५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

उदयपुरमा बाघको आक्रमणबाट दुई घाइते

उदयपुर- बाघको आक्रमणबाट जिल्लाको रौतामाईका दुईजना घाइते भएका छन् । गाउँपालिका ३ लाफागाउँ भोर्लाबासका ३६ वर्षीय गुणराज राई र ३८ वर्षीय कमल नेपाली बाघको आक्रमणमा परी घाइते भएको वडा सदस्य सर्वजीत राईले बताए।

उनका अनुसार भोर्लाबास जंगलमा घाँस दाउरा गर्न गएका उनीहरुको बाघसँग जम्काभेट हुँदा बाघले चिथोरेर घाइते बनाएको हो । बाघको आक्रमणबाट राईको हातको नाडीमा गहिरो चोट लागेको छ भने नेपालीको ढाडमा चोट लागेको छ । दुवैलाई बाघले नङ्ग्राले चिथोरेर घाउ बनाएको हो ।

‘हामी दुईजना जंगलमा सँगै थियौं, एक्कासी अगाडि बाघ देखियो’ घाइतेलाई उद्धृत गर्दै सदस्य राईले भने ‘एक्कासी बाघले घाँटी ताकेर झम्ट्यो, छल्न खोज्दा नाडीमा चोट लाग्यो । कमल चाही लड्यो, उसको ढाडमा नङ्ग्राले चोट पुगेको छ ।’ घटना ४ दिनअघिको भए पनि लकडाउनका कारण घाइतेहरुलाई उपचार गर्न कतै लान नसकेको उनले बताए । घरेलु उपचार गरे पनि घाउ दिनदिनै बढ्दै गएकाले चाँडो उपचार गर्न लानुपर्ने गाउँलेको भनाई छ ।

गाउँपालिकाले उपचार गर्न सदरमुकाम लान भने पनि हिडाएर लान समस्या भएको सदस्य राईले बताए । प्रमुख प्रशासकीय अधिकृत खम्बराज राईले उपचारमा लान एम्बुलेन्सको व्यवस्था गरिदिने आश्वासन दिएका छन् ।

लकडाउनका कारण मान्छेको आउजाउ ठप्प भएपछि बाघ जंगलबाट गाउँ छिरेर दिनदहाडै स्थानीयको घरपालुवा सुँगुर, बाख्रा, खसी र गाईभैसीका बाछा पाडा मार्न थालेको गाउँलेको भनाई छ । सुरुमा रातिराति गाउँ छिर्दे बिझ्याँई गर्ने बाघले हिजोआज दिउँसै घर पालुवा जनावर मार्न थालेकोमा मान्छेमाथि पनि आक्रमण गरेपछि गाउँमा आतंक छाएको स्थानीय शंकर राईले बताए ।

प्रकाशित: १० वैशाख २०७७ ०७:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App