४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

मिर्गौला दातामा महिला बढी

प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला दिएकी समीक्षा संग्रौला ज्ञावली बिहिबार त्रिवि शिक्षण अस्पतालको शश्यामा। तस्बिर सौजन्य: कमल ज्ञावली

काठमाडौं – नेपालमा मिर्गौला दान गर्नेमा पुरुषभन्दा महिला अगाडि छन्। प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुवैपटक मिर्गौला दान गर्ने पनि महिला हुन्। ओलीलाई पहिलोपटक भाइबुहारी पर्ने अन्जन घिमिरे ओलीले मिर्गौला दिएकी थिइन्। प्रधानमन्त्री ओलीलाई दोस्रोपटक मिर्गौला दान गर्ने पनि समीक्षा संगौला ज्ञवाली हुन्।

त्रिवि शिक्षण अस्पतालको तथ्यांक अनुसार मिर्गौला दिनेमा महिला बढी छन् भने लिनेमा पुरुष बढी। यो अस्पतालमा प्रधानमन्त्री ओलीसहित ६ सय १४ जनाको मिर्गौला प्रत्यारोपण भइसकेको छ। जसमध्ये ६५ प्रतिशत पुरुष छन्। मिर्गौला दान गर्नेमा ७०  प्रतिशत महिला रहेको अस्पतालको तथ्यांकले देखाउँंछ।

मिर्गौ प्रत्यारोपण हुने वीर अस्पताल र धर्मभक्त मानवअंग प्रत्यारोपण केन्द्र भक्तपुरमा पनि मिर्गौला दाता महिला नै बढी भएको पाइएको छ।

अन्तर्राष्ट्रिय एक जर्नलका अनुसार भारत, पाकिस्तान तथा दक्षिण एसियाली राष्ट्रमा समेत महिला मिर्गौला दाता नै बढी छन्। ती राष्ट्रमा पनि ७० प्रतिशत मिर्गौला दाता महिला छन्।

चिकित्सकका अनुसार दक्षिण एसियाली देशको तुलनामा विकसित तथा पश्चिमा राष्ट्रमा भने महिला मिर्गौला दाताको संख्या कम छ। नेपाल तथा दक्षिण एसियामा महिला मिर्गौला दाता बढी हुनुको पछि सामाजिक मनोविज्ञान तथा पितृसत्तात्मक समाज कारक रहेको त्रिवि शिक्षण अस्पतालका नेफाेलोजी विभाग प्रमुख तथा प्रधानमन्त्रीकी निजी चिकित्सक दिव्यासिंह शाह बताउँछिन्। ‘पुरुषलाई घरको खम्बाको रुपमा नेपाली समाजले लिएको छ, ऊबिना परिवार नचल्ने मनोविज्ञान महिला र सिंगो समाजमा देखिन्छ,’ उनले भनिन्। शाहको विचारमा पुरुषको तुलनामा महिलाको मिर्गौला स्वस्थ हुनाले पनि यस्तो भएको हुन सक्छ।

त्रिवि शिक्षण अस्पतालका मिर्गौला रोग विशेषज्ञ डा. महेशकुमार सिग्देलको विचारमा पनि नेपाली समाजको सामाजिक तथा आर्थिक पक्षका कारणले मिर्गौला दान गर्ने महिला बढी भएका हुन्। साथै महिलामा हुने दयालुपनले पनि उनीहरू अरुलाई मिर्गौला दिन उत्पे्ररित भएको देखिएको सिग्देल बताउँछन्। ‘पुरुषभन्दा महिला बढी दयालु हुन्छन्, यो पनि एउटा कारण हो’, उनले भने।
प्रधानमन्त्री ओलीलाई पहिलोपटक मिर्गौला दिएकी अन्जन अहिले पनि तीन दिनदेखि त्रिवि शिक्षण अस्पतालमा बसेकी छिन्। उनी प्रधानमन्त्री ओलीलाई दोस्रोपटक मिर्गौला दिने समीक्षाकी माइजू नाता पर्छिन्। प्रधानमन्त्री ओलीको दोस्रोपटक मिर्गौला प्रत्यारोपण हुँदा आफू निकै खुसी भएको अन्जनले बताइन्। ‘म आफैंले मिर्गौला दिँदाको क्षणमा जस्तो खुसी अहिले पनि छु। समृद्ध नेपाल र सुखी नेपालीको नारा साकार पार्न उहाँ स्वस्थ हुनुपर्छ’, उनले भनिन्।

प्रधानमन्त्री ओलीलाई दोस्रोपटक मिर्गौला दिने समीक्षा ३१ वर्षकी छन्। उनी नातामा ओलीकी भान्जी पर्छिन्। प्रधानमन्त्री ओली र समीक्षाको रगत समूह ‘ओ नेगेटिभ’ हो। प्रधानमन्त्री ओली बिरामी भएपछि समीक्षाले नै उनलाई मिर्गौला दिने प्रस्ताव राखेकी थिइन्। यो गत वर्षको कुरा हो। ‘प्रधानमन्त्रीको मिर्गौैलाले काम गर्दैन् भन्ने सुन्नेबित्तिकै समीक्षाले आफैं दिन्छु भनेकी थिइन्। यसबारे उनले मलाई पनि सोधिन्। मैले पनि सहमति दिएँ,’ बिहीबार अस्पतालमा भेटिएका समीक्षाका पति कमल ज्ञवालीले भने।

प्रकाशित: २३ फाल्गुन २०७६ ०१:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App