३० वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

दीर्घरोगीका लागि घरमै निःशुल्क औषधि

बैतडी - बैतडीको डिलाशैनी गाउँपालिकाले दीर्घरोगीका लागि घरमै निःशुल्क औषधि पुर्‍याउने भएको छ। 

जारी लकडाउनका कारण नियमित औषधि सेवन गर्नुपर्ने नागरिकको सहजताका लागि गाउँपालिकाले यस्तो निर्णय गरेको गाउँपालिकाका विपद् व्यवस्थापन सम्पर्क व्यक्ति पुरुषोत्तमनाथ योगीले बताए। दम, मधुमेह, मुटुरोगलगायत लामो समयदेखि औषधि सेवन गरिरहेकालाई महिला स्वास्थ्य स्वयंसेविकामार्फत सम्बन्धित बिरामीको घरमा नै औषधि पुर्‍याउने व्यवस्था गर्न लागिएको हो।  प्रत्येक वडामा नियमित औषधि सेवन गरिरहेका नागरिकको तथ्याङ्क सङ्कलन गरिने र त्यसपछि गाउँपालिकाले औषधि खरिद गरेर घरघरमा पुर्‍याउने नाथको भनाइ छ।

लकडाउन अवधिभर नियमित औषधि सेवन गरिरहेकाहरुका लागि यो व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ। यस्तै गाउँपालिकाले कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणमा खटिएका कर्मचारीको कोरोनाका कारण मृत्यु भएमा उसको नजिकको परिवारको सदस्यको  १० लाख रुपैयाँको बीमा गरिदिने निर्णय गरेको छ। उसका आश्रित परिवारका सदस्यलाई सजिलो होस् भनेर यस्तो निर्णय भएको गाउँपालिकाका प्रवक्ता अक्कलबहादुर रानाले बताए।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि ५० लाख रुपैयाँको राहत कोष स्थापना गर्ने निर्णय पनि गरेको छ । सो कोषमा गाउँपालिकाअन्तर्गतका कर्मचारीको १० दिनको तलबकट्टा गरी जमा गर्ने, लकडाउन अवधिभर जनप्रतिनिधिले पाउने सेवा सुविधा सबै सो कोषमा राख्ने निर्णयसमेत भएको प्रवक्ता रानाले जानकारी दिए। यस्तै कोरोना भाइरस रोकथामका लागि अग्रपङ्क्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मीलाई शतप्रतिशत थप भत्ता दिने, सहयोगी भूमिकामा रहेर काम गर्ने कर्मचारीलाई २५ प्रतिशत थप भत्ता दिने निर्णय गरेको प्रवक्ता रानाले जानकारी दिए। रासस

प्रकाशित: ६ वैशाख २०७७ ०३:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App