२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

फुङ्लिङ नगरका जनप्रतिनिधिको मासिक तलब कोरोना राहत कोषमा

ताप्लेजुङ- सबै जनप्रतिनिधिको १ महिना बराबरको तलब सुबिधा कोषमा जम्मा गर्दै ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले २० लाख रुपैयाँको कोरोना भाइरस रोकथाम तथा राहत कोष खडा गरेको छ। नगर कार्यपालिकाको ४८ औं बैठकले नगरपालिकाभित्रका ६० जना जनप्रतिनिधिको १ महिनाको तलबमा नगरको रकम थप गरी २० लाख रुपैयाँको कोरोना भाइरस रोकथाम तथा राहत कोष बनाएको नगरपालिकाका प्रवक्ता मोहन न्यौपानेले जानकारी दिए।

वडा नं २ का वडाध्यक्ष समेत रहेका प्रवक्ता न्यौपानेका अनुसार हालको स्थितिमा रोजगारीको अभावमा गुजारा चलाउन नसक्ने व्यक्तिहरुलाई दिईने दैनिक उपभोग्य बस्तुको प्याकेज समेत घोषणा गरिएको छ। जस अनुसार ४ जनासम्म सदस्य भएको घरपरिवारलाई १५ किलो चामल, २ किलो दाल, १ लिटर तेल र १ किलो नुन दिईने छ।

यस्तै ४ भन्दा बढी सदस्य भएको घर परिवारलाई २५ किलो चामल, ३ किलो दाल, २ लिटर तेल र २ किलो नुन वितरण गरिने छ। यो राहत प्याकेज चैत २५ गतेसम्मका लागि मात्र भएको नगरपालिकाले जनाएको छ। नगरप्रमुख छत्रपति प्याकुरेलले लकडाउनका कारण रोजगारी गुमेर गुजारा चलाउन समस्या परेका परिवारको पहिचानका लागि वडा स्तरीय समितिले काम गरिरहेको र उसको सिफारिसका आधारमा नगर कार्यपालिकाले राहत पाउन योग्यहरुको अन्तिम नामावली तयार पारी राहत प्याकेज वितरण गर्ने जानकारी दिए।

प्रकाशित: १८ चैत्र २०७६ ११:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App