२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

जापान र चीन उड्दै नेपाल एयरलाइन्स

काठमाडैँ – राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगमको दुई वाइड बडी ए–३३० जहाजले आज जापानको नारिता र चीनको ग्वाङ्जाओ उडान भर्दै छन्।

निगमका यी दुवै जहाजको व्यावसायिक उडान नभइ चाटर्ड र कार्गो उडान मात्रै हुन्।  जापानले निगमको वाइड बडी जहाज चाटर्ड गरी नेपालमा रोकिएका २०० भन्दा बढी नागरिक स्वदेश लैजान लागेको छ भने निगमको अर्को वाइड बडी जहाज मेडिकल सामग्री लिन ग्वाङ्जाओ उड्ने तयारीमा रहेको छ। 

आज राति ८ बजे निगमको जहाज जापानको नारिता अन्तर्राष्ट्रिय विमानस्थलका लागि उड्ने कार्यतालिका रहेको अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ। यो जहाज जापानी नागरिकलाई गन्तव्यमा पु–याएर शनिबार नेपाल फर्कने छ। निगमको जहाज जापानी नागरिकलाई लिएर आज राति त्यसतर्फ जान लागेको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी बताइन्।

उनका अनुसार आजै निगमको अर्को वाइड बडी जहाज पनि औषधिजन्य सामग्री लिन ग्वाङ्जाओ उड्दैछ। नेपाल एयरलाइन्सले जापानको नारितामा गत फागुन १९ गतेदेखि सिधा उडान सेवा शुरु गरेको थियो। कोभिड–१९ को सङ्क्रमण विश्वभर फैलिएपछि उक्त गन्तव्यको उडान हाललाई स्थगित गरिएको छ। निगमले जापानसहित नौ गन्तब्यमा आफ्ना दुइ वाइड बडी र दुई न्यारोबडी जहाजमार्फत अन्तर्राष्ट्रिय उडान भर्दै आएको छ। निगमको अर्को वाइड बडी जहाज आज साँझ ६ बजे चीनको ग्वाङ्जाओ उड्नेछ। 

आजै चार अन्तर्राष्ट्रिय उडान 
चैत ११ देखि वैशाख ३ गतेसम्म देशभर लकडाउन घोषणा गरिएको छ। यो अवधिमा चैत १० देखि वैशाख १५ सम्म चरणबद्धरुपमा अन्तर्राष्ट्रिय हवाई उडान प्रतिबन्ध गरिएको छ। तर अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक चाटर्ड तथा केही कार्गो उडान भइरहेका छन्। लकडाउनका कारण नेपालमा रोकिएका आफ्ना नागरिकलाई विभिन्न देशले जहाज चाटर्ड गरी स्वदेश फर्काइ रहेका छन्। आज मात्रै चार अन्तर्राष्ट्रिय उडान हुदैछन्। विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले लकडाउनको अवधिमा अन्तर्राष्ट्रिय विमानस्थल व्यस्त रहेको र आज मात्रै चार उडान हुने बताए।

केहीबेरअघि बेलायतको टीटान एयरवेजले २४२ बृटिस नागरिक लिएर गन्तव्यतर्फ उडेको छ। बेलायतले नेपालस्थित दूतावासको समन्वयमा जहाज चार्टर्ड गरी आफ्ना नागरिक लगेको हो। त्यसैगरी कोरियन एयरले पनि आज आफ्ना नागरिक स्वदेश लैजाँदैछ। 

बेलायतले यसअघि चैत २६ गते पनि सोही जहाजमार्फत आफ्ना करिब २५० नागरिक स्वदेश फिर्ता लगेको थियो।  कोरियन एयरको उडानमार्फत उनीहरुलाई घर फर्काउन लागिएको हो। लकडाउनको अवधिमा कोरियन एयरको यो दोस्रो उडान हो। लकडाउनको अवधिमा दुई दर्जन अन्तर्राष्ट्रिय उडान भएका छन्। चैत १० देखि आजसम्म जम्मा २४ अन्तर्राष्ट्रिय उडान भएको विमानस्थलले जनाएको छ। यी उडानमार्फत तीन हजार ५०० भन्दा बढी विदेशी घर फर्किएका छन्।

सबैभन्दा बढी उडान गर्नेमा कतार एयरवेजको नौ, नेपाल एयरलाइन्सको छ वटा उडान गरेका छन्। त्यस्तै कोरियन एयरको दुई, टीटान एयरको दुई तथा मलेयिसया, मालिन्दो, इत्तिहाद र चेकरिपब्लिकनको एक–एक उडान भएका छन्। यसैबीचमा विशेष गरी युरोपेली मुलुक जर्मनी, फ्रान्स, न्यूजील्याण्डलगायतका तथा मलेसिया, चेकरिपब्लिकन, अमेरिका र बेलायतका नागरिक घरफर्किएका हुन्। नेपाल पर्यटन बोर्डले सरोकारवाला निकायसँगको समन्वयमा उनीहरुलाई नेपालका विभिन्न गन्तव्यबाट उद्धार गरी काठमाडौँ ल्याएर स्वदेश फिर्ताका लागि सहजीकरण गरेको थियो।रासस 

 

प्रकाशित: २८ चैत्र २०७६ १२:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App