१० मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

खान अयोग्य भन्दै राहत चामल फिर्ता

खाद्य व्यवस्था तथा व्यापार कम्पनी सुर्खेतले दिएको चामलमा टासिएको स्टीकर । तस्बिरः गणेश/नागरिक

वीरेन्द्रनगर- वडा कार्यालयले खाद्य व्यवस्था तथा व्यापार कम्पनी सुर्खेतबाट ल्याएर वितरण गरेको चालम म्याद सकिएको (खान अयोग्य) भन्दै स्थानीयले फिर्ता गरेका छन्। वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १० मनकामना मनिकापुर टोलका स्थानीयले उक्त चामल फिर्ता गरेका हुन्।

उक्त वडाले चार जनाभन्दा बढीलाई ३० केजी चामल, दुई किलो दाल, एक केजी नुन र आधा लिटर तेल दिने मापदण्ड बनाएको छ। त्यस्तै चार जनाभन्दा कमलाई १५ केजी चामल, एक केजी दाल एक केजी नुन र आधा लिटर तेल वितरण गरेको थियो। वडाबाट आएको राहत चालम खान नमिल्ने भएपछि शुक्रबार बिहान फिर्ता पठाएको मनिकापुर टोल विकास समितिका सदस्य बालाराम शर्माले जनाए। मनिकापुरका १६ जना गरिब तथा विपन्न समुदायले राहत पाएका थिए।

‘चामल म्याद गुज्रिएको थियो,’ स्थानीय सहवीर पुनले भने, ‘खाँदा पनि गन्हाउने थियो।’ म्याद सकिएका चामल खाद्य व्यवस्था तथा व्यापार कम्पनी सुर्खेतले साटि दिएको स्थानीय वीरबहादुर बुढाले बताए। ‘पहिला चामल खान नमिल्ने थियो,’ उनले भने, ‘साटेको चामल राम्रो छ।’ यता खाद्य व्यवस्था तथा व्यापार कम्पनी सुर्खेतका प्रमुख भीम थापाले चामल फिर्ता ल्याएर अर्काे चामल दिएको स्वीकार गरे। ‘हामीले खान नमिल्ने चामल दिएका थिएनौं,’ उनले भने, ‘सर्वसाधारणले फिर्ता गर्ने भनेपछि अर्काे फेरि दिएका छौं।’ ‘हामीसँग थोरै पूरानो चामल छ,’ उनले भने, ‘कोही पूरानो चामल खोज्न आउने हुन्छ, त्यस्तोलाई दिन्छौं।’

यदी संस्थानबाट गएको चामलमा कुनै कैफियत देखिए तत्काल चामल साट्न उनले सबैलाई आग्रहसमेत गरे। ‘शुक्रबार बिहान गएर चामल साटेका छौं,’ प्रमुख थापाले भने। प्याक गरेको चामल २४ महिनासम्म खान मिल्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनी सुर्खेतले जनाएको छ। यता वडाध्यक्ष रत्न बुढाले भने खाद्य व्यवस्था तथा व्यापार कम्पनी सुर्खेतबाट आएको चामल नहेरि सीधै वितरण गरेको प्रतिक्रिया दिए। साथै खाद्य व्यवस्था तथा व्यापार कम्पनी सुर्खेतले वितरण गरेको चामलमा उत्पादन र म्याद सकिने मिति स्पष्ट लेखिएको छैन। जसले सर्वसाधारणले झनै शंका पैदा भएको छ।

भनेभन्दा कम राहत
कोरोना भाइरसका कारण मुलुक बन्दाबन्दी (लकडाउन) लगातर बढेपछि स्थानीय सरकारले मजदुर तथा विपन्न परिवारलाई राहत वितरण गरिरहेका छन्। वीरेन्द्रनगर नगरपालिका–१० ले आफ्ना वडाका ६ सय घर परिवार मजदुर तथा विपन्नलाई राहत वितरण गरेको छ। तर राहत वितरण गर्दा भने बराबरको राहत नपाएको स्थानीयको गुनासो छ।
वडाले बनाएको मापदण्डभन्दा कम पाएका स्थानीयहरूले बताएका छन्। मनकामना मनिकापुरका सहवीर पुनले दुई केजी चामलसहित ३० केजी चालम, एक केजी नुन, आधा लिटर तेल पाउनु पर्ने हो। आफूले दुई किलो कम आठ सय ग्राम मात्र दाल पाएको गुनासो गरे। ‘दुई किलो भनिएको थियो,’ उनले भने, ‘तर भने जति पाएन।’

मनकामना मनिकापुर टोल विकास समितिका सदस्य बालाराम शर्माले चामल कम नभए पनि दाल प्रायः कम भएको बताए। उनका अनुसार एक घरमा एक केजीसम्म दाल कम छ। साथै उनले सबै विपन्न परिवारले राहत पाउन नसकेको बताए। वडाले तौलिएर नदिएको र प्लास्टिकको थैलीमा दिएकाले तलमाथि पर्न गएको हुन सक्ने वडाध्यक्ष रत्न बुढाले जनाए।

‘राहत नगरपालिकाले दिएको हो,’ उनले भने, ‘वडाले समन्वय गरेर टोल विकास समितिलाई जिम्मा दिएको हो।’ उनका अनुसार उक्त वडामा आठ लाख ६५ हजार रूपैयाँ राहत वितरणमा खर्च भएको छ।

 

प्रकाशित: २८ चैत्र २०७६ ०९:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App