१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

खडेरी पीडित किसानलाई मकैको बीउ वितरण गर्दै नगरपालिका

खोटाङ– खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले खडेरी पीडित किसानलाई मकैको बीउ वितरणको तयारी गरेको छ । २०७६ सालको खडेरीका कारण मकै छर्न नपाएका र छरेका मकैको बिरुवा पनि मरेपछि बीउ नै जोगाउन नसकेका किसानलाई नगरपालिकाले मकैको बीउ वितरणको तयारी गरेको हो । खडेरीका कारण मकैको बीउविहीन बन्न पुगेका किसानलाई प्रतिघर ४ केजीका दरले मकैको बीउ उपलव्ध गराउने तयारी गरिएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए ।

प्रमुख बालीकारुपमा लगाइने मकै छर्ने बेला सुरु भएको अवस्थामा नगरपालिकाले बीउ खरिद गरेर खडेरी पीडित किसानलाई वितरणको तयारी गरेको हो । खडेरीका कारण मकैको बीउ मासिएको क्षेत्र, आवश्यक पर्ने बीउको परिमाण र बीउ खरिदका लागि आवश्यक बजेट निकासाका लागि माग गर्न ११ वटै वडा कार्यालयलाई चैत ३० गते पत्राचार गरिएको मेयर राईले बताए । बीउ नै मासिएपछि समस्यामा परेका किसानलाई ध्यानमा राखेर नगरपालिकाले बीउ वितरणको तयारी गरेको हो । नगरपालिकाको हावापानी सुहाउँदो ठाउँबाट मकैको बीउ खरिद गरेर किसानलाई वितरण गरिने नगरपालिकाले जनाएको छ ।

हलेसी तुवाचुङ नगरपालिकाको बाहुनीडाँडा, डिकुवा, च्यास्मीटार, बडहरे, मंगलटार, दुर्छिम, सल्ले, राजापानी, अर्खौले लगायतका ११ वटै वडामा बैशाख र जेठमा छरेको मकैको बिरुवा लामो खडेरीले सुकेर सोत्तर भएको थियो । खडेरीका कारण कतिपय किसानले मकै छर्नै पाएनन् । मकैको सिजन गएपछि वर्षा हुँदा कतिपय किसानले असार लागेपछि मकै छरेका थिए । तर, बेमौसममा लगाइएको मकैले उत्पादन नदिएको किसानको भनाई छ । नगरपालिकाको दुधकोसी र सुनकोसी किनार आसपासमा छरिएको मकै खडेरीले सबैभन्दा बढि सोत्तर बनेको थियो । जिल्ला दैबीप्रकोप उद्धार समितिले २०६८ सालमा सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको हलेसी तुवाचुङ नगरपालिका क्षेत्रमा २०१८ साल र २०३४ सालपछि २०७६ सालमा लामो खडेरी परेको हो ।

खडेरीले मकैको बिरुवा सुकेपछि कतिपय किसानले उखालेर गाईबस्तुलाई घाँस खुवाएका थिए भने कतिपय किसानले उखालेर बारीमै पाँजो हालेका थिए । खडेरीले सयौं हेक्टर बारी बाँझो भएपछि हाल गाईबस्तु तथा पन्छीलाई दाना खुवाउनै समस्या छ । मकैको बीउ नै मासिएपछि नगरपालिकामा खाद्यान्न संकट निम्तिएको छ । खाद्यान्न संकट टार्नका लागि नगरपालिकाले दशैंअघि स्थानीयलाई खाद्यान्न वितरण गरेको थियो । समुद्री सतहदेखि करिब १२ सय मिटरभन्दा मुनिका जमिनमा छरिएका मकै पूर्णरुपमा मरेको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारका वडाध्यक्ष भलाराज राईले बताए ।

खडेरी पीडित किसानलाई खोटेहाङ गाउँपालिकाले पनि ७५ प्रतिशत अनुदानमा आठ सय केजी मकैको बीउ वितरण गरेको थियो ।

प्रकाशित: २ वैशाख २०७७ १२:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App