१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

शहरमा रहेका सर्वसाधारणका लागि गाउँपालिकाको ‘राहत प्याकेज’

खोटाङ– खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले मजदुरी या अध्ययनकाक्रममा शहरमा बसिरहेको अवस्थामा ‘लकडाउन’को मारमा परेका गाउँपालिकावासीका लागि राहतका प्याकेज ल्याएको छ । काठमाडौं, बिराटनगर, धरान लगायतका जिल्लाभन्दा बाहिरका शहर बजारमा बसेर दैनिक जीवनयापनका लागि मजदुरीको काम गरिरहेका वा अध्ययनका सिलसिलामा बसिरहेको अवस्थामा लागू गरिएको ‘लकडाउन’का कारण समस्यामा परेका गाउँपालिकाबासीका लागि राहतका प्याकेज ल्याइएको हो ।

नोबेल कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणका लागि सरकारले लगाएको ‘लकडाउन’का कारण शहर बजारमा बिचल्नीको अवस्थामा पुगेका आफ्नो गाउँपालिकाका श्रमिक मजदुर तथा विद्यार्थी लगायतको सहजताका लागि राहतका प्याकेज ल्याइएको दिप्रुङ चुईचुम्मा गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईले बताए ।

‘लकडाउन’का कारण दैनिक ज्यालादारीका काम गर्न नपाउँदा मारमा परेका मजदुर तथा विद्यार्थीलाई तत्तत् स्थानमा राहत उपलव्ध गराउने तयारी गरिएको गाउँपालिकाले जनाएको छ । विदेश जान लाग्दा ‘लकडाउन’ले काठ्माण्डौंमै अड्किएका तथा कोरियन लगायतका विदेशी भाषा अध्ययनकाक्रममा शहर बजारमा रोकिएका पालिकाबासीका लागि समेत सो राहत प्याकेज उपलव्ध गराइने गाउँपालिका अध्यक्ष राईले बताए । तर कर्मचारी वा अन्य कुनै पनि पेशा व्यवसायमा संलग्न व्यक्तीले भने राहत पाउने छैनन् । शहरबाट जसोतसो गाउँ आए ‘लकडाउन’को उल्लंघन हुने र क्वारेन्टीनमा बस्नुपर्ने भएकाले शहरमा बसिरहेका पालिकाबासीलाई कोठामै खाद्यान्न पु¥याइदिने तयारी गरिएको हो ।

शहर बजारमा बाँडिने राहत गाउँपालिकाबासीले नपाउने भएकाले गाउँबाट शहरमा राहत पठाउन लागिएको अध्यक्ष राईले बताए । ‘नागरिकलाई लकडाउन पालना गर भनेर मात्र हुँदैन, आवश्यक राहत पनि दिन सक्नुपर्छ,’ गाउँपालिका अध्यक्ष राईले भने, ‘हामीले शहरमा बसिरहेका पालिकाबासीलाई लकडाउनको पालना गरेर बस्नु, बाहिर ननिस्कनु हामी कोठामै चामल पठाइदिन्छौँ भनेका हौँ ।’

गाउँपालिकाले ‘लकडाउन’को मारमा परेका पालिकाबासीलाई हाल बसिरहेकै ठाउँमा राहत पुर्‍याउनका लागि फोकल पर्सनलाई सम्पर्क गर्न आग्रह गरेको छ । राहत प्याकेज लिनका लागि कर्मचारीहरु सञ्जिप आचार्य (मो.नं. ९८२५७७४७७४/९८४२८७७४३७), ओमसरा राई (मो.नं. ९८६२८१४००९) र सुनिता राई (मो.नं. ९८२५७९५०५३) लाई सम्पर्क गरेर आफ्नो विवरण उपलव्ध गराउन आग्रह गरिएको छ ।

लकडाउन’मा दुःख पाएका नागरिकले बसिरहेकै ठाउँमा आवश्यक सेवा पाए मात्र राष्ट्रिय अभियानकारुपमा रहेको ‘लकडाउन’ सफल हुने अध्यक्ष राईले बताए ।

प्रकाशित: ५ वैशाख २०७७ ०९:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App