बर्दिया – आलोचकले बेलाबखत उनलाई भन्छन्– युवा हो, युवाको जमातमा हिँड्छ, गुडागर्दी गर्छ र उसको समाजसेवा भनेको ‘हात्तीको जस्तै देखाउने दात’ हो। कुशल नेतृत्व, क्षमता र समाजसेवा नदेख्ने त्यस्ता आलोचकलाई गतिलो जवाफ दिन थालेका छन्, २९ वर्षीय युवा व्यवसायी विमल केसीले।
छाता संगठन निर्माण व्यवसायी संघमा आबद्ध केसीलाई आलोचकका यस्ता कुरालाई चिर्न केही समय गाह्रो भयो। गुन्डागर्दीको बिल्ला भिराइदिँदा प्रहरी र प्रशासनको तारो बन्न पुग्दा कतिपटक व्यवसायमा धक्का पुगेको उनी स्मरण गर्छन्। निर्माण व्यवसायी संघमा नेतृत्व गर्ने उनको क्षमतामा कुठाराघात गर्न नजिककै आलोचक साथीभाइ तल्लीन छन् तर उनी सबै कुरा चिर्दै अघि बढिरहेका छन्। उनको प्रतिभासामु डाह गर्नेहरू भन्दै हिँड्छन्, ‘काँचो उमेरमा नेतृत्व सम्हाल्न सक्दैन।’
‘मेरो दोष हो कि उमेरको दोष, खुट्टाउन गाह्रो भएको छ,’ केसीले सुनाए, ‘मलाई युवा, वृद्ध र सचेत नागरिकको साथ छ, मेरो समूहका युवा अलि बढी होलान्,’ उनले भने, ‘समाज सेवादेखि अन्य गतिविधिमा सफलता मिल्दै आएको छ।’ उमेरकै कारण देखाएर काँचो भन्दा चित्त दुखेर आउने गरेको उनले सुनाए।
गुलरिया नगरपालिका–६ बस्ने २९ वर्षीय केसी र सहकर्मी प्रकाश श्रेष्ठ जिल्लामा हुने समाज सेवाको कामका लागि चौतर्फी आवश्यकता बनिसकेका छन्। युवाको सहभागितामा ७ वर्षअघि ब्लाक बक क्लब स्थापना गरेका थिए उनले। क्लबमार्फत ब्लड कलेक्सन, सरसफाइ र समाजको हितमा अग्रसर हुँदा मिडियामार्फत देशभरमै उनको चर्चा भयो। हरेक स्थानीय तहमा कामको जवाफदेहिता दिनसक्ने गरी काम गरेकाले केसी लोकप्रिय निर्माण व्यवसायी बन्न सफल भएका छन्। मधुवन नगरपालिकामा बनाएको सडककै कारण विपन्न बस्तीमा खुसी ल्यायो भन्दै मधुवन नगरप्रमुख कृष्ण केसीले उनको खुलेर प्रशंसा गरे। स्थानीय सरकारको काममा केसीको हातेमालो रहेको भन्दै नगरप्रमुखले खुलेर प्रशंसा गरेका थिए। उनले बनाएको सडकले मधुवनको एउटा बस्ती हुलाकी मार्गमा जोडिएको छ भने एउटा पक्की घर निर्माण गरी एउटा परिवार हस्तान्तरण गर्दा परिवारमै खुसी छाएको छ।
प्रकाशित: २७ फाल्गुन २०७६ ०३:४१ मंगलबार