२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

भेरी अस्पतालका तीन काेराेना शंकास्पद विरामीको नमुना काठमाडौं पठाइयो

भेरी अस्पताल नेपालगन्जमा स्थापना गरिएको आइसोलेसन वार्ड । तस्बिर : अर्जुन/नागरिक

नेपालगन्ज- कोरोना भाइरसको संक्रमण फैलिन नदिन सतर्कता अपनाइएका बेलामा नेपालगन्जस्थित भेरी अस्पतालले तीन शंकास्पद व्यक्तिको नमुना काठमाडौं पठाएको छ। अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.प्रकाश थापाले तीन जना शंकास्पद विरामीको ‘स्वाब’ परिक्षणका लागि आइतबार काठमाडौं पठाइएको जानकारी दिए। ‘तीन जना विरामीको स्वाव परिक्षणका लागि काठमाडौं पठाएका छौं,’ उनले भने।

भेरी अस्पतालमा मास्क र सेनिटाइजरको मौज्दात रित्तियो, बजारमा कृतिम अभाव

अस्पतालमा भर्ना हुन आएका शंकास्पद विरामीको नमुना परिक्षण गरिएको थापाले बताए। उनले थपे, ‘शंकास्पद बिरामी मात्र हुन्, पोजिटिभ नै हुन्छ भन्ने छैन, अलिकति समस्या देखिएको हुँदा नमुना पठाइएको हो।’ शंकास्पद विरामी आएपछि डाक्टरले अवस्था हेरेर मात्र परिक्षणका लागि स्वाब पठाउने उनले प्रष्ट्याए। यसअघि दुई जना शंकास्पद विरामीको स्वाब परिक्षणका लागि काठमाडौं पठाइए पनि ‘नेगेटिभ’ देखिएको अस्पतालले जनाएको छ। नेपालगन्जमा अहिलेसम्म कोरोना भाइरसको संक्रमण पुष्टी भएका कुनै पनि विरामी फेला परेका छैनन्।

कोरोना भाइरसलाई लक्षित गरेर भेरी अस्पतालमा ६ शैयाको आइसोलेसन वार्ड स्थापना गरिएको छ। आइसोलेसन वार्ड स्थापना गरिए पनि आवश्यक पूर्वाधार र जनशक्ति छैनन्। आइसोलेसन वार्ड तयारी अवस्थामा रहेपनि आवश्यक सामाग्री उपलब्ध नभएको स्वास्थ्यकर्मी बताउँछन्। ‘आइसोलेसन वार्डमा सामाग्री केही छैन, कहाँबाट ल्याउने हो, के गर्ने हो हामीले गर्न सक्ने त अलि अलि गरेका छौं,’ मेसु थापाले भने ‘सामाग्री ल्याउने हो भने ठूलो बजेट आवश्यक छ, सहयोग कहाँबाट ल्याउने हो, कताबाट जुटाउने हो, चुनौतीपूर्ण नै छ।’

अस्पतालमा मास्क र सेनिटाइजरको मौज्दात रित्तिसकेको उनले सुनाए। ‘मास्क र सेनिटाइजर हामीसँग पनि सकियो, बजारमा पनि पाउन छाडिसकेको छ,’ उनले भने ‘काम चलाउ मात्र छ, भोली कुनै केसको लोड बढ्यो भने त्यसले भ्याउँदैन।’

 

 

 

 

प्रकाशित: २ चैत्र २०७६ १४:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App