८ वैशाख २०८१ शनिबार
समाज

विद्यालय भवनमा आइसोलेसन कक्ष स्थापना

क्वारेन्टाइन बनाउन लागिएको माउण्ट एभरेष्ट माविको भवन। तस्बिरः नागरिक

म्याग्दी - कोरोना भाइरस (कोभिड–१९) संक्रमणको पूर्वतयारीका लागि सदरमुकाम बेनीको एक निजी विद्यालय भवनलाई क्वारेन्टाइन निर्माण गरिएको छ। नगरपालिका–८ हिलसाइडमा माउण्ट एभरेष्ट माविको भवनका १० वटा कोठामा बेनी अस्पतालले क्वारेन्टाइन तयार गरेको छ। विद्यालयका कक्षा कोडा खाली रहेकाले ३३ वटा कोठा भएको भवनलाई क्वारेन्टाइनको रूपमा प्रयोग गर्ने दिने निर्णय गरेको विद्यालयका सञ्चालक समितिका अध्यक्ष चन्द्रकुमार केसीले जानकारी दिए।

‘कोरोना भाइरसको संक्रमण हुन नदिनका लागि सबैले पूर्वतयारी गर्नुपर्ने आवश्यकता छ। त्यसैले विद्यालय भवनका साथै हामीले आवश्यकताअनुसार थप सहयोग गर्न तयार छौ,’ केसीले भने। पर्खाल लगाइएको अवस्थामा सुरक्षित रहेको भवनमा शौचालय, खानेपानी, विद्युत्लगायतका सुविधा रहेका छन्। १० वटा कोठामा कम्तिमा ३० देखि ४० जनासम्म बिरामीलाई राख्‍ने क्षमता भएपनि तत्काल भवनलाई मर्मत सम्भार गरेर पाँचवटा कोठामा १० बेड राख्ने बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बे कटुवालले बताए। पूर्वतयारीमा जुटेको अवस्थामा विद्यालयले आफ्नो संरचना नै उपलब्ध गराएपछि सहज भएको उनले बताए।

बेनी नगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, म्याग्दी उद्योग वाणिज्य संघ र बेनी अस्पतालका प्रतिनिधिहरू सहभागितामा बसेको बैठकले म्याग्दी तथा आसपासका क्षेत्रका बिरामीलाई लक्षित गरी छुट्टै अस्पताल बनाउन लागिएको अस्पतालका डाक्टर मनोज घिमिरेले बताए। उक्त अस्पतालमा प्रवेश गर्नेलाई समेत कडा निगरानीमा राखिने उनको भनाइ छ। बैठकमा आफ्नै खर्चमा बस्न चाहनेलाई समेत आवश्यकताअनुसार सुविधा उपलब्ध गराउन सकिने बताइएको छ।

संघीय तथा प्रदेश सरकारले जिल्लामा आवश्यक पूर्वाधार बनाउन निर्देशन दिएपनि बेनी अस्पतालको भवन निर्माणधिन अवस्थामा रहेकाले संरचनाको अभाव भएको थियो। तर विद्यालयको सुरक्षित भवन प्राप्त गरेपछि सहज भएको बताइएको छ। दैविक प्रकोप उद्वार तथा व्यवस्थापन समितिको बैठकमा प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले जिल्ला भित्रिने यात्रुलाई चेकजाँचसहित आवश्यकपरे हेल्थ डेस्क समेत राख्नुपर्ने बताए।

संक्रमणको जोखिमलाई विशेष प्राथमिकतामा राखेर दैनिक उपभोग्य सामग्रीको अभाव हुन नदिने, कालोबजारीको गुनासो आएमा तत्काल कारबाही गर्ने तथा कृतिम अभाव हुन नदिन दैनिक विभिन्न ढंगले बजार क्षेत्रलाई निगरानीमा राख्ने बताए। प्रजिअ ढकालले जिल्लाका सबै स्थानीय तहलाई कोरोना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गरेर पूर्वतयारीमा जुट्न आग्रह गरेका छन्।

प्रकाशित: ९ चैत्र २०७६ ०४:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App