१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
समाज

माझी समुदायले गरे कोसी पूजा

खोटाङको रभुँवामा आयोजित कोसी पूजामा अतिथिसँग माझी समुदाय । तस्बिर : नागरिक

खोटाङ– खोटाङको रावाबेँसी गाउँपालिका–३ लामीडाँडाको रभुँवा माझीगाउँका माझी समुदायले कोसी पूजा गरेका छन्। ‘सबैको फलिफाप होस्, रक्षा गरुन्, चिताएको पुगोस्’ भन्ने कामना गर्दै रभुँवाका अल्पसंख्यक माझी समुदायले मंगलबार दुधकोसीमा पुगेर कोसी पूजा गरेका हुन्। पाठी, कुखुराको भाले, परेवा, हाँस र अण्डाको बलि दिएर कोसी पूजा गरिएको रावाबेँसी गाउँपालिका–३ लामीडाँडाको रभुँवाका वडा सदस्य रहेका सोमबहादुर माझीले बताए।

नेपाल माझी उत्थान संघ जिल्ला समितिको अगुवाईमा रभुँवाका माझी समुदायले हरेक वर्षको फागुन तेश्रो साता कोसी पूजा गर्दै आएका छन्। बाजेबराजुको पालादेखि चल्दै आएको कोसी पूजा सकेपछि गाउँमा भेला भएर खानपिन गर्दै रमाईलो गर्ने प्रचलन रहेको छ। पाँच किसिमका पशुपन्छिको बलि दिइने भएकाले कोसी पूजालाई पञ्चौली पूजा पनि भन्ने चलन रहेको स्थानीय शम्भु माझीले बताए। कोसी पूजापछि स्थानीय रावा प्राविमा युवा नेता खेमराज देउसालीको प्रमुख आतिथ्यतामा कोसी पूजाको औपचारिक कार्यक्रम गरिएको छ।

लामीडाँडामा ८७ घर माझी समुदाय छन्। रभुँवाको माझी गाउँमा मात्र ६२ घर माझी छन्। कोसी पूजाका लागि गाउँ छाडेर काठमाडौं लगायतका शहरमा बसिरहेका माझी समुदाय समेत गाउँमा आएका छन्। कोसी पूजाका लागि सोलुखुम्बु र ओखलढुंगाका माझी समुदाय समेत भेला हुने गरेको नेपाल माझी उत्थान संघ जिल्ला समितिले जनाएको छ। कोसी पूजा आफन्तबीचमा भेला हुने अवसरकारुपमा समेत लिने गरिएको छ।

कोसी पूजाका दिन माछाको परिकार र जाँडको सगुन (प्रसाद) बाँड्ने गरिन्छ। पाहुनाकारुपमा बोलाईका अतिथिलाई सुरुमा सगुन दिएर सम्मान गर्ने माझी समुदायको प्रचलन छ। कोसी पूजाका दिन कोही नदीमा जाल हान्न व्यस्त रहन्छन् भने कोही पूजाआजामा व्यस्त रहन्छन्। रभुँवाका माझी समुदायले दुधकोसीसँगै रावा खोलाको पनि पूजा गर्ने गरेका छन्। रावा खोलाको पनि पूजा गर्नुपर्ने भएकाले उनीहरु दुधकोसी र रावा खोलाको संगमस्थल रावा दोभानमा पुगेर कोसी पूजा गर्ने गरेका छन्।

सदियौंदेखि हरेक वर्षको पूर्णिमाका दिन कोसी पूजा, देवी पूजा र डुंगा पूजा गर्ने प्रचलन रहिआएकोमा २०७४ सालदेखि पञ्चौली पूजा सुरु गरिएको माझीले बताए। तर, पुल बनेसँगै डुंगा चलाउने पेशा हराएकाले हाल डुंगा पूजा भने गर्न छाडिएको छ।

रभुँवाका माझी समुदायले आफूलाई सदियौंदेखि सो स्थानमा बस्दै आएको बताउँछन्। हालसम्म उनीहरुले आफ्नो भाषा र भेषभुषालाई जोगाएर राख्न सफल छन्। जिल्लाकै घोपाटार, जयराम, बतासेघाट, गोडुलीघाट, रसुवाघाटमा पनि माझी समुदायको बसोबास रहेको छ।

 

प्रकाशित: २१ फाल्गुन २०७६ १०:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App