१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

गुणस्तर शिक्षाका लागि हेलम्बुमा नमुना विद्यालय

सिन्धुपाल्चोक – हेलम्बु गाउँपालिकाले आफ्नो गाउँपालिका भित्रका विद्यार्थीलाई एउटै थलोमा राखेर माध्यामिक तहको शिक्षा दिने उद्देश्यले नमुना सामुदायिक विद्यालय निर्माण थालेको छ । गाउँपालिकाले हेलम्बु मोडेल स्कुलको नाम दिएर इचोकको घोप्टेघ्याङमा विद्यालय भवन निर्माण सुरु गरेको हो ।

गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले सामुदायिक विद्यालयको गुणस्तर सुधार्ने उद्देश्यले माध्यमिक तहको पढाइ एउटै मात्र विद्यालयमा सञ्चालन गर्ने नीति अनुरुप आवासीय विद्यालय भवन निर्माण थालिएको बताए । ‘ यो विद्यालयमा गाउँपालिका भित्रका नौदेखि १२ कक्षाका विद्यार्थी पढ्छन्,’ उनले भने ।

उनका अनुसार पठनपाठन सञ्चालनमा आएपछि गाउँपालिकाका अन्य विद्यालयका माध्यमिक तह खारेज गरिने छ । सीमित स्रोत, साधन एकीकृत गरेर गुणस्तरीय शिक्षा दिन यो नीति अघि सारिएको उनले बताए ।

गाउँपालिकाका अनुसार मोडेल स्कुलका १४ कोठे दुई भवन निर्माण भइरहेका छन् । अर्को चार कोठे भवन छिट्टै निर्माण थाल्ने तयारी छ । यो वर्ष १८ कोठे विद्यालय संरचना तयार हुने अध्यक्ष शेर्पाले जानकारी दिए । चार करोड २५ लाख रुपैयाँ लागतमा विद्यालय भवन बनिरहेका हुन् । नमुना विद्यालयका लागि जिल्ला समन्वय समिति, संघीय सरकारको निशर्त अनुदान र बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयको अनुदानबाट बजेट व्यवस्थापन गरिएको शेर्पाले बताए ।

गाउँपालिकामा हाल नौ वटा मावि विद्यालय छन् । मोडेल स्कुल सञ्चालनमा आएपछि मेलम्चीघ्याङबाहेक अरु आठ विद्यालयबाट मावि तह हटाएर त्यहाँका शिक्षक विद्यार्थी एकीकृत गर्ने नीति गाउँपालिकाले अघि सारेको हो ।  दुई दर्जन जिल्लाका विद्यार्थी पढ्ने मेलम्चीघ्याङ मावि मात्र यथावत राखिने छ ।

‘गुणस्तरीय शिक्षाका लागि मेलम्चीघ्याङ मुलुककै चर्चित सामुदायिक विद्यालय हो । यो हेलम्बुको मात्र नभएर मुलुकै ब्राण्ड नाम बनेको छ,’ अध्यक्ष शेर्पाले भने ।

विद्यार्थी घटिरहेन तर प्रशासनिक र शिक्षक तलब, भत्ता र अन्य खर्च बढिरहने विद्यमान समस्याको दीर्घकालीन समाधान खोज्दै गुणस्तरीय शिक्षा दिन गाउँपालिकाले एक माविको अवधारणा अघि सारेको छ ।  

‘तलब, भत्ता र अन्य अनावश्यक खर्चसमेत घट्छ, यति मात्रै नभएर विद्यार्थी संख्या पनि पुग्छ ।’ अध्यक्ष शेर्पा भन्छन्, ‘छरिएको सीमित स्रोत, साधन एकीकृत गरेपछि एउटै विद्यालयलाई पर्याप्त हुने विश्वास छ ।’
अध्यक्ष शेर्पाका अनुसार हाल सञ्चालन भइरहेका मावि तहका  विद्यार्थी संख्या घटिरहेको छ । केहि विद्यालयले विषयगत शिक्षक अभाव भएर हैरानी खेप्नु परेको समेत उनले सुनाए ।

कारितास नामक संस्थाले मोडेल स्कुलको डिजाइनको काम अघि बढाईरहेको र  २०७८ को नयाँ शैक्षिक सत्रदेखि मोडेल स्कुल सञ्चालनमा ल्याउने योजना सहित गाउँपालिकाले काम गरिरहेको छ । विद्यालयको आठ कक्षा सम्ममा आसपास गाउँका विद्यार्थी पढ्ने छन् । उनीहरु अहिले मावि पढ्न दैनिक चार घण्टासम्म हिँड्न बाध्य छन् । कार्यालय, बैठक कक्ष, तालिम हल, विभिन्न प्रयोगशाला र संग्राहलय रहने मोडेल स्कुलका लागि ४० कोठा आवश्यक पर्ने देखिएको प्रमुख कार्यकारी अधिकृत भीम कोइरालाले बताउँछन् ।

 उनका अनुसार हालको तथ्यांकलाई आधार मान्दा नमुना विद्यालयमा झण्डै एक हजार पाँच सय विद्यार्थी हुने छन् । नौदेखि १२ कक्षा पढ्ने विद्यार्थीलाई आवासमा राखिने छ । आवासको लागि ठुल्ठूला भवन बनाइने छैन । १० जनासम्म विद्यार्थी अट्ने आवास व्यवस्थापन गरिने छ । ‘समूहमा आफ्ना लागि आफैँ पकाएर खाने व्यवस्था मिलाउँदै छ,’ पौडेलले भने ।

आवश्यक तरकारी लगायत खाद्यन्न विद्यालय आफैँले उत्पादन गर्ने कार्ययोजना रहेको उनले जानकारी दिए । उनका अनुसार यसका लागि कृषि फार्म सञ्चालनमा ल्याइने छ । ‘कृषि फार्ममा विद्यार्थीले नै काम गर्ने मोडेल अघि सारिएको छ । यसबाट विद्यार्थीले औपचारिक पढाइसँगै कृषिको ज्ञान र व्यवहारिक शिक्षा समेत पाउँछन्,’ उनले भने।

मोडेल स्कुलको प्रमुखको रुपमा निर्देशक नियूक्त गरिने गाउँपालिकाको अवधारण रहेको छ । गाउँपालिकाले चुस्त ढंगबाट काम गर्न  निर्देशक नियुक्त गर्ने तयारी भइरहेको अध्यक्ष शेर्पाले जानकारी दिए । ‘समग्र प्रशासनीक र व्यवस्थापन निर्देशकले हेर्छन् । प्रधानाध्यापकले पठनपाठनको नेतृत्व गर्ने छन्,’  उनले भने ।

प्रकाशित: २४ फाल्गुन २०७६ १३:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App