६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

नियम उल्लंघन गर्ने दुई हजार सवारीसाधन कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले होली पर्वका अवसरमा उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने एक हजार ९ सय ४१ सवारीसाधनलाई कारबाही गरेको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले सोमबार होली पर्वको अवसर पारेर जथाभावी सवारी चलाउने चालकलाई कारबाही गरेको हो।

कारवाही पर्नेमा एक हजार ६ सय ४५ दुईपांग्रे तथा २ सय ९६ चारपांग्रे सवारीसाधन छन्। महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले मादक पदार्थ सेवन गरी सवारी चलाउने, क्षमताभन्दा धेरै राखेर सवारी चलाउने, मोटरसाइकलमा तीनजना राखेर चलाउने तथा ठूलो आवाज निकालेर तीव्र गतिमा चलाउने चालकलाई कारबाही गरिएको जानकारी दिए।

ट्राफिक प्रहरीले होली पर्वका अवसरमा बिहान ७ देखि साँझ ७ बजेसम्म ७६ स्थानमा विशेष जाँचको व्यवस्था गर्नुका साथै १४ वटा मोबाइल भ्यानबाट समेत जाँच गरेको थियो। महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले होलीको समयमा ठूला दुर्घटना नभए पनि २० वटा दुर्घटना भएको जानकारी दिनुभयो। उक्त दुर्घटनामा १९ जना सामान्य घाइते भएको उनले बताए। ५ सय ६६ ट्राफिक प्रहरीलाई काममा खटाएको थियो।

‘उत्कृष्ट चालक र सहचालकलाई पुरस्कार दिइने
चन्द्रागिरी यातायात प्रालिले सडक दुर्घटना नगराउने उत्कृष्ट चालक तथा सहचालकलाई पुरस्कार दिने भएको छ। प्रालिले सोमबार काठमाडौंमा चालक तथा सहचालक प्रशिक्षण कार्यक्रममा ट्राफिक नियम पालना गर्ने चालक र सहचालकलाई पुरस्कार दिने घोषणा गरेको हो।

सो प्रालिका अध्यक्ष गौतम श्रेष्ठले यात्रुलाई राम्रो सेवा प्रदान गर्ने चालक तथा सहचालकलाई प्रत्येक महिना रु तीन हजारका दरले पुरस्कार दिने घोषणा गर्नुभयो। महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख, प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले सार्वजनिक सवारीसाधनलाई मर्यादित र सुरक्षित बनाउन चालक तथा सहचालकको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे। उनले मादक पदार्थ सेवन, लागूऔषध सेवन गरी सवारी चलाउनेविरुद्ध प्रहरीले पक्राउ गरी मुद्दा चलाएको बताउँदै सजक र संयम भएर सवारी चलाउन आग्रहसमेत गरे।

महानगरीय ट्राफिक प्रहरी प्रभाग कलंकीका प्रमुख, प्रहरी निरीक्षक पुरुषोत्तम कार्कीले चालक र सहचालकलाई पुरस्कार दिँदा उनीहरूमा हौसला बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे। चन्द्रागिरी यातायात हाल चन्द्रागिरिबाट रत्नापार्क चल्दै आएको छ।रासस

प्रकाशित: २७ फाल्गुन २०७६ ०२:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App