८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

सुत्केरीलाई घरमै पोषिलो खानेकुरा र भाले

सुत्केरी भेटकाक्रममा खाल्लेकी सुत्केरी जिरादेबी बस्नेतलाई पोषिलो आहार प्रदान गर्दै वडाध्यक्ष डिल्लीकुमार राई लगायत।

खोटाङ – दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेकी सुत्केरी जिरादेबी बस्नेतको घरमा आइतबार बेग्लै माहोल बन्यो। आमा समुहमा आवद्ध गाउँभरीका महिला बस्नेतको घरमा भेला भएका थिए। भाले, चामल, गेडागुडी, फलफुल र सागपात बोकेर सुत्केरी भेट्न पुगेका महिला समुहको भीडमा वडाध्यक्ष डिल्लीकुमार राई र एचए सन्तोष भट्टराई पनि सहभागी थिए। 

गाउँघरमा कोही सुत्केरी भए ‘भेटघाट गर्न वा आमा र नवजात शिशुको स्वास्थ्य अवस्था हेर्न’ जानु सामान्य नै हो। तर उनीहरू सामुहिक रूपमा सुत्केरी जिरादेबीको घरमा पुग्नुपर्ने उद्धेश्य फरक छ। आमा र बच्चा हेर्न मात्र नभएर स्थानीय भिमसेनज्योती समुह ‘गर्भवती तथा सुत्केरी आमा भेटघाट’ कार्यक्रमका सिलसिलामा जिरादेबीको घरमा पुगेका हुन्। साविकको खाल्ले–५ की जिरादेबीले जुम्ल्याहा छोरी जन्माइन्।

उनले छोरी जन्माएको केही दिनपछि भिमसेनज्योती आमा समुहको टोली सुत्केरी भेट गर्न पुगेका हुन्। सुत्केरी अवस्थाका आमाका लागि आवश्यक पोषणयुक्त खानेकुराको अभाव पुर्ती गर्दै आमा र बच्चाको स्वस्थ स्वास्थ्यका लागि पोषिलो खानेकुरा लिएर भेट गर्ने कार्यक्रम सुरू गर्ने निर्णय अनुसार सुत्केरी आमा भेटघाटमा पुगेको भिमसेनज्योती आमा समुहकी अध्यक्ष ढाका खत्रीले बताइन्। जिरादेबीले महिना दिनअघि जुम्ल्याहा बच्चालाई जन्म दिएकी हुन्। 

गाउँघरमा सबै परिवारको आर्थिक अवस्था समान छैनन्। हुने खाने परिवारलाई सुत्केरीका लागि पोषिलो खानेकुरा जुटाउन समस्या हुन्न। तर, वर्षभरी खान धौ–धौ पर्ने परिवारमा सुत्केरी भए पोषिलो खानेकुरा जुटाउन सहज छैन। सुत्केरी अवस्थामा पोषणको मात्रा नपुगे आमा र बच्चाको स्वास्थ्यमा नकरात्मक असर पर्न सक्ने भएकाले लफ्याङमा पहिलोपल्ट गर्भवती तथा सुत्केरीलाई भेट गर्ने कार्यक्रम सुरू गरिएको अध्यक्ष खत्रीले बताइन्। आमा समूका अनुसार निर्धारित कार्यक्रम अनुसार गाउँका गर्भवती महिलालाई कम्तीमा एक पटक र सुत्केरीलाई पनि कम्तीमा एक पटक पोषिलो खानेकुरा सहित भेटघाट गरिन्छ। आमा समुहको सुत्केरी भेटले आर्थिक अवस्था नाजुक भएका परिवारका सुत्केरी सबैभन्दा बढि लाभान्वित भएका छन् ।

 ‘सुत्केरीलाई पोषिलो खानेकुरा सहित भेटघाट गर्ने प्रचलन पहिलोपल्ट सुरू गरिएको हो,’ महिला स्वास्थ्य स्वयंसेविका समेत रहेकी खत्रीले भनिन्, ‘हामीले सदस्यबाट सय/पचास उठाएर दुई हजार पच्चिसय सय जुटाएर पोषिलो आहार खरिद गरेर सुत्केरी भेटमा गएका हौँ।’ स्वास्थ्यचौकी र वडा कार्यालयसँगको सहकार्यमा आमा समूह पोषिलो आहार सहित सुत्केरी भेटमा गएको हो। 

आमा समूहले आफ्ना सदस्यबाट ५०/१०० का दरले रकम संकलन गरेर सुत्केरीका लागि पोषिलो खानेकुरा जुटाएको हो। आमा समुहले लगेको अन्न, सागपात, पशुजन्य र गेडागुडी वडाध्यक्ष चाम्लिङ र अहेव भट्टराईले सुत्केरीलाई प्रदान गरेका छन्। सुत्केरी भेटकाक्रममा आमा समुहले गाउँमै पाइने पोषिलो थोकवस्तु खरिद गरेर लैजाने व्यवस्था मिलाइएको जनाएको छ। आमा समुहले केही समयपछि साविकको खाल्ले–५ की गर्भवती महिलालाई भेट गर्ने तयारी गरेको छ। 
आमा र बच्चाको पोषण स्थितिमा सुधार ल्याउन उपयुक्त आहार व्यवहारको सुनिश्चितता गर्ने सोच अनुसार आमा समुहले सुत्केरी भेट कार्यक्रम सुरू गरेको एचए भट्टराईले बताए।

 ‘यो सुनौला हजार दिन सम्वन्धी व्यवहारलाई प्रवद्र्धन गर्ने आमा समूहको अभियान हो। यसले हरेक बार खाना चार भन्ने नारालाई पनि व्यवहारमा उतार्न सहयोग पु-याउँछ,’ भट्टराईले भने, ‘सुत्केरी भेटकाक्रममा पोषणयुक्त खाना, खोप सेवा, सरसफाइ, आमा र बच्चाको बृद्धि अनुगमन लगायतका विषयमा पनि सूचना र सन्देश प्रवाह हुन्छ।’ 

गाउँघरमै पाइने पोषिलो आहार खरिद गर्दा कम खर्चिलो र स्वास्थ्यका लागि लाभदायक हुने समूहले जनाएको छ। सदस्यबाट रकम जुटाएर गर्भवती तथा सुत्केरी भेट कार्यक्रम सुरू गरेको आमा समूहको अभियानलाई दिर्घकालिन बनाउन सहयोग जुटाउने पहल भइरहेको छ। श्रोत जुटे सञ्चालन गर्ने जिम्मा आमा समूहलाई नै दिइने स्वास्थ्यकर्मी भट्टराईले बताए। 

 

प्रकाशित: १० चैत्र २०७६ ०९:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App