१० मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

कोरोना भाइरस : बढ्दै त्रास, तयारी सुस्त

वीरेन्द्रनगर- डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१, करेलीकाँडा गाउँमा सोमबार भाइरल ज्वरोले ४० जनाभन्दा बढी स्थानीय थलिए। ज्वरो आउने, टाउको दुख्ने, रिंगाटा लाग्ने र वान्ता आउने लक्षण देखिएको उक्त प्रकोपपछि कोरोना भाइरस भएको भन्दै यहाँका स्थानीय त्रसित बने। यहाँकी प्रदेश सांसद बदमी क्वारी बोहोराले कर्णाली प्रदेशसभाको संसदमा कोरोना भाइरस जस्तो देखिने भाइरस भएको भन्दै सरकारको ध्यानाकर्षण गराइन्। चीनबाट विश्वभरि उक्त भाइरस फैलिँदै जाँदा कर्णालीका बासिन्दा त्रसित हुँदै गएका छन्।

तर, पनि कर्णाली प्रदेश सरकारले यसको रोकथामका लागि पूर्व तयारीको पहल गरेको छैन। जसले डोल्पाका बासिन्दा मात्र होइनन्, चीनसँग सिमाना जोडिएको कर्णालीमा कोरोना भाइरसको त्रास बढ्दै गएको छ। कर्णालीका बासिन्दा सबैभन्दा बढी रोजगारीका लागि जाने भारतमा पनि कोरोना भाइरस देखिएको छ। सोमबारसम्म यहाँ पाँच जनामा यो भाइरस देखिएको छ। दैनिक सयौं व्यक्ति भारतबाट कर्णाली आवतजावत गर्ने हुँदा सीमा क्षेत्रमा चेकजाँच गर्ने व्यवस्था गर्नुपर्ने यहाँका बासिन्दाको भनाई छ। कर्णालीमा त्रास बढ्दै जाँदा कर्णाली प्रदेश सरकारले तयारी गरेको देखिँदैन। कर्णाली प्रदेशका प्रमुख प्रवेशद्वार रत्न राजमार्ग र राप्ती राजमार्गमा हेल्थ डेस्क राख्ने विषयमा सरकारले छलफल गरेको छैन।

यता चीनसँग जोडीएका नाकामा पनि सतर्कता अपाउन कुनै पहल भएको देखिँदैन। सांसदले पनि सरकारसँग यसको तयारीका विषयमा जवाफ माग गर्दै आए पनि सरकारले जवाफ दिन सकेको छैन। प्रदेश सरकारले अहिले कोरोना भाइरसबारे चेतनामूलक प्रचापम्पलेट वितरण गर्ने काम मात्र गरेको छ।

कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषदको बैठक बस्ने र आवश्यक कदमहरू चाल्ने स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ। तयारीस्वरूप कर्णालीमा सात सदस्यीय कार्यदल गठन भएको छ। स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक रीता भण्डारी जोशीको अध्यक्षतामा अन्य स्वास्थ्यकर्मी, स्वास्थ्यसँग सम्बन्धित कर्मचारी सम्मिलित सात सदस्यीय उक्त समितिले कोरोना भाइरसको लक्षण देखिए वा शंका माने तत्काल त्यसको उद्दार गरी उपचारमा सघाउने छ।

साथै चीनसँग सीमा जोडिएको हुम्लास्थित हिल्सा र प्रदेश नम्बर ५ बाट कर्णालीको प्रमुख प्रवेशद्वार बर्दियाको बबई र राप्ती राजमार्गमा हेल्थ डेस्क राख्ने विषयमा छलफल भएको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ। उनका अनुसार प्रदेश अस्पतालका दुईवटा कोठा खाली गरिएको छ। कोरोना भाइरसको लक्षण देखिएका बिरामीलाई राख्न कोठा खाली गरिएको हो। कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषदस्तरीय बैठक बसेर थप तयारीका कार्यक्रम अगाडि ल्याइने स्वास्थ्य सेवा महाशाखाका वरिष्ठ जनस्वास्थ्य प्रशासक वृषबहादुर शाहीले जानकारी दिए।

स्वास्थ्य सेवा निर्देशनालयकी निर्देशक जोशीका अनुसार हिँडडुल गर्दा मास्कको प्रयोग गर्ने र धेरै मान्छे जम्मा हुने भेला, महोत्सवजस्ता कार्यक्रम नगर्न अनुरोध गरेकी छन्। चीनभन्दा भारतमा कोरोना देखिएपछि कर्णालीमा सहजै भित्रिन सक्ने आंकलन गरिएको छ। यहाँका अधिकांश मानिस दैनिक आवतजावत गर्ने हुँदा त्यहाँबाट यता उक्त भाइरस आउन सक्ने कर्णाली प्रदेशसभाका सांसद रातो कामीले जानकारी दिए। ‘सरकारले सामान्य तयारी गरेर हुँदैन,’ उनले भने, ‘कोरोना संक्रमण भित्रिन नदिन पूर्व सजगता अपनाउनु पर्छ।’ स्रोत साधन अभाव हुँदा कोरोना कर्णाली प्रदेशमा फैलिए ठूलो धनजनको क्षति हुन सक्ने सामाजिक अभियान्ता खेमबहादुर रेग्मीले बताए। ‘भौगोलिक विकटताका कारण सामान्य बिरामी भए पनि यहाँका बासिन्दा सहजै स्वास्थ्य सेवाको पहुँचमा पुग्न सक्दैनन्,’ उनले भने, ‘महामारीका रूपमा देखिएको कोरोना भित्रिए ठूलो आपत आइपर्छ।’ यसको लागि बेलैमा सरकारले नाकामा चेकजाँच र यसको प्रचारप्रसारमा ध्यान दिनुपर्ने उनको भनाई छ।

नेकपाको बैठक स्थगित
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को फागुन २२ र २३ गते बस्ने भनिएको जिल्ला कमिटीको बैठक स्थगित भएको छ। विश्वभरि कोरोना भाइरस फैलिँदै गएको र सरकारले भेला, सम्मेलन नगर्ने भने पनि बैठक स्थगित गरिएको नेकपा कालीकोटका सचिव नगिन्द्र शाहीले जानकारी दिए। प्रशिक्षण कार्यक्रममा कर्णाली प्रदेश इन्चार्ज जनार्दन शर्मालगायतका नेता आउने कार्यक्रम थियो। कोरोना भाइरसको त्रास कम भएपछि पुनः बैठकको मिति तय गरिने नेकपा कालीकोटका सचिव शाहीले जानकारी दिए।

प्रकाशित: २० फाल्गुन २०७६ ११:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App