२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

गोरखा नगरपालिकाद्वारा श्रमिक महिलाहरु सम्मानित

नगदसहित दोसल्लाले सम्मान गर्दै नगरप्रमुख पन्त । तस्बिर: नरहरि/नागरिक

गोरखा- गोरखा नगरपालिका गोरखाले एक सय ११०औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा श्रम गरेर गुजारा गर्दै आएका महिलाहरुलाई सम्मान गरेको छ। हरेक वडाबाट एक/एक जना प्रतिनिधिमूलक रुपमा अहिले पनि आफैँ श्रम गरेर गुजारा गर्ने श्रमिक महिलाहरुलाई सम्मान गरिएको नगर उपप्रमुख बिनाकुमारी श्रेष्ठले बताइन्। ‘श्रम प्रतिको सम्मान गर्दै अरु महिला दिदी बहिनीहरुलाई पनि काममा प्रेरित गराउन सम्मान गरेका हौँ’ उनले भनिन्।

गोरखा नगरपालिका १ बाट हलिमा खातुन, २ बाट जुना परियार, ३ बाट राधिका कोईराल, ४ बाट राधा रम्तेल, ५ बाट जुना मग्राती, ६ बाट पदमकुमारी श्रेष्ठ, ७ बाट चिनिमाया सर्किनी, ८ बाट मनमाया परियार, ९ बाट पूर्ण कुमारी राना, १० बाट पुतलसी सुर्खेती, १२ बाट ज्योती राई, १३ बाट देउती पन्थ र १४ बाट कान्छीमाया नेपाली सम्मानीत भएका हुन्। दोषल्ला र नगद एक हजार ५० रुपैयाँ सम्मान स्वरुप प्रदान गरिएको गोरखा नगरपालिकाकी अम्बिका घिमिरे (उपाध्याय) ले जानकारी दिइन्। वडा नम्बर ११ बाट नाम सिफारिस हुन बाँकी रहेकाले सिफारिस भएर आएपछि सम्मान गरिने नगरपालिकाले जनाएको छ।

वृहत रुपमा र्‍यालीसहित कार्यक्रम तय गरेको गोरखा नगरपालिकाले कोरोना भाइरसबाट सचेतना अपनाउन जिल्लामा मानिस धेरै भेला हुने कार्यक्रम नगर्न प्रशासनले अनुरोध गरेपछि नगरपालिकाको कार्यालयमै सम्मानीत हुने महिलाहरुलाई मात्र बोलाएर कार्यक्रम गरिएको थियो। नगरउपप्रमुख श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नगरप्रमुख राजनराज पन्तले हिजो भन्दा आज व्यवहारमा पनि महिलाहरुको हक अधिकार धेरै प्राप्ती भएको बताउँदै उपलब्धीको रक्षा गर्दै अघि बढ्नुपर्ने बताए।

श्रमिक महिला दिवसको अवसरमा भएको दौडमा पवित्रा पहिलो
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर गोरखा सदरमुकाममा आइतबार बिहान भएको दौड प्रतियोगितामा पवित्रा बयलकोटी पहिलो भएकी छन्। निर्धारित २.५ किलोमिट दुरी १२ मिनेट १२ सेकेण्डमा पूरा गर्दै बयलकोटी पहिलो बनेकी हुन्। १२ मिनेट २४ सेकेण्डमा निर्धारित दुरी पार गर्दै सबिता पुलामी दोस्रो र १२ मिनेट ४३ सेकेण्डमा पूरा गर्दै सुजिता लामिछाने तेस्रो भइन्।

रोट्रयाक्ट क्लव अफ बज्रमनास्लुले दिबसको अवसर पारेर गोरखा सदरमुकाममा आयोजना गरेको दौडमा पहिलो दोस्रो तेस्रो हुनेहरुले नगद सात, पाँच र तीन हजारको साथमा मेडल, प्रमाण पत्र  पाएका छन्। विजयी धावकहरुलाई गोरखा नगरपालिकाकी उपप्रमुख बिनाकुमारी श्रेष्ठ र जिल्ला प्रहरी कार्यालय गोरखाकी प्रहरी निरीक्षक सिमोन धितालले पुरस्कार प्रदान गरेका थिए। दौडमा १९ जना महिलाहरु सहभागी थिए।
 

 

प्रकाशित: २५ फाल्गुन २०७६ १०:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App