४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

परीक्षा मर्यादित बनाउन नसक्दा प्रअ पदबाट हटाइए

खोटाङ– खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले विद्यालयको वार्षिक परीक्षालाई मर्यादित तरिकाले सञ्चालन गर्न नसकेको भन्दै दुई प्रअलाई जिम्मेवारीबाट हटाएको छ। बुधबारदेखि सुरु भएको नगरपालिका स्तरिय परीक्षालाई मर्यादित तरिकाले सञ्चालन गर्न नसकेको भन्दै हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको जयरामस्थित दुधकोसी आधारभुत विद्यालयका प्रअ तोपधन राई र हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाको बरगाछी प्राविका प्रअ खेचरबहादुर खड्कालाई प्रअबाट हटाएको हो।

प्रश्नपत्रको गोपनीयता कायम राख्न नसकेको, प्रश्नपत्र बुझ्न आफै नगएको, विद्यालयमा उपस्थित नहुँदा बुधबार एक घण्टा पाँच मिनेट ढिलो परीक्षा सुरु गर्नु परेको आधारमा प्रअ राईलाई पदबाट हटाउने निर्णय गरिएको नगरपालिकाका शिक्षा शाखा संयोजक पदम कार्कीले बताए।

यस्तै, निर्धारित समयमा परीक्षा नै नगराएपछि प्रअ खड्कालाई जिम्मेवारीबाट मुक्त गरिएको नगरपालिकाले जनाएको छ। परीक्षा सञ्चालनकाक्रममा त्रुटी भएपछि नगर शिक्षा शाखाको बैठकबाट बिहीबारदेखि नै लागू हुनेगरी दुबै प्रअलाई जिम्मेवारीबाट हटाइएको हो।

दुधकोसी आधारभुत विद्यालयका प्रअ राई जिम्मेवारीबाट हटाइएपछि मालिकादेबी मावि कदुवाका शिक्षक बेदनाथ तिम्सिनालाई केन्द्राध्यक्षकारुपमा खटाएर बिहीबारको परीक्षा निर्धारित समयमा सुरु गराइएको संयोजक कार्कीले बताए। यस्तै, बरगाछी प्राविको परीक्षा सञ्चालनका लागि दाम्ली माविका शिक्षक सन्तोषकुमार राईलाई केन्द्राध्यक्षकारुपमा खटाएर परीक्षा सुरु गरिएको छ। प्रअ राई विद्यालयमा उपस्थित नभएपछि तत्काल बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले पनि हाजिर नगराउने निर्णय गरेको थियो।

प्रअ राई उपस्थित नहुँदा बिहान ११ बजेबाट सुरु हुनुपर्ने अंग्रेजी विषयको परिक्षा १२ बजेर ५ मिनेट गएपछि सुरु गरिएको बाहुनीडाँडाका वडाध्यक्ष रुद्र राईले बताए। प्रअ खड्काले भने प्रश्नपत्र लिएर गए पनि परीक्षा नै नगराएको नगरपालिकाले जनाएको छ। नगरपालिकाले सम्बन्धित विद्यालयकै प्रअलाई केन्द्राध्यक्षको जिम्मेवारी दिएको थियो।

परीक्षा सञ्चालनकाक्रममा लापरबाही गर्ने प्रअलाई जिम्मेवारीबाट मुक्त मात्र नभएर कारबाही गरिने हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए। ‘उहाँहरुलाई जिम्मेवारीबाट हटाएर मात्र छोडिन्न, स्पष्टीकरण सोध्छौँ चित्तबुझ्दो जवाफ नदिए अन्य कारबाही हुन्छ,’ मेयर राईले भने, ‘भविष्यका कर्णाधार बालबालिकाको भविष्यमाथि खेलबाड गर्ने छुट कसैलाई हुँदैन।’

नगरपालिकाका ११ मावि, १३ आधारभुत विद्यालय र ६४ प्राविमा मर्यादित तरिकाले परीक्षा सञ्चालन भइरहेको जनाइएको छ। नगरपालिकाको छुट्टा–छुट्टै चार टोलीले परीक्षा अनुगमन गरिरहेको संयोजक कार्कीले बताए। शैक्षिक–सत्र २०७६ लाई शैक्षिक सुधार वर्षकारुपमा रुपान्तरण गर्ने प्रतिवद्धता जुटाएको नगरपालिका पदीय आचारण विपरित काम गर्ने शिक्षकलाई कारबाही गर्दै आएको छ।

प्रकाशित: २९ फाल्गुन २०७६ १३:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App