६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

लकडाउन उल्लंघन गर्नेलाई कोरोना सर्ने तरिका सिकाउँदै गोरखा प्रहरी

लकडाउन उल्लंघन गर्नेलाई कक्षा लिँदै प्रहरी । तस्बिर : नागरिक

गोरखा- गोरखामा सवारी साधनको चाप विषेशतः मोटरसाइकल गुड्ने क्रम बढ्दो देखिएपछि प्रहरीले आज बिहानै चेकजाँचलाई तीब्रता दियो। गोरखा सदरमुकाममा १३ जना सवारी चालक छिनमै नियन्त्रणमा परे। उनीहरुलाई पक्राउ गरेर प्रहरीले कोरोना सर्ने तरिका सिकाएको छ।

गोरखाका प्रहरी प्रमुख एसपी ओमप्रसाद अधिकारीले पक्राउ परेकालाई कार्यालयको आँगनमा दुरी कायम गरेर राखे। ८ जना प्रहरी तयार गरे। एक जना प्रहरी विदेशबाट भर्खरै आएको ब्यक्ति बनाए। अरु दुई जना गाउँका स्थानीय भए। दुई जना प्रहरी विदेशबाट आएका नागरिकको घरमा पुगेर भने कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला छ तपाई घरमै बस्नुहोस्। समुदायमा पनि प्रहरीले सबैलाई घरमै बस्न सचेत रहन भन्यो र प्रहरी त्यहाँबाट अन्यत्र गयो।

प्रहरीले विदेशबाट आएका व्यक्तिको हातमा मसि लगाईदिएको थियो। प्रहरी गएपछि ति व्यक्ति बाहिर हिँडडुल गर्न थाले, दुई जनासँग हात मिलाए। उनको मसि दुई जनाको हातमा सर्‍यो। ति दुईजना गाउँमा हिँडडुल गर्न थाले। मसि फेरी अरुको हातमा सर्‍यो। र प्रहरीले पक्राउ परेका सबैलाई देखाउँदै भन्यो : देख्नुभयो, तपाईहरुले अटेरी गरेर हिँड्दा एक व्यक्तिबाट अर्कोमा यसरी कोरोना सर्छ। ‘तपाईहरुको सुरक्षाको लागि हो त्यसैले सचेत हुनुहोस्’ एसपी ओमप्रसाद अधिकारीले भने। आफ्नो लागि आफैँ सुरक्षित हुन प्रहरीले सुझाब दिएको हो।

‘लकडाउनका बेला सवारी साधन बिस्तारै धेरै चल्न थालेको गुनासोपछि चेकजाँचमा थप कडाई गरेका थियौँ’ जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी बासुदेब खतिवडाले भने। नियन्त्रणमा लिएर सवारी चलाउनेहरुलाई दुरी कायम गरी जिल्ला प्रहरी कार्यालयको आगनमा लकडाउन उल्लंघन नगर्न, यस्तो समयमा घरमै बस्न सचेत गराइएको उनले बताए।
 

 

प्रकाशित: ३० चैत्र २०७६ ०९:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App