२२ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

विद्यार्थीलाई चरम यातना दिने शिक्षिका कर्माचार्य गिरफ्तार

काठमाडाैँ - परीक्षामा कम अंक ल्याएको भन्दै विद्यार्थीलाई ब्लेडले हात चिर्न लगाउने शिक्षिकालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँको जडिबुटीस्थित जागृति एकेडेमीकी सामाजिक विषयकी शिक्षिका सीतालक्ष्मी कर्मचार्यले कक्षा ६ र ७ का ३४ विद्यार्थीलाई कम नम्बर ल्याएको भन्दै हात चिर्न लगाएकी थिइन्।

शिक्षिकालाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान शुरु गरेको जानकारी दिए। जागृति एकेडेमीमा विगत १२ वर्षदेखि सोसल साइन्स पढाउँदै आएकी शिक्षिका कर्माचार्यले अघिल्लो साता लिएको नियमित कक्षागत परीक्षामा राम्रो अङ्क ल्याउन नसकेको भन्दै यहीँ फागुन २२ गते बिहीबार विद्यार्थीलाई वेञ्चबाट उठाएर शारीरिक र मानसिक यातना दिएकी थिइन्।

कक्षा ६ मा पढ्ने सविन तामाङले जहिले पनि गाली गर्ने, कुट्ने मिसले त्यस दिन त सिसाकलम ताछ्ने ब्लेडले हात काट्न लगाएको बताए। परीक्षा कै दिन राम्रो अङ्क नल्याउने विद्यार्थीको हात चिरिदिन्छु भनेर धम्की दिएको बताउँदै उनले टेलिफोनमा भने–मिसदेखि सबै साथीहरु डराउँछन्, जाँच कै दिन नम्बर कम ल्याउनेको हात काटिदिन्छु भन्नु भएको थियो, त्यस दिनपछि कम नम्बर ल्याएको भन्दै सबैलाई गाली गर्नुभयो, अनि सबैलाई वेन्चमा उठाउनुभयो, पेन्सिल ताछ्ने ब्लेट झिकेर हात चिर तिमीहरुलाई त्यही हो सजाय भनेर भन्नुभयो, नमान्नेलाई गाली गर्दै आफैँ काटिदिन्छु भनेर तर्साएपछि डराएर हात काट्यौँ।

जडिबुटी बस्ने सविनले २० माक्समा पाँच माक्र्स मात्रै ल्याएपछि हात काट्न लगाएको बताउँदै त्यसरी हात काट्दा तिमीलाई अझ पुगेन भन्दै अझै कडा सजाय दिने भनेर तर्साएको बताए। कक्षागत परीक्षामा उतीर्ण हुन आठ माक्र्स ल्याउनपर्छ तर १५ माक्र्सभन्दा कम ल्याउनेलाई शिक्षिकाले यातना दिएकी छिन्।परीक्षामा पाँच माक्र्स मात्रै ल्याउने सविनको दब्रे नाडीमा २० ठाउँमा छियाछिया हुने गरी चिरिएको उनले बताए। कक्षा ६ कै अरुण तामाङको पनि परीक्षामा पाँच नम्बर मात्रै आएको छ। उनको नाडीमा १६ ठाउँमा, ९.५ अङ्क ल्याउने कक्षा ६ कै अमृत गौतमको नाडीमा सात ठाउँमा, १४.५ नम्बर ल्याएका कक्षा ६ का सार्थक श्रेष्ठको एक ठाउँमा चिरिएको उनीहरुले बताए।

यतिसम्म परीक्षामा १३.५ नम्बर ल्याएको भन्दै सोही विद्यालयका प्रिन्सिपल राजनकुमार श्रेष्ठका छोरा आर्यको नाडीमा एक ठाउँमा चिरिएको छ। शिक्षिका कर्माचार्यले कक्षा ६ का आकृति रेग्मी, रेसिका लामा, आर्य तामाङ, सविन तामाङ, रेश्मा गिरी, अर्पन घिमिरे, कृस्टिन श्रेष्ठ, नीतेशकुमार मण्डल, रोहन बुढाथोकी, सुनीता कार्की, वर्षा बुढाथोकी, सार्थक श्रेष्ठ, आदर्श चौधरी, विपसा गौतम, अस्मी थापामागर, प्रज्ज्वल थापा, रितेश ढुङ्गेल, रेश्मा थापामगर र काजोल यादव, विवेश चौधरी, अजय विके, भीष्म बढू, अमृत गौतम, रोहन गुरुङ र राजु श्रेष्ठ र कक्षा ७ का सामना दाहाल, दृष्टि, प्रदीप्ति, सन्देश, असिम, भुवन, सन्दीप, सुप्रिया र वर्षाको हात काट्न लगाएको स्कुलले जानकारी दिएको छ।

शिक्षिका कर्माचार्यले विद्यार्थीलाई मानसिक यातना दिने गरेको पाइएको छ। सोही दिन शिक्षिका कर्माचार्यले कक्षा ६ मा अध्ययनरत आकृति रेग्मीकी आमा उमा रेग्मीलाई फोन गरेर क्लास टेष्टमा नम्बर कम ल्याएकाले छोरीको हातमा काट्न लगाएको बताउँदै भोलि उनलाई त्यही घाउँमा नुन खुर्सानी लगाइदिन्छु भनिदिनु भन्ने जानकारी दिइन।

विद्यालयका प्रिन्सिपल राजनकुमार श्रेष्ठले भने, केही दिनअघिको क्लास टेष्टमा कम नम्बर ल्याएको भन्दै याताना दिएको पाइयो, कक्षा ६ मा अध्ययनरत २५ र सातमा अध्ययनरत नौ विद्यार्थीको नाडी चिरिएको रहेछ, सोसल साइन्स पढाउने शिक्षिकाबाट यस्तो काम भएको हो, यो क्षमा दिन नसकिने गल्ती भएकाले शिक्षिका कर्माचार्यलाई विद्यालयले कारवाही गर्दै निष्काशन गरेको छ। बिहीबारको घटना भए पनि आफूले शुक्रबार मात्रै थाहा पाएको बताउँदै उनले शिक्षिकाबाट अमानविय व्यवहार भएको बताए। रासस

प्रकाशित: २५ फाल्गुन २०७६ ०७:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App