१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

खुलेन बिरामीको कारण

डोल्पा – फागुन १९ गते त्रिपुरसुन्दरी नगरपालिका–१ करेलीकाँडा गाउँमा रुघाखोकी र ज्वरोले घरैपिच्छे मानिसहरू थलापरेको समाचार नागरिक दैनिकमा छापिएपछि जिल्लामा सनसनी फैलियो। गाउँबाट उपचारका लागि नगर स्वास्थ्यकेन्द्र त्रिपुराकोट आएका बिरामीसँगको कुराकानीमा आधारित सो समाचार प्रकाशनपछि कतै छिमेकी देश चीनमा फैलिएको कोरोना भाइरसको गाउँमा प्रवेश त भएन भन्ने सन्त्रासले करेलीकाँडा गाउँ र जिल्लामै आतंकको वातावरण सिर्जना भयो। एकै गाउँमा घरैपिच्छे रुघाखोकी र ज्वरोले ८० जना थलापरेको खबरले जनजीवनमा त्रास बढ्नु स्वाभाविक थियो।

घटनाबारे थप यथार्थ र अवस्था बुझ्न त्रिपुरासुन्दरी नगरपालिका केन्द्र बगरबाट करिब तीन घण्टाको उकालो पैदल दूरी पार गरी रोग प्रभावित करेलीकाँडा गाउँ पुग्दा गाउँमा खासै चहलपहल थिएन। रुवाखोकी र ज्वरोको संक्रमणले थलिएर घरभित्रै थन्किएका होलान् भन्ने सोच्दै म बस्तीको तस्बिर क्यामरामा कैद गर्न थालें।

गाउँ बाहिरको मान्छे आएर फोटो खिचिरहेको देखेपछि मानिसहरू बिस्तारै बाहिर आउन थाले। एकछिन पछि मानिसहरूको चहलपहल, ओहरदोहर बढ्न थाल्यो। मानिसहरू रुखाखोकी र ज्वरोले सिकिस्त भए पनि निर्धक्कका साथ आपसमा कुरा गरिहेका थिए। उनीहरू भन्दै थिए, ‘हाम्रो गाउँ पूरै बिरामीले थला परेको छ। हामी कहिले सन्चो हुने, कहिले बिरामी हुने गर्छौं।’

एकैचोटी ८० जनासम्म बिरामी परेको र विश्वभर फैलिदै गरेको कोरोना भाइरसले छिमेकी मुलुकमा धेरैको मृत्यु भएको अवस्थामा बिरामी -याल परीक्षणको रिपोर्ट आउनुअघि गाउँमा फैलिएको रोगको लक्षण कोरोनाको होइन भन्न सकिन्न।

‘टाउको दुख्ने, ज्वरो आउने, रुघाखोकी र पखाला लाग्ने, घाँटी दुख्ने गरेकाले कोरोना भाइरस र गाउँमा फैलिएको मौसमी रुघाखोकी र ज्वरोको लक्षण मिल्दोजुल्दो देखिएकाले कतै कोरोना त होइन भन्ने आशंका थियो,’ वडासदस्य ज्ञानबहादुर बुढाले भने, ‘रुघाखोकी र ज्वरोको औषधि सेवनपछि केही रोकथाम भएको छ। जनजीवन सामान्य भइरहेको छ।’

५७ घर रहेको करेलीकाँडा गाउँमा ४५ घरका ८० जनाभन्दा बढी रुघाखोकी र ज्वरोले थलिएका छन्। सबैभन्दा बढी वृद्धवृद्धा र बालबालिका यस रोगबाट प्रभावित बनेका छन्। मौसम परिवर्तनसँगै फैलिएको रुघाखोकी र ज्वरोले गाउँ नं थला परेपछि नगरपालिकाबाट सिनिएर अहेब शेरबहादुर बुढा, नर्स लक्ष्मी न्यौपानेसहित चार सदस्यीय स्वास्थ्यकर्मीको टोली सोमबार गाउँमै पुगेर स्वास्थ्य जाँच तथा औषधि वितरण गरिरहेकाे छ।

स्थानीय लेखनाथ आधारभूत विद्यालयमा राखिएको अस्थायी स्वास्थ्य उपचार केन्द्रमा उपचारका लागि आउने बिरामीहरूको घुइँचो लागेको थियो। स्वास्थ्य परीक्षणमा संलग्न अहेब शेरबहादुर कठायतले रुघाखोकी र ज्वरो प्रभावित बिरामीहरूमा एक सय दुई फरेनहाइटसम्म ज्वरो देखिएको बताए। सोमबार र मंगलबार गरी ५४ जनाको स्वास्थ्य जाँच गरिएको छ। रुघाखोकी र ज्वरोले बुजबहादुर बोहरा परिवारका नौ जना ओछ्यानमै थलिएका छन्। बिरामीका कारण उठ्नसमेत नसकेका बुजबहादुरले ओछ्यानबाटै भने, ‘१० दिन भयो ओछ्यानको ओछ्यानमै छौं। टाउको दुख्ने, ज्वरो आउने, रुघाखोकी लाग्ने, घाँटी दुख्ने, पखाला लाग्ने गर्छ, भए जति सबै रोग हामीलाई नै लागेको छ कि जस्तो भइरहेको छ।’ उनले गाउँभरि रुघाखोकी र ज्वरोका बिरामी हुँदासमेत प्रभावकारी उपचारमा सम्बन्धित निकायको ध्यान जान नसकेको गुनासो पनि गरे। अर्का बिरामी चन्द्रमति लामाले आफूसहित पाँच वर्षीय छोरा लक्ष्मीकान्त लामा र तीन वर्षीय सोनाम लामा एक सातादेखि ज्वरो र खोकीले थलापरेको बताइन्।

जिल्ला अस्पताल दुनैकी डाक्टर मेलिना हमालले करेलीकाँडामा फैलिएको रोग कुन हो भन्ने कुरा बिरामीको घाँटीबाट निस्केको -याललाई ल्याब–टेस्ट नगरेसम्म यही नै हो भनेर भन्न नसकिने बताइन्। ल्याब–टेस्टका बिरामीको -याल काठमाडौं पठाइने र त्यहाँबाट रिर्पोट आएपछि मात्र कोरोना हो वा अन्य रोग हो भनी यकिन हुने डाक्टर हमालले बताइन्। एकै गाउँमा एकैचोटी ८० जनासम्म बिरामी पर्नु र विश्वभर फैलिदै गरेको कोरोना भाइरसले छिमेकी मुलुकमा धेरैको मृत्यु हुनुले पनि अहिले नै कोरोना होइन भन्न नसकिने भएकाले ल्याब–टेस्ट नभएसम्म नआत्तिन तथा साबुन–पानीले हात राम्ररी धुन र तातोपानी प्रयोग गर्न डाक्टर हमालले सुझाएकी छन्।

विद्यालय बन्द
रुघाखोकी र ज्वरोले बालबालिका थला परेपछि करेलीकाँडा गाउँमा रहेको लेखनाथ आधारभूत विद्यालय बन्द गरिएको छ। गाउँमा फैलिएको रोगले सबैभन्दा बढी बालबालिका प्रभावित भएपछि बिरामी सामान्य अवस्थामा नफर्कुञ्जेलसम्मका लागि मंगलबारबाट विद्यालय बन्द गरिएको हो। प्रधानाध्यापक नवराज बुढाले एकपछि अर्को बालबालिका बिरामी पर्न थालेपछि व्यवस्थापन समितिको बैठक बसेर विद्यालय बन्द गरिएको बताए।

प्रकाशित: २१ फाल्गुन २०७६ ०२:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App