७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

मनकामना मन्दिरका पूजारीका तीन नाल बन्दुक !

गोरखा- बिहानदेखि बेलुकीसम्म मनकामना मन्दिर भित्र पूजापाठ गरेर भक्तजनलाई आशिक दिँदै बस्ने पूजारीलाई सुरक्ष थ्रेट कति अनुमान गर्न सकिएला। पूजारी लक्षित कुनै घटना यस अघि भएको भए सुरक्षा थ्रेट सहजै अनुमान गर्न सकिन्थ्यो तर त्यो अवस्थाबारे मनकामनाका स्थानीयलाई थाहा छैन। मन्दिरका मुख्य पूजारी इन्सान थापाले भने आफ्नो सुरक्षाका लागि भन्दै तीन थान बन्दुकको इजाजत लिएको खुलेको छ।

प्रमुख जिल्ला अधिकारीको तजविजले मन लागेको मानिसलाई हतियारको अनुमतिपत्र दिन सक्ने ब्यवस्था थियो। अहिले सुरक्षा समितिबाट निणर्य गर्नुपर्ने प्रवाधान भएपनि प्रजिअले चाहेको ब्यक्तीले अहिले पनि सहजै हतियार पाउँछन्। २०५१ साल फागुन ८ गते जिल्ला प्रशासन कार्यालयबाट पूजारी थापाले एकनाले भरुवा बन्दुकको इजाजत लिएका थिए। उनी मुख्य पूजारीको रुपमा रहेका बेला २०७३ सालमा एकै वर्ष दुईवटा हतियार आफ्नोमा नामसारी गरेका थिए। २०७३ बैशाख ३१ गते पोखरा महानगरपालिका ५ का शक्ति पराजुलीको नामको १२ बोरको राईफल आफ्नो नाममा नामसारी गरेको देखिन्छ। पुस १७ गते सोही वर्ष शहिदलखन गाउँपालिका बक्राङका टोपबहादुर थापा मगरको नाममा रहेको १२ बोरको बन्दुकको इजाजत पनि उनले आफ्नो नाममा ल्याए।

पहिले एउटा भरुवा बन्दुक रहेको ब्यक्तीले थप दुईवटा बन्दुक लिँदा प्रमुख जिल्ला अधिकारीले सोधपुछ बिना नामसारी गरेको देखिन्छ। हतियार लिन चाहेको ब्यक्तीलाई कत्तीको सुरक्षा थ्रेट छ ? भन्ने विषय जिल्ला सुरक्षा समिति वा प्रमुख जिल्ला अधिकारी राम्रोसँग जानकार हुनुपर्छ। मनकामनाको पूजारी भएकै कारण थापाले बिना अवरोध तीनवटा हतियार लिएका हुन्। तीनवटा हतियारको इजाजत एकै ब्यक्तीको नाममा लिएर नबिकरण नियमित गर्ने वा हतियार खेलाउने जिल्ला प्रशासनको तथ्याङ्कमा उनी मात्रै देखिन्छ।

‘ब्यक्तीले आफुलाई असुरक्षित महशुस गर्‍यो भने हतियार लिन पाउँछ, कति लियो भन्ने भन्दा पनि प्रयोजन के गर्‍यो भन्ने मूख्य कुरा हो’ गोरखाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले भने। गत शनिवार बन्दुक सहित शिकार खेल्न गएका बेला पूजारी थापा भेटिएपछि प्रहरीले उनको बन्दुक नियन्त्रणमा लिएर उनलाई तारेखमा छाडेको थियो। एक थान बन्दुक प्रहरीले लिएपनि दुई थान उनीसँगै छ। हतियार लिएर शिकार खेल्न गएका बेला स्थानीयको गुनासोपछि प्रहरीले नियन्त्रणमा लिएको प्रहरी प्रमुख एसपी ओमप्रसाद अधिकारीले बताए। पूजारी बन्दुक बोकेर लकडाउनको बेला शिकार खेल्न हिँडेको घटनाले र्चातर्फी आलोचना भएको छ। 

‘इजाजत दिँदैमा अर्कोपनि लिए, नलिएको थाहा हुन्छ, जिल्लाको अवस्था, हतियार माग्ने ब्यक्तीबारे इजाजत दिने अधिकारी राम्रोसँग जानकार हुन्छन’ एक कानुन ब्यवसायी भन्छन् ‘सुरक्षाका लागि एउटा हतियार दिन सकिएला, तीनवटा दिनुको पछाडि दबाव र प्रभाव अनुमान गर्न सकिन्छ।’ पूजारी जंगल जाने शिकार गर्ने गरेको आरोप स्थानीयको छ। उनले भने शनिवार पनि आफु शिकार खेल्न नभई झाँक्रिकहाँ जाँदा सुरक्षाका लागि बोकेर हिँडेको दावी गर्छन। हतियारको दुरुपयोग नगरेको दावी उनको छ। स्थानीय भने शिकार खेल्ने पूजारीको रहरले त्रास बढेको बताउँछन्। उनी शिकार गरेको चराचुरुङ्गीको मासु भने खाँदैनन्। शोकको लागि शिकार र शिकारका लागि तीनवटा हतियार अहिले पूजारी थापालाई टाउको दुखाई बनेको छ।

 

प्रकाशित: १० वैशाख २०७७ १०:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App