२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

आपूर्ति र व्यवस्थापन बारे बुझ्न हप्तामा २ पटक अनुगमन

ताप्लेजुङ- दैनिक उपभोग्य बस्तुको उत्पादन, आयात, मौज्दात, आपूर्ति र व्यवस्थापनलाई नियमन गर्ने गरी अब हरेक हप्तामा कम्तिमा २ पटक ताप्लेजुङका बजार/पसल अनुगमन गरिने भएको छ। संक्रामक अवधिलाई मध्यनजर गरी दैनिक उपभोग्य बस्तुको आपूर्ति व्यवस्थापन सहज बनाउन प्रदेश नं १ सरकारको परिपत्र अनुसार गठित ताप्लेजुङ समितिले कार्ययोजना बनाई बजार अनुगमन गर्ने निर्णय लिएको हो।

समिति संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी केशव खतिवडाले प्रदेश बजार अनुगमन नियमावली २०७६ को अधिनमा रही कार्ययोजना तयार गरेर‘एक्सन’मा जाने बताए। खतिवडाको संयोजकत्वमा गठित समितिले अनुगमनका साथै दैनिक उपभोग्य बस्तु, ईन्धन र एलपी ग्याँसको आपूर्ति र मौज्दातको विवरण समेत तयार पार्ने भएको छ।

यसका लागि सम्बन्धित जिल्लामा आपूर्ति गर्ने व्यक्ति तथा संस्थाहरुको ठेगाना तथा सम्पर्क नम्बर अद्यावधिक गरिने समितिका सदस्य सचिव एवम् घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङका प्रमुख देउप्रकाश तामाङले जानकारी दिए। संक्रामक अवधिको मौका छोपी हुन सक्ने अनियन्त्रित बजार प्रभाव र कृतिम अभावसहित अनावश्यक भण्डार रोक्न समितिले कार्ययोजना बनाई काममा खटिने नीति लिएको तामाङले जानकारी दिए।

संक्रामक अवधिमा दैनिक उपभोग्य बस्तु तथा सेवासंग सम्बन्धित कर्मचारी तथा मजदुरहरुलाई सम्बन्धित उद्योग तथा सेवा प्रदायक संस्थाले नाम, उमेर, फोटो, ठेगाना र काम गर्ने समयावधि खुलाएर परिचय पत्रको व्यवस्था गर्नुपर्ने गरी प्रदेश सरकारले परिपत्र गरेको छ। यस्तो परिचय पत्र बाहकलाई सुरक्षाकर्मीले आवत जावतमा रोकटोक नगर्ने गरी गरिएको व्यवस्थाको सहजीकरण समेत यो समितिले गर्ने कार्यदेश अनुसार पाएको छ।

लडडाउनको अवधिमा ठूला÷ठूला सुपरमार्केटहरुलाई दैनिक उपभोग्य बस्तु र मोवाईल भ्यानमार्फत बिक्री वितरणको व्यवस्था गर्ने कार्यको नियमन र सहजीकरण समेत यो समितिले गर्ने जिम्मेवारी पाएको छ। खाद्य बस्तु, इन्धन लगायतका अत्यावश्यकीय बस्तुहरुको अन्तर जिल्ला सहज आपूर्तिका लागि पनि यो समितिले आवश्यक कार्यविधि बनाई आपूर्ति कार्यविधि स्वीकृत गरी लागू गर्ने अधिकार पाएको छ। अन्तर प्रदेश आयात÷निर्यातका लागि भने दैनिक उपभोग्य बस्तु आपूर्ति व्यवस्थापन प्रदेश निर्देशक समितिले नेपाल सरकारमार्फत कार्य गर्ने भनेको छ।

प्रदेश नं १ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदीसप्रसाद कुसियतको संयोजकत्वमाा प्रदेश निर्देशक समिति गठन भएको छ।

 

प्रकाशित: २१ चैत्र २०७६ १०:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App