२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

२५ वटा बसबाट १ हजार २६७ नगरबासी भित्रिए

काठमाडौंबाट गाउँ फर्कनका लागि भेला भएका सर्वसाधारण । तस्बिर सौजन्य : गणेशबिक्रम शामी

खोटाङ– ‘लकडाउन’का बीचमा खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले काठमाडौंबाट हजार भन्दा बढि नगरबासीलाई भित्र्याएको छ । शहरमा बसिरहेको अवस्थामा ‘लकडाउन’का कारण समस्यामा परेको भन्दै नगरपालिकाले १ हजार २६७ नगरबासीलाई गाउँमा ल्याएको हो । होम क्वारेन्टीनमा बस्ने सर्तमा बिहीबार १२ वटा बसमार्फत ५८६ सर्वसाधारण भित्र्याएको नगरपालिकाले शुक्रबार १३ वटा बसमार्फत ६८१ जनालाई घर ल्याइएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए ।

हाल बसिरहेको ठाउँमा दैनिक आयमुलक काम गर्न नपाएको तथा घर आउन पनि नपाएको अवस्थामा समस्यामा परेको गुनासो आएकाले नगरबासीलाई होम क्वारेन्टीनमा राख्ने गरी घरसम्म ल्याउने व्यवस्था मिलाइएको नगरपालिकाले जनाएको छ । शहरका विभिन्न स्थानमा बसिरहेको अवस्थामा कतिपयले स्टक खाद्यान्न सकिँदा खान नपाएको/भोकमरी लागेको भन्दै घरसम्म ल्याउनका लागि गरेको आग्रह अनुसार ‘लकडाउन’लाई परवाह नगरी घर ल्याइएको मेयर राईले बताए ।

‘शहरमा बसिरहेका जनतालाई लकडाउन पालना गर भनेर मात्रै नहुने रहेछ, आवश्यक खाने वस्ने व्यवस्था पनि गर्न सक्नुपर्ने रहेछ,’ मेयर राईले भने, ‘शहरमा बस्दैनौं, गाउँ लैजान पर्‍यो भन्दै धेरैले फोन गरेकाले सहज तरिकाले घर आउने वातावरण मिलाइदिएका हौँ ।’ बिहीबार खोटाङ प्रवेश गर्ने नाका जयरामबाट साकेला गाउँपालिकाका ३८ जना, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका २९ जना र दिप्रुङ चुईचुम्मा गाउँपालिकाका ८ जना प्रवेश गरेको हलेसी तुवाचुङ नगरपालिकाले जयराममा स्थापना गरेको हेल्थडेस्कले जनाएको छ ।

जयराम नाकामा आइपुगेका नगरबासीलाई हलेसी तुवाचुङ नगरपालिकाले १४ दिनसम्म होम क्वारेन्टीन वा क्वारेन्टीनमा बस्ने, सामाजिक दुरी कायम गरेर परिवारका सदस्यसँग सम्पर्क स्थापित गर्ने, मादक पदार्थ सेवन नगर्ने, स्वास्थ्यमा समस्या भएमा तत्काल स्वास्थ्यकर्मीलाई सम्पर्क गर्ने लगायतका १० बुँदे कबुलियतनामा गराएर घर पठाएको हो । काठमाडौंबाट नगरबासीलाई घर पठाउन युवा नेता रमेश पौडेल, जितेन्द्र ठकुरी, राजबिक्रम चाम्लिङ, दयाराम राई लगायतले समन्वय गरेका थिए ।

उदयपुरमा ठूलो संख्यामा कोरोना भाइरसबाट संक्रमित नागरिक फेला परेपछि नोबेल कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समितिको बैठकले बैसाख ८ गतेदेखि खोटाङ प्रवेश गर्ने र बाहिरिने नाका हप्तादिनका लागि बन्द गर्ने निर्णय गरे पनि जिल्ला प्रवेश गर्ने नाकाबाट सर्वसाधारण भित्रिन छाडेका छैनन् । जयराम नाकाबाट रातको २÷३ बजेसम्म सर्वसाधारण भित्रिने गरेको बताइएको छ । शहरबाट घर प्रवेश गर्ने व्यक्तिसँगै संक्रमण पनि भित्रिने खतरा बढेको भन्दै गाउँमा भने त्रास फैलिएको छ । विशेषगरी उदयपुरतिरबाट भित्रिने स्थानीयबाट संक्रमण फैलिने त्रास बढिरहेको छ ।
 

प्रकाशित: १२ वैशाख २०७७ ०९:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App