५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

भुल्केमा कसरी संक्रमण फैलियो ? तीन दिनभित्र खुलासा हुने

उदयपुर - त्रियुगा नगरपालिका–३ भुल्केस्थित मस्जिदका ११ भारतीयसहित १३ धर्म प्रचारकमा वैशाख ५ गते पहिलोपटक कोरोना भाइरस (कोबिड–१९) संक्रमण पुष्टि हुँदा धेरैको प्रतिक्रिया थियो– भारतीयका कारण कोरोना फैलियो। त्यसयता उदयपुरमा दैनिकजसो संक्रमित थपिएका छन्।  बुधबारसम्म उदयपुरमा संक्रमितको संख्या २८  पुगेको छ। बिहीबार स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको संक्रमित भुल्केकी ५५ वर्षीया वृद्धाको विवरण बुधबारै काठमाडौं पठाइएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ।

सुरुमा मस्जिदमा रहेका १२ भारतीयसहित १६ जनाको नमुना ¥यापिड डाइग्नोस्टिक जाँच गर्दा नेगेटिभ आएको थियो। पिसिआर जाँचमा भने सुरुमा १२ जनाको रिपोर्ट पोजेटिभ आयो। पिसिआर परीक्षणले पोजेटिभ देखाएपछि उनीहरुलाई कोरोना विशेष अस्पताल विराटनगर लगेर आइसोलेसनमा राखियो। अर्को दिन ६ गते मस्जिदकै अर्का एकजनामा पनि संक्रमण प्रमाणित भयो। 

एकैपटक दर्जन हाराहारीमा संक्रमित फेला परेपछि नगरपालिका, प्रशासन, स्वास्थ्य निकाय र जिल्ला कोबिड प्रतिकार समितिले मस्जिद आसपास भुल्केवासीको स्वास्थ्य परीक्षणको माग गरे। माग अनुसार प्रदेश सरकारले टोली पठायो। सरुवा रोग विशेषज्ञ डा. जयवेन्द्र यादव नेतृत्वको टोलीले ६ गते मस्जिद आउजाउ गर्ने तथा संक्रमित धर्म प्रचारकसँग भेटघाट गर्ने ६० सहित ६९ को स्वाब संकलन गरी लग्यो। ३ दिनपछि संक्रमणको आशंका गरिएका थप ८ जनालाई ‘रिकन्फर्म’ गर्नुपर्ने भनेपछि एम्बुलेन्समार्फत बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइयो। त्यहाँ जाँच गर्दा उनीहरुमा संक्रमण पुष्टि भयो। 

कोरोना जोखिमबाट बच्न मुलुकभर लकडाउन गरेको २५औं दिन भुल्के ‘कोरोना इपिसेन्टर’ मा परिणत भएपछि जनमानसमा ह्वात्तै त्रास बढ्यो। काठमाडौंबाट हेलिकोप्टरमा आएको नेपाली सेनाको स्वास्थ्य टोलीले ७ गते १ सय ५२ जना र ८ गते थप १ सयजनाको स्वाब संकलन गरी काठमाडौं लग्यो। परीक्षणबाट थप ७ जनामा संक्रमण पुष्टि भयो। बुधबार साँझसम्म यो संख्या २८ पुगेको छ। 

संक्रमित सुरुमा मस्जिदमा भेटिए पनि पछिल्लो नतिजाले संक्रमण कोबाट कसरी सुरु भयो भन्ने विषयमा विभिन्न अड्कलबाजी गर्न कर लगाएको छ तर, यकिन भइसकेको छैन। जिल्ला स्वास्थ्य कार्यालय प्रमुख मोहन सुवेदीका अनुसार भारतीय धर्म प्रचारकको ‘ट्राभल हिस्ट्री’ अनुसार उनीहरुबाट संक्रमण भएको भन्न सकिने अवस्था छैन।

भुल्केकै ३ युवा २ महिनायता भारतको नयाँदिल्ली, कर्णाटक र दुवईबाट फर्केको अपुष्ट खबरले पनि सुवेदीको अनुमानलाई बल मिल्ने कोरोनाविरुद्ध अग्रमोर्चामा खट्दै आएका त्रियुगा नगरप्रमुख बलदेव चौधरी बताउँछन्। उनले लकडाउन सुरु हुनुअगावै नयाँ मान्छे कोही आए वा आएको थाहा भए तत्काल नगरपालिका, प्रहरी, प्रशासनलाई जानकारी गराउन जनप्रतिनिधि र टोल विकास समितिका पदाधिकारीलाई आग्रह गरिएको बताए। पटक पटक आग्रह गर्दा पनि विदेशबाट फर्केका मान्छेको विवरण प्राप्त हुन नसकेको उनले बताए। 

कर्णाटकमा उर्दु भाषा अध्ययनरत एक विद्यार्थी, नयाँदिल्लीमा रोजगारी गर्ने एक युवक र दुबईमा काम गर्ने अर्का युवक फागुन दोस्रो सातातिर भुल्केस्थित घर फर्केको अपुष्ट जानकारी स्थानीयले दिएका छन्। स्थानीयका अनुसार विदेशबाट फर्केका ती युवकमध्ये कसैलाई संक्रमण भएको हुनसक्छ। यस आधारमा मस्जिदका धर्म प्रचारकबाट नभएर संक्रमण तिनै युवकमध्येबाट भएको हुन सक्छ। तर भारतीयको उदयपुर ‘प्रवेश बिन्दु’ शिवाईको रिपोर्ट नआएसम्म भन्न नसकिने जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगर बताउँछन्। एसपी बुढामगरका अनुसार बढीमा ३ दिनभित्र यो कुराको खुलासा भइसक्नेछ। 

‘ट्राभल हिस्ट्रीले भारतीय धर्म प्रचारकबाट संक्रमण भएको भन्न मिल्दैन’, मगर भन्छन्, ‘रेलको टिकट, अन्य कागजात र बयानले उनीहरु मंसिर २५ गते नै नेपाल भित्रिएको देखाउँछ, जुनबेला विश्वमै कोरोना सुरु भएकै थिएन।’ जोगवनी नाका भएर नेपाल छिरेका उनीहरु मोरङ, सुनसरी र सप्तरीका विभिन्न मस्जिद हुँदै फागुन २७ गते उदयपुरको चौदण्डीगढी नगरपालिका ५ सुन्दरपुरस्थित शिवाई मस्जिदमा बास बस्न आइपुगेको पाइएको छ। त्यहाँका ५३ घरधुरी इस्लाम समुदायको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आयो भने भारतीय धर्म प्रचारकबाट संक्रमण सरेको भन्न नसकिने उनले बताए। 

शिवाई र मोथियाहीका ७८ को स्वाब संकलन

संक्रमित १२ भारतीयसहित १६ धर्म प्रचारक उदयपुर प्रवेश गरेको चौदण्डीगढी नगरपालिका ५ सुन्दरपुरको शिवाई र भुल्केसँगै जोडिएको त्रियुगा २ को मोथियाहीवासीको स्वाब बिहीबार संकलन गरिएको छ। भारतीय धर्म प्रचारक जोगवनीबाट  नेपाल प्रवेश गरी मोरङ, सुनसरी र सप्तरीका विभिन्न मस्जिद हुँदै उदयपुर छिर्दा पहिलोपटक बसेको शिवाईस्थित मस्जिद आसपासमा संक्रमणको बढी सम्भावना भएकाले स्वाब संकलन गरिएको हो।

प्रदेश कार्यालयबाट आएको स्वास्थ्य टोलीले शिवाईका ५८ जनाको स्वाव संकलन गरेको चौदण्डीगढी नगरपालिका प्रमुख खगेन्द्र राईले बताए। भुल्केस्थित मस्जिदमा वैशाख ५ गते ११ भारतीयसहित १३ जनामा एकैचोटी संक्रमण देखिएसँगै पहिलो पटक आएर बसेको शिवाईवासीमा संक्रमण भएको अनुमान गर्दै तत्काल स्वास्थ्य परीक्षण माग गरिएको थियो। नगरप्रमुख राईका अनुसार पहिलो चरणमा शिवाईका ५४ घरधुरीबाट स्वाब संकलन गरिएको हो। 

सरुवा रोग विशेषज्ञ डा. जयवेन्द्र यादव नेतृत्वमा आएका ६ जना र जिल्ला स्वास्थ्य कार्यालयका ४ सहितको संयुक्त टोलीले शिवाईसँगै भुल्केसँग सीमा जोडिएको मोथियाहीस्थित मस्जिद र आसपासका २० जनाको पनि स्वाब संकलन गरेको छ। भुल्केसँग जोडिएको मोथियाहीमा संक्रमणको जोखिम बढी भएको हुनाले नमुना स्वाब संकलन गरी पठाइएको स्वास्थ्य कार्यालय प्रमुख सुवेदीले बताए। 

संकलित स्वाब बिहीबार साँझै विराटनगर लगिएको छ। रिपोर्ट आउन बढीमा ३ दिन कुर्नुपर्ने सुवेदीले बताए।   

स्वास्थ्य सामग्री सहयोग 

यसैबीच ‘आवन हर्ट’ नामक दातृ निकायले कोरोना संक्रमण रोकथामका लागि विभिन्न औषधि तथा उपकरण जिल्ला स्वास्थ्य कार्यालयलाई प्रदान गरेको छ। कोरोनाविरुद्ध अभियानमा आवश्यक दर्जन बढी प्रकारका सामग्री आवन हर्टले बुधबार प्रदान गरेको स्वास्थ्य कार्यालय प्रमुख सुवेदीले बताए। 

उनका अनुसार प्राप्त सामग्रीमा पुनप्र्रयोग गर्न मिल्ने गुगल्स प्रोटेक्टिभ पोलिकार्बोनेट ४८ थान, सेनिटाइजर ५ सय ५६ बोतल, भिरेक्स २ सय ९३, डिस्पोजेबल रब ५ हजार ९ सय, हेभी ड्युटी ड्रग्स १ सय ५ र सर्जिकल मास्क १० हजार १ सय थान छन्। त्यस्तै केएन ९५ मास्क १ सय ४४ थान, थर्मोमिटर ४४ थान, लिक्विड सप (साबुन) ६६ थान, डिस्पोजेबल क्याप १ हजार ३ सय ५० थान, पिपिई सेट २० थान, वाटर एनाइजर १ सय ९६ र डिस्पोजेबल सु कभर १ हजार ७ सय थानलगायत छन्।

प्रकाशित: १२ वैशाख २०७७ ०२:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App