२१ कार्तिक २०८१ बुधबार
image/svg+xml
समाज

मनले संसार हेर्ने रामसिंहः जो लकडाउनमा पनि घरघरमा तरकारी पुर्‍याउँछन्

तरकारी बेच्दै रामसिंह बिक। तस्बिरः दिनेश नागरिक

रोल्पा – बिगत एक दशकदेखि ठेलामा तरकारी राखेर बेच्दै जीवन निर्वाह गरिरहेका रोल्पा नगरपालिका ३ खुमेलका ४६ वर्षिय रामसिंह बिक( दृष्टीबिहिन)लाई लकडाउनले दिक्क बनायो। तर उनि राहत लिनेको लाइनमा गएनन्। उनको स्वाभिमानले राहतको लाइनमा बस्न दिएन। मेहनत गरेर जीवन चलाउन जानेका बिक प्रमुख जिल्ला अधिकारीकोमा गए। छिमेकीको सहारामा जिल्ला प्रशासन पुगेका बिकलाई त्यहाँ खटिएका प्रहरीले सिडिओसंग भेटाइदिए।
 
रामसिंहको समस्या सुनेका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले सँधै जसो हुने गरि ठेलामा तरकारी बेच्न अनुमति दिएपछि बुधवारदेखि उनले नियमित दैनिकी सुरु गरेका छन्। ‘सिडिओ सापले धेरै भिड हुन नदिनु, पालो पालो गरेर बेच्नु, मास्क लगाउनु अनि नियमित हात धोएर बेच्नु भन्नु भएको छ।’ उनले भने ‘रेडियोमा सुनेको थिए, लकडाउन हाम्रै लागि रैछ। जीउ बाचे त पैसा भोलि पनि कमाइन्छ भनेर १५ दिन घरमै बसे। अति भएपछि बेच्न सुरु गरेको हुँ।’

एक छोरा, दुई छोरीका बाबु रामसिंहले दुईचार दिन डोकोमा बोकेर पनि तरकारी बेचे। तर आखा नदेख्ने उनलाई असजिलो भयो। ‘घर चलाउन डोकोमा बोकेर तरकारी बेचे तर गाह्रो भयो। फेरि घर बसे।’ उहिले श्रीमतीले मजदुरी गरेर घर ब्यबहार धानेको सुनाउदै उनले भने ‘उहिले श्रीमतीले घर चलाउथिन। १० बर्ष जति भयोे तराईबाट गाडीमा तरकारी मगाउछु अनि दिनभर ठेलामा राखेर आफै बेच्न थालेको हँु।’ कोरोना संक्रमणको त्रासमा च्यापिएका बिकलाई लकडाउनले उकुसमुकुस बनाएको बताउँछन्।

सदरमुकाम लिवाङमा श्रीमतीलाई घुम्ती पसल खोली दिएका बिकका छोराले भ्यान चालकको रुपमा काम गर्छन् भने बुहारीलाई कक्षा १२ मा पढाई रहेका छन्। दुई छोरी पनि पढ्दै छन्। बुधवार बिहान करिब ४ हजारको तरकारी बेचेका रामसिंहले साझ फेरि अरु त्यती जति बिक्रि हुने अपेक्षा गरेका छन्। ‘लकडाउनले बजार सबै बन्द छ। बजारमा सबैको घरघरै तरकारी पु-याईदिएको छु। ब्यापार पनि भएको छ। सबैले खुसी ब्यक्त गर्नु भएको छ।’

बाहिर हिड्दा आँखा नदेखे पनि मनले खुला संसारको अनुभूति गरेका बिकलाई घर बस्दा साह्रै न्यास्रो लागेको बताउछन्। ‘ठेला गुडाएर बजार हिड्दा ग्राहकसंग गफगाफ हुन्छ। समय सजिलै बित्छ। आम्दानी पनि हुन्छ।’ गाउँको आफन्ती पर्ने एक बिपन्न बालकलाई सहारा बनाएका उनले खाना बस्न दिएर मासिक ७ हजार तलब दिएका छन्। कसैको सहारामा ठेला गुडाएर तरकारी बेच्दै परिवारमा उज्यालो छरेका रामसिंह रोगसंग सबै डराउनु पर्ने बताउछन्।

जिल्लामा रामसिंह जस्तै अन्य धेरै छन् जसले नियमित काम गर्न नपाउदा दैनिक घरायसी जोहो गर्न समस्या परेको छ। राहतको लाइनमा बस्न स्वाभिमानले दिएको छैन। नबसौ घरमा परिवारलाई पेटभर खुवाउने अन्न सकिदैछ। ‘जीबनमा कहिल्यै मागेर खाइएन। अब घरमा भएको अन्न र मेहनतले जोडेको पैसा पनि सकिन थाल्यो। पहिला नियमित आम्दानी हुन्थ्यो।’ एक मजदुरले भने ‘काम गरेर खाने ठाउँमा पनि काम छैन। कहिले काहि त नसोचेको समस्या पर्दो रैछ।’

जिल्लामा केहिको घरमा चुलो बल्न छोडेको भन्दै केहि दिन यता स्थानीय सरकारले राहत बितरण सुरु गरेका छन्। स्थानीय तहले दिएको राहतले कति दिन थेग्ने हो भन्ने चिन्तामा परेका कतिपयलाई फेरि खाद्यान्न सकियो भने के गर्ने भन्ने पीरलो सुरु भएको छ। हुने खानेलाई सहजताको चिन्ता भए पनि हुँदा खाने चुलो बाल्नेको चिन्ताले पीरोलेको छ।

प्रकाशित: २९ चैत्र २०७६ ०५:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App