coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

पोखरामा चितुवा आक्रमणमा परि तीन घाईते

पोखरा- सहर छिरेको चितुवाले आक्रमण गर्दा कास्कीका वन अधिकृत सहित तीनजना घाईते भएका छन्। पोखरा महानगरपालिका–१३ मियापाटनका खगेन्द्रबहादुर गुरुङको घरको वाथरुममा पसेको चितुवालाई विहीबार बिहान नियन्त्रणमा लिने क्रममा मान्छेमाथि आक्रमण गरेको थियो।

जिल्ला प्रहरी कार्यालय कास्कीका सहप्रवक्ता नरहरी अधिकारीका अनुसार चितुवाको आक्रमणमा परेर कास्कीका वन अधिकृत रामकाजी श्रेष्ठ, स्थानीयबासी श्याम थापा र सशस्त्र प्रहरीका हवल्दार फटिक मगर घाइते भएका थिए। ती मध्ये थापाको अहिले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको अधिकारीले बताए। सशस्त्रका हवल्दार मगर आफन्तकोमा गएका थिए। वन अधिकृत श्रेष्ठ र सशस्त्रका मगरको अवस्था सामान्य रहेको छ।

‘घरभित्र चितुवा पसेको थाहा पाएपछि स्थानीयले घेरा हालेका रहेछन्। त्यसपछि वन कार्यालयबाट गएको समूहले नियन्त्रणमा लिने प्रयास गर्दा चितुवाले नै आक्रमण गरेछ,’ अधिकारीले भने, ‘तर सचेतना अपनाउँदा खासै ठूलो क्षति हुन पाएन।’ बिहानै ७ बजे गुरुङको छिमेकीको छतमा देखिएको चितुवा स्थानीयको होहल्लापछि भाग्ने क्रममा गुरुङको बाथरुममा छिरेको थियो।

वन अधिकृत श्रेष्ठका अनुसार वाथरुममा छिरेको चितुवालाई भेन्टिलेसनबाट हेरेर ढोकाको चुकुल लगाउने क्रममा उफ्रेर आक्रमण गरेको थियो। ‘मैले वाथरुमको भेन्टिलेसनबाट हेरेर चुकुल लगाउन मात्र खोजेको थिए। तर, चितुवाले उफ्रेर भेन्टिलेसनबाटै पञ्जा बाहिर निकाल्यो। नंग्राले मेरो अनुहरमा भेटिहाल्यो,’ उनले भने, ‘धेरै नै चोट त लाग्न पाएन। तर, पञ्जाले अनुहारमा कोतर्यो। अरुलाई पनि त्यसैगरि आक्रमण गरेको हो।’

वाथरुममा थुनिएको चितुवालाई खोरमा पारेर नियन्त्रणमा लिइएको उनले बताए। श्रेष्ठका अनुसार खोर लागेर वाथरुमको ढोकामा जोडेर चितुवालाई खोरमा पारिएको थियो। करिब ३ वर्ष उमेरको पोथी चितुवा नियन्त्रणमा लिएको उनले बताए। नियन्त्रणमा रहेको चितुवालाई चितवनको राष्ट्रिय निकुञ्जको वनमा लगेर छाड्ने तयारी भईरहेको श्रेष्ठले जानकारी दिए।

‘आहाराको खोजीमा बजार पसेको अनुमान छ। कुकुर, बाख्रा, खरायो जस्ता आहाराको खोजीमा भौतारिएको चितुवा रातीको सुनसान समयमा बजार पस्यो, तर, उज्यालो भएपछि फर्किने बाटो पाएन। अनि घरभित्र छिरेको अनुमान छ,’ उनले भने, ‘पछिल्लो समय वनको आकार फैलिएपनि वनमा जनावर बिस्थापित छन्। त्यसले गर्दा चितुवाले वनमा आहारा पाउन छाड्दा बस्ती पस्ने गरेको छ।’ यसअघि केहीदिन अघि पनि पोखरा–३२ मै चितुवाले बच्चामाथि आक्रमण गरेको थियो। चितुवाको आक्रमण तनहुँमा भने नियमित झै भईरहेको उनले बताए।

प्रकाशित: ६ चैत्र २०७६ ०९:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App