९ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

चीनको सियान महानगरद्वारा स्वास्थ्य सामग्री सहयोग

काठमाडौँ - चीनको साङ्सी प्रान्तमा अवस्थित सियान महानगरपालिकाले कोभिड–१९ महामारीको रोकथाम तथा नियन्त्रणका लागि नेपालको बुटवल उपमहानरपालिका, काठमाडौँ र धुलिखेलका अस्पतालहरुमा प्रयोग गर्नेगरी स्वास्थ्य सामग्री सहयोग गरेको छ। 

उक्त महानगरपालिकाले ३० हजार मेडिकल मास्क, एक हजार एन ९५ मास्क, ५०० थान पिपिइ तथा थर्मामिटर, भेन्टिलेटरलगायत करिब एक करोड आठ लाख रुपैयाँ बराबरका सहयोग सामग्री उपलब्ध गराएको हो। नेपाल ट्रान्स हिमालयन सोसाइटीमार्फत उपलब्ध गराइएका ती सहयोग सामग्री छिट्टै नेपाल सरकारलाई प्रदान गरिने सो सोसाइटीका अध्यक्ष प्रा डा राजिवकुमार झाले जानकारी दिए। सियान महानगरपालिका र नेपालको बुटवल उपमहानरपालिकाबीच गत वर्ष चिनियाँ राष्ट्रपति सि चिनफिङको नेपाल भ्रमणका समयमा भगिनी सम्बन्ध कायम भएको थियो। त्यसैले सियान नगरले बुटवललाई सहयोग सामग्री प्रदान गरेको हो। 

उक्त सोसाइटीका अध्यक्ष प्रा डा झाले ती सामग्रीहरु चीनमा रहेको नेपाली दूतावासमार्फत नेपाल सरकारलाई प्राप्त हुने जानकारी दिँदै चीनमा भाइरसको प्रकोप बढेका बेला नेपालले मास्कलगायत सहयोग सामग्री उपलब्ध गराउँदा चीन सरकार निकै खुशी भएको प्रसङ्ग उल्लेख गरे। यी सामग्रीहरु पर्याप्त नभए पनि यतिखेर कोरोना भाइरसको सम्भावित सङ्क्रमणका विरुद्ध लडिरहेको नेपालका लागि थोरै भए पनि सहयोग सिद्ध हुने विश्वास व्यक्त गरे। रासस

प्रकाशित: १ वैशाख २०७७ ०४:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App