टीकापुर- लम्कीचुहा नगरपालिकाले क्वारेन्टाइनमा राखेका व्यक्तिहरुलाई म्याद गुज्रिएको बिस्कुट खुवाएको पाइएको छ। नगरपालिकाले लम्की बहुमुखी क्याम्पसस्थित क्वारेन्टाइनमा रहेका ५२ जना व्यक्तिहरुलाई यस्तो बिस्कुट खुवाएको पाइएको हो।
ती व्यक्तिहरुलाई सुनसरीको दुहबीमा रहेको एशियन बिस्कुटले सन् २०१९ जुलाई ९ तारिखमा उत्पादन गरेको फिडकिड ग्लुकोज बिस्कुट खुवाएको पाइएको छ। सो बिस्कुटको उपभोग्य मिति सन् २०२० मार्च ९ तारिखसम्म मात्रै रहेको छ। सो क्वारेन्टाइनको सम्पूर्ण व्यवस्थापनका लागि नरगपालिकाले वडाध्यक्ष जनक बमको संयोजकत्वमा १२ सदस्यीय व्यवस्थापन समिति गठन गरेको छ। समितिले कर्मचारीहरुलाई जिम्मेवारी तोकेको छ।
वडा सचिव विष्णुकान्त प्याकुरेलले सो बिस्कुट स्थानीय पाण्डे किराना पसलबाट खरिद गरिएको बताए। उनले एउटा पेटी मात्रै त्यस्तो भेटिएको दाबी गरे। ‘एक दिन एउटा पेटी मात्रै भेटिएको हो’ उनले भने–‘वितरण गर्नुभन्दा पहिल्यै थाहा पाएर फिर्ता गरिसक्यौं।’ व्यवस्थापन समितिका संयोजक समेत रहेका वडाध्यक्ष बमले बजार बन्द भएका कारण हतारमा किन्दा त्यस्तो समस्या भएको बताए।
मेयर महादेव बजगाईले क्वारेन्टाइनमा म्याद गुज्रिएको बिस्कुट पुगेको स्वीकारेका छन्। उनले कुनै व्यक्तिलाई वितरण गर्नु पहिले नै बिस्कुट फिर्ता गरेको जानकारी दिए। ‘त्यो कुरा मैले पनि हेरे’ उनले भने–‘मैले तत्काल नै हटाउन लगाएको हुँ।’ उनले स्थानीय ब्यापारीलाई समेत त्यस्ता सामग्री किनबेचमा रोक लगाउन निर्देशन दिएको बताए।
नगरपालिकाले प्रतापपुर, तिलकपुर, चिसापानी, लोहारपुर लगायत विभिन्न ६ स्थानमा क्वारेन्टाइन निर्माण गरेको छ। ती विभिन्न क्वारेन्टाइनमा १७५ जना रहेका छन्। उनीहरुको खानपान र बसोबासको राम्रो व्यवस्था गरिएको मेयर बजगाईले दाबी गरे।
प्रकाशित: २७ चैत्र २०७६ ०९:२८ बिहीबार