२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

होली मनाउनेक्रममा सतर्कता अपनाउन प्रशासनको आग्रह

खोटाङ– जिल्ला प्रशासन कार्यालय खोटाङले होली मनाउनेक्रममा सतर्कता अपनाउन आग्रह गरेको छ। कोरोना भाइरसको सम्भावित संक्रमणको रोकथाम र नियन्त्रणका लागि प्रशासनले फागु पूर्णीमा (होली) मनाउनेक्रममा हुने भीडभाडमा सहभागी नहुन आग्रह गरेको छ।

प्रशासनले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै होली मनाउनेक्रममा भीडभाड हुने र भाइरसको संक्रमणको जोखिम हुने भएकाले सतर्कता अपनाउन भनेको हो। गत बुधबार पनि सार्वजनिक सूचना जारी गर्दै प्रशासनले जात्रा, पर्व, मेला, महोत्सव, ठूला सभा समारोह नगर्न र त्यस्ता ठाउँमा भाग नलिन आग्रह गरेको थियो। प्रशासनले व्यक्तिगत सरसफाइमा ध्यान दिन आग्रह गरेको छ।

कक्षा १ देखि ९ सम्मको परिक्षा सर्‍यो
कोरोना भाइरसको संक्रमण फैलिने त्रासमा जिल्लाका १० वटै स्थानीय तहमा सञ्चालन हुने कक्षा १ देखि ९ सम्मको परिक्षा मिति अगाडि सारिएको छ। आगामी चैत ५ गतेभित्र परिक्षा सम्पन्न गर्नका लागि शिक्षा मन्त्रालयको मन्त्री स्तरिय निर्णय भए अनुसार अधिकांश स्थानीय तहले फागुन २७ गतेबाटै परिक्षा सञ्चालन गर्ने तयारी गरिरहेको छ।

परिक्षा मिति अगाडि सर्दा स्थानीय तहलाई यसको तयारीमा धपेडी भएको छ। कोरोनाको संक्रमणको त्रासका कारण हाल हात मिलाउने प्रचलनलाई कम गर्न थालिएको छ। आपसमा ‘नमस्कार’ गरेपछि ‘हात नमिलाऔं’ भन्न थालिएको छ।

छात्र/छात्रालाई वडाको सेफ्टी मास्क
कोरोना भाइरसको संक्रमणबाट विद्यार्थीलाई बचाउनका लागि हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा वडा कार्यालयले सेफ्टी मास्क वितरण गर्ने तयारी गरेको छ। फागुन २८ गतेदेखि हुने वडाका कक्षा १ देखि कक्षा ९ सम्मका ८४७ विद्यार्थीलाई ९ सय थान मास्क वितरण गर्ने तयारी गरेको हो।

एक मावि, दुई आधारभुत र पाँच वटा प्राविका विद्यार्थीलाई मास्क वितरण गर्ने निर्णय गरिएको वडाध्यक्ष रुद्र राईले बताए। बैठकले परिक्षा सञ्चालनकाक्रममा लाग्ने सम्पूर्ण खर्च वडाकार्यालयले बेहोर्ने निर्णय गरेको छ।

यस बाहेक विभिन्न टोल र बस्तीमा चेतनामुलक सतर्कता अपनाउन सन्देश दिने जनाइएको छ। वडामा तय भइसकेको विवाह बाहेक अन्य भोज भतेर तथा कार्यक्रम अर्को सुचना नभएसम्म नगर्नका लागि आग्रह गरिएको वडाध्यक्ष राईले बताए।

प्रकाशित: २४ फाल्गुन २०७६ ०७:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App