२४ असार २०८१ सोमबार
image/svg+xml
समाज

क्वारेन्टाइनमा राखिएका सर्वसाधारण ल्याउन नगरले पठायो बस

मोरङको टाँडी क्वारेन्टाइनबाट घर फर्कने तयारीमा रहेका हलेसी तुवाचुङ नगरपालिकाका स्थानीय । तस्बिर सौजन्य : प्रकाश घिमिरे

खोटाङ– खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले मोरङको टाँडीमा निर्माण गरिएको क्वारेन्टाइनमा राखिएका सर्वसाधारणलाई गाउँमा ल्याउनका लागि सवारी साधन पठाएको छ।

भारतका विभिन्न स्थानमा काम गरेर घर फर्कने क्रममा कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको आशंकामा चैत ११ गतेदेखि सुर्यदल गणले तयार पारेको क्वारेन्टाइनमा राखिएका १८ जनालाई गाउँसम्म ल्याउनका लागि नगरपालिकाले शुक्रबार कर्मचारीलाई बससहित टाँडी पठाएको हो। क्वारेन्टाइनमा राखिएका नगरबासीको नमूना परीक्षणका क्रममा कोरोना भाइरसको रिपोर्ट नेगेटिम देखिएपछि घरसम्म ल्याउनका लागि सवारी साधन पठाइएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए।

टाँडीको क्वारेन्टाइनमा १७ दिन बसेर घर फर्कनेमा हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ६ जना, हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेका ६ जना, हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका ३ जना र हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारका ३ जना छन्। मजदुरी काम गरेर फर्कनेक्रममा बाटैमा क्वारेन्टाइनमा राखिएका उनीहरुलाई अन्यको सम्पर्कमा पुग्न नदिइ सिधै होम क्वारेन्टाइनमा पुर्‍याउने व्यवस्थाका लागि नगरपालिकाले उनीहरुलाई ल्याउन बस पठाएको हो।

उनीहरुलाई गाउँ ल्याउनका लागि नगरका स्वास्थ्य शाखा संयोजक प्रकाश घिमिरे र देवराज केशी टाँडी पुगिसकेका छन्। उनीहरुलाई होम क्वारेन्टाइनमा राख्नेगरी टाँडीबाट ल्याउन लागिएको हो।

 

प्रकाशित: २८ चैत्र २०७६ १०:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App