२१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

मासुमा मनपरी

भक्तपुर – लक–डाउनको समयमा भक्तपुरका मासु पसलेहरूले मनपरी मूल्य लिई कालोबजारी गरेको पाइएको छ । भक्तपुर नगरपालिका पसल अनुगमन समितिका संयोजक राजकृष्ण गोराको संयोजकत्वमा सोमबार दत्तात्रय, च्याम्हसिंह, कमलविनायक र लान्चा फल्चामा क्षेत्रमा रहेका मासु पसल अनुगमनका क्रममा यस्तो भेटिएको जनाइएको छ । 

कोरोना भाइरस महामारीबाट बच्न लक–डाउन जारी रहेको अवस्थामा मासु पसलेहरूले मनपरी मूल्य लिई कालोबजारी गरेका हुन् । मासु महँगोमा बिक्री गरेको जनगुनासो आएपछि अनुगमनलाई तीव्र पारिएको र अनुगमन गर्दा अधिकतर मासु पसल न्यूनतम मापदण्ड नपुगेको तथा महँगोमा मासु बेचेको पाइएकोले त्यस्ता पसलको तराजु जफत गरिएको संयोजक राजकृष्ण गोराले बताए । 

अनुगमन क्रममा साला गणेश मिट पसल, बालकुमारी कोल्ड स्टोर, रत्न शाहीको मासु पसल, सुमन मिट सप र महिमा मिट सपमा मासु महँगो मूल्यमा बेचेको, मनपरी मूल्य लिने गरेको, माक्स, पञ्जा, एप्रोन प्रयोग नगरेको, कुखुरा र राँगाको मासु छुट्टाछुट्टै फ्रिजमा नराखेको, झिँगा नभन्किने गरी जालीले नछोपेकोलगायत कमजोरी पाइएको अनुगमन समितिले जनाएको छ ।

समितिले मासु पसल तथा ढक–तराजु नापतौल विभागमा नवीकरण नगरेको, मूल्यसूची नराखेकोलगायत गल्ती पाइएपछि तराजु जफत गरेर प्रारम्भिक कारबाही गरिएको वडा निरीक्षक रामकृष्ण प्रजापतिले बताए । 
अनुगमनमा भक्तपुर नगरपालिका अनुगमन समितिका सदस्य हरिराम सुवाल, रोशनमैया सुवाल, सचिव दिलिपकुमार सुवाल, भनपा स्यानिटेसन उपशाखाका वडा निरीक्षक रामकृष्ण प्रजापति, राष्ट्रिय उपभोक्ता मञ्चका मनोज थापा र लक्ष्मी भण्डारी, महानगरीय प्रहरी परिसरका विष्णु थापा तथा पशुसेवा शाखा भक्तपुर, भक्तपुर उद्योग वाणिज्य संघका प्रतिनिधि सहभागी थिए ।

प्रकाशित: १० वैशाख २०७७ ०२:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App