तहका प्रमुखहरूको शुक्रबार सदरमुकाममा सम्पन्न बैठकले लकडाउनका कारण इलामबाहिर रहेका नागरिक जहाँ छन्, त्यहीं रहन आग्रह गर्ने निर्णय गरेको छ । अब यसरी इलाम ल्याइने इलामबासी वा अन्य कुनै व्यक्तिका लागि पनि प्रशासनले अनुमति नदिने प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाईंले बताए । ‘अहिले काठमाडौं र अन्य विभिन्न स्थानमा रहेका इलामे नागरिकलाई ल्याउन भन्दै सामाजिक सञ्जालतिर सूचना गरेको देखिएको छ,’ उनले भने, ‘तर, इलामकै बासिन्दा होस् वा अरू कोही, अब यसरी कसैलाई इलाम ल्याउन पाइने छैन, प्रशासनले अनुमति नै दिँदैन ।’ उनले सामाजिक सञ्जालमा राखिएका सूचना तत्काल हटाउन निर्देशनसमेत दिइएको बताए ।

कोरोना भाइरस (कोभिड–१९) को जोखिम कम गर्न जिल्लाभरका स्थानीय तहका जनप्रतिनिधिलगायत स्थानीय प्रशासनका प्रतिनिधिको संयुक्त बैठकले यस्तो निर्णय गरेको जिल्ला समन्वय समिति प्रमुख गणेशप्रसाद बरालले बताए । ‘कोही व्यक्ति वा स्थानीय सरकारले आफ्नो खर्चमा इलामबासीलाई जिल्ला ल्याउँछु भनेरमात्र हुँदैन, ल्याइएका व्यक्तिलाई क्वारेन्टाइनमा राख्नुपर्ने हुनसक्ला, उनीहरूमध्येबाटै संक्रमणको जोखिम हुँदैन भन्ने के ग्यारेन्टी छ र !’ प्रमुख बरालले भने, ‘अहिले जिल्लाबाहिर रहनुभएका इलामबासी जहाँ हुनुहुन्छ, केही समस्या छ भने उहाँहरूलाई सहज ढंगले त्यहीं बस्न बरु हामी समन्वय गरिदिन्छौं ।’

जिल्ला समन्वय समितिले सबै स्थानीय तहलाई आफ्नो क्षेत्रमा घर भइ अन्य जिल्लामा रहेका व्यक्तिको तथ्यांक जिससमा पठाउन पत्राचार गरेको थियो । प्रमुख बरालले भने, ‘जिससले ती व्यक्तिहरूलाई इलाम ल्याउन विवरण मागेको होइन, तथ्यांक संकलनका लागि हो ।’ अहिले स्थानीय तहले समेत आफ्नो क्षेत्रभन्दा बाहिर रहेका व्यक्तिलाई लकडाउनका बेला घर नल्याउनेगरी निर्णय भएको प्रमुख बरालले बताए ।

भारतबाट नेपाली कामदार भित्र्याउन ‘दबाब’
भारतको दार्जिलिङमा काम गरेर बसेका नेपाली कामदारलाई पशुपतिनगर नाकाबाट भित्र्याएर घर पठाउन स्थानीय प्रशासनलाई ‘दबाब’ आएको छ । तर, ती कामदारलाई समेत यो नाकाबाट भित्रिन अनुमति नदिइने भएको प्रशासनले जनाएको छ ।

दोलखा घर भइ दार्जिलिङमा काम गरेर बसेका ७१ कामदारलाई पशुपतिगर नाकाबाट ल्याउने अनुमतिका लागि दोलखाका केही जनप्रतिनिधिले ‘दबाब’ दिएको स्रोतले जनाएको छ । प्रमुख जिल्ला अधिकारी सेढाईंले दोलखा घर भएका कामदारलाई दार्जिलिङबाट ल्याउन जिल्ला प्रशासनले अनुमति दिन नसक्ने बताए । ‘नेपाली कामदार भारत गएर बसेकाले उनीहरूलाई नाकाबाट ल्याउन दिने/नदिने भन्ने हाम्रो पहुँचको कुरा हुँदैन,’ उनले भने, ‘देशमा लकडाउनसहति नाकाबन्दी पनि रहेकाले सरकारको यो निर्णय कार्यान्वयनबाहेक जिल्ला तहले केही गर्न सक्दैन ।’

कोरोनाको जोखिमकै कारण अहिले भारतमा समेत लकडाउन छ । लकडाउनका कारण दोलखाका ७१ कामदार दार्जिलिङमा अलपत्र परेको सूचना जिल्ला प्रशासनमा आएको थियो । उनीहरू अहिले दार्जिलिङबाट सीमावर्ती क्षेत्रका मिरिक, सुकियालगायत क्षेत्रमा आएर बसेको सूचना आएको प्रशासनले जनाएको छ । स्रोतका अनुसार ती ७१ जनालाई भित्रिन दिनुपर्ने भन्दै दोलखा र इलामका समेत केही जनप्रतिनिधिले प्रशासनलाई पटक–पटक दबाब दिइरहेका छन् ।

प्रकाशित: १२ वैशाख २०७७ १६:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App