५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

भवन बनेको वर्ष दिनपछि रक्तसञ्चार सेवा सुरु

रक्त सञ्चार केन्द्र उद्घाटनकाक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङ लगायत । तस्बिर: दमन/नागरिक

खोटाङ– खोटाङमा भवन निर्माण भएको वर्ष दिनपछि रक्तसञ्चार केन्द्र (ब्लड बैंक) सञ्चालनमा ल्याइएको छ। २०७५ साल चैत्र २५ गते उद्घाटन गरिएको भवनबाट आइतबारदेखि रक्त सञ्चार सेवा सुरु गरिएको हो।

जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबी चाम्लिङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजाल, जिल्ला समन्वय समितिका उपप्रमुख गोमादेबी खत्री र प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले रक्त दान गर्दै रक्तसञ्चार केन्द्र उद्घाटन गरिएको हो। जिल्ला अस्पतालकै परिषरमा रक्त सञ्चार केन्द्र सञ्चालनमा आएपछि रगतको अभाव झेल्दैआएका बिरामी लाभान्वित हुने डा. रोशन ग्वाँछाले बताए। रेडक्रसमार्फत सञ्चालन हुनेगरी जिल्लामा पहिलो ब्लड बैंक स्थापना गरिएको हो।

ब्लड बैंक अभावमा हालसम्म बिरामीलाई आफन्तबाट वा रेडक्रसले पहिचान गरेको ब्लड ग्रुपबाट रगत जुटाउँदै आएको छ। ‘वाकिङ ब्लड बैंकको भरमा हामीले अस्पतालमा रगतको पूर्ती गर्दै आइरहेका थियौँ, कहिलेकहीँ बिरामीलाई अप्रेसन थिएटरमा लगेर बाहिर रगत खोज्दै हिँड्नुपर्ने बाध्यता थियो,’ डा. ग्वाँछाले भने, ‘अब ब्लडको टेन्सन हटेको छ। यसलाई दिर्घकालिन बनाउनमा ध्यान दिन आवश्यक छ। अबका दिनमा रातको १२ बजे वा १ बजे रगत खोज्दै हिँड्नु पर्दैन। यो जिल्लाका लागि खुसीको कुरा हो।’

प्रसुती गराउने महिला, ठूला दुर्घटनामा परेका घाइते तथा ठूला र जटिल अप्रेशन गर्नुपर्ने बिरामीका लागि आवश्यक रगत व्यवस्थाका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको ४१ लाख खर्चमा चार कोठे रक्तसञ्चार केन्द्रको भवन निर्माण गरिएको हो। रक्तसञ्चार केन्द्रको भवन तयार भए पनि आवश्यक उपकरण नजुट्दा सञ्चालनमा ल्याउन ढिलाइ भइरहेको थियो। रक्तसञ्चार केन्द्रमा १५ दिनसम्म रगत राख्ने र खपत नभएका रगतलाई १५ दिनपछि भक्तपुरमा पठाउने व्यवस्था मिलाइएको रेडक्रसका सभापति कुमारसिं बस्नेतले बताए। आवश्यक परेको समयमा भक्तपुरबाट पुनः रगत ल्याइने रेडक्रसले जनाएको छ। ‘अब जिल्लाबासीले रगत खोज्दै भौतारिनु पर्दैन,’ बस्नेतले भने, ‘एक पटक स्टोर गरेको रगत १५ दिनसम्म यही राख्छौँ, त्यसपछि खपत नभएको रगत जहाजमार्फत भक्तपुर पठाउने व्यवस्था मिलाएका छौँ।’

रक्त सञ्चार केन्द्र दिक्तेलबाट भक्तपुर पठाइएको रगत काठमाडौंमा रहेका खोटाङ्गे नागरिकले सहजताकासाथ उपयोग गर्न पाउने सम्झौता गरिएको जानकारी दिइएको छ। रक्त सञ्चार केन्द्रमा अझै पनि भरपर्दो फ्रिजको अभाव रहेको बताइएको छ। करिब १२ लाख पर्ने फ्रिज ल्याउनका लागि नगरपालिकाले सहयोग गर्ने मेयर रिजालले प्रतिवद्धता जनाएका छन्। अस्पताल विकास समितिका अध्यक्ष रहेका जिसस प्रमुख चाम्लिङले पनि रक्त सञ्चार केन्द्रको प्रभावकारी सेवा प्रवाहका विषयमा सहयोग गर्ने बताए।

आफ्ना लागि आफै रगत खोज्थे बिरामी
ब्लड बैंक अभावमा खोटाङका अधिकांश बिरामीलाई उसकै आफन्त वा नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरीका जवान र रेडक्रसमार्फत आवश्यक रगत जुटाउने गरिएको छ। जिल्लामा ब्लड बैंक नहुँदा बिशेषगरी सुत्केरी हुन आउने महिला समस्या झेल्न बाध्य छन्। सुत्केरी हुनका लागि जिल्ला अस्पतालमा आउने महिलालाई बेड भर्ना अगावै दुई जना रक्तदाता तयार पार्न लगाउने गरिएको छ। सुत्केरी हुनेक्रममा ब्लिडिङ भए र आश्यक परे त्यही दाताबाट रगत झिकेर प्रयोग गरिन्छ, आवश्यक नपरे दातालाई फर्काउने गरिएको छ। अस्पतालले चोटपटक लाग्दा अधिक रक्तश्राव भएका घाइतेका लागि पनि रक्त दाता खोज्न लगाउने गरेको छ।

जिल्ला अस्पतालमा आउने बिरामीका लागि आकस्मिकरुपमा चाहिने रगत जुटाउनका लागि नेपाल रेडक्रसले २०७२ साल जेठमा २८६ जना रक्तदाताको ब्लड ग्रुप र सम्पर्क नम्बरसहितको सूची तयार पारेको थियो। तर, हाल २५÷२६ जनाले मात्र नियमित रगत दिन तयार हुने गरेको रेडक्रसका मन्त्री छत्रकुमार बजिमयले बताए।

 

प्रकाशित: २५ फाल्गुन २०७६ ०९:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App