रौतहट - भारतमा कोरोनाको प्रभाव बढ्दै गएपछि भारतबाट नेपाल फर्किनेको संख्या बढेको छ। कामको खोजी, रोजगार तथा अध्ययनका लागि भारत गएकाहरू धमाधम घर फर्किन थालेका छन्। भारतबाट घर फिर्ता आउँदै गरेकाहरूलाई रौतहटका विभिन्न नाकामा कोरोनाको स्क्रिनिङ भइरहेको छ। सदरमुकाम गौर, बंकुल, औरैया, राजपुरलगायत नाकामा भारतबाट नेपाल आउनेहरूलाई चेकजाँच गरिँदै छ। हेल्प डेस्क स्थापना गरेरै चेकजाँच भइरहेको रौतहटका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बताएका छन्। सरकारले नाकामा परीक्षण गरे पनि समाजमा भने संक्रमणको डर वा सतर्कताले केही सावधानी अपनाइएको हो।
नेपालबाट भारत पस्ने हरेक नागरिकलाई पनि कम्तीमा ज्वरो नाप्ने काम भइरहेको छ। अहिलेसम्म कम्तीमा १० हजार मानिसको चेकजाँच गरिएको रौतहट प्रजिअ वासुदेव घिमिरेले जानकारी गराए। उनका अनुसार स्क्रिनिङ भइरहेको सीमा नाकामा एउटा एम्बुलेन्स राख्न र चिकित्सकलाई आलोपालो काम गर्ने व्यवस्था मिलाउन स्वास्थ्य कार्यालय गौरलाई निर्देशन दिइएको छ। सीमित साधन र सीमित जनशक्तिबीच स्वास्थ्यकर्मीको टोली अत्यन्त सावधानीपूर्वक सीमा नाकामा परीक्षण गरिरहेका छन्।
भारतको उत्तर प्रदेशबाट आँखाको शल्यक्रिया गराउन आएका दुईजनालाई ज्वरो आएको देखिएको बाहेक अन्य मानिसमा ज्वरोलगायत कोरोनाको लक्षणसित मिल्ने केही पनि नदेखिएको स्वास्थ्यकर्मीको भनाइ छ। गौर नाकास्थित हेल्थ डेस्कमा कार्यरत स्वास्थ्यकर्मी निशा जयसवालले अहिलेसम्म कोरोनाको लक्षण देखिने बिरामी नभेटिएको तर सतर्कतापूर्वक आफूहरूले काम गरिरहेको बताइन्।
प्रकाशित: ८ चैत्र २०७६ ०३:१७ शनिबार