९ असार २०८१ आइतबार
image/svg+xml
समाज

चेपाङ बस्तीमा दादुराको महामारी, दुई बालबालिकाको मृत्यु

धादिङको चेपाङ बेस्तीमा फैलिएको दादुराविरुद्धको खोप लगाउँदै स्वास्थ्यकर्मीको टोली । तस्बिर सौजन्य : नवराज छत्कुली

धादिङ- दक्षिणी धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ६ को चेपाङ बस्तीहरुमा डेढ महिनादेखि फैलिएको दादुराबाट दुई बालबालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा बेनिघाट रोराङ गाउँपालिका–६ कि २९ महिने बालिका अनिसा चेपाङ र वडा नं ४ का आठ महिने शिशु सुशान्त चेपाङ रहेको गाउँपालिकाका स्वास्थ्य प्रमुख शंकरबाबु दुवाडीले बताए। अनिसाको चैत १७ गते र सुशान्तको चैत ११ गते मृत्यु भएको हो।

गत फागुन ६ गते चेपाङ बस्तीका चार जना बालबालिका उपचारका लागि चरौंदी आधारभूत स्वास्थ्य चौकीमा गएकोमा लक्षणका आधारमा दादुरा हुन सक्ने देखिएपछि विशेष  ध्यान दिएको बेनिघाट रोराङ गाउँपालिकाका स्वास्थ्य संयोजक शंकरबाबु दुवाडीले बताए। ‘गम्भीर बिरामीहरुलाई गाउँपालिकाको एम्बुलेन्सबाट उपचारका लागि कान्ति बाल अस्पताल, काठमाडौं लगिएको थियो,’ संयोजक दुवाडीले भने, ‘सबै बिरामी उपचारपछि घर फर्किएका छन् तर उपचारमा ढिलाई भएका कारण ८ महिना र २९ महिनाका अन्य दुई जना बालबालिकाले ज्यान गुमाउनु प¥यो।’

दादुराको महामारी भएपछि बेनिघाट रोराङ गाउँपालिकाले स्वास्थ्य कार्यालय धादिङमा महामारी नियन्त्रणमा सहयोग गर्न चैत्र १८ गते पत्राचार समेत गरेको स्वास्थ्य संयोजक दुवाडीले बताए। दादुरा रुवेलाको खोप अभियान सुरु भएकै बेला वडा नं. ६ मा पर्ने बुमराङ, रोतेश, सोलडाँडा, सार्लिङ लगायतका चेपाङ बस्तीमा दादुराको महामारी फैलिएको हो। अहिलेसम्म एक सय ५० भन्दा बढी बिरामी परेका छन्। दुई सय जनालाई खोप लगाइएको छ।

बस्तीमा रहेका ६ महिनादेखि १५ वर्ष उमेर समूहका ५० भन्दा बढि बालबालिकामा दादुरा देखिएको छ। गत फागुन १८ गते नै स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा र स्वास्थ्य कार्यालय धादिङको टोलीले दादुराको महामारी भएको निश्चित गरेको थियो। तर महामारी नियन्त्रण गर्न तयारी गरिरहेकै बेला कोरोना भाइरसका कारण अभियान प्रभावित भएको स्वास्थ्य कार्यालय धादिङका प्रमुख डा. भुवन पौडेलले बताए। ‘फागुन १८ गते टोलीले स्थलगत अनुगमन गरी परीक्षणका लागि नमूना संकलन गरेका थियौँ,’ उनले भने, ‘त्यसको रिपोर्ट आउनासाथ देश लकडाउन भएकोले अभियान प्रभावित हुन पुग्यो।’

यता गाउँपालिकाको पत्र प्राप्त भएपनि कार्यालयसंग दादुरा नियन्त्रण अभियान सञ्चालन गर्न श्रोत साधन नभएको भन्दै बागमती प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालयमा जानकारी गराई प्रक्रियाअघि बढाइएकोमा कोरोना भाइरसका कारण काम प्रभावित भएको छ। गाउँपालिकाले उपलव्ध श्रोत र साधनको आधारमा दादुरा प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा उपलव्ध गराइरहेको भएपनि महामारी नियन्त्रण गर्न गाउँपालिकाले नसक्ने भएपछि स्वास्थ्य कार्यालय धादिङसंग आग्रह गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण भट्टराईले बताए।

कोरोना भाइरस (कोभिड–१९) का कारण सिंगो विश्व त्रसित भैरहेका बेला दादुराको महामारीले चेपाङ बस्तीमा अझ पीडा थपेको छ। विपन्न समुदायका चेपाङहरु अशिक्षाका कारण आफूहरुले बालबालिकालाई खोप लगाउन पर्छ भन्ने ज्ञान नभएको अभिभावकहरु नै बताउँछन्। दादुराका कारण गाउँका सबै बालबालिकामा दादुरा देखिएपछि गाउँपालिका अन्तरगतको स्वास्थ्य शाखाले तथ्यांक संकलन, उपचार, नमूना परीक्षण गरि सचेतनाको कार्यक्रम सञ्चालन तथा घरदैलो सेवा तथा खोप कार्यक्रम सञ्चालन गरेको गाउँपालिकाले जनाएको छ।
 

प्रकाशित: २३ चैत्र २०७६ १२:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App