१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
समाज

शान्तिपछि 'गुलजार' बन्दै मधेसका गाउँसहर

सिरहाको गुलजार ग्रामिण गाउँबस्ती। तस्विरःमिथिलेश यादव/नागरिक

लहान - घटना १ः कातिक २१ गत्ते भारतीय झाँक्रीको हत्या गरी सिरहा नगरपालिका–१२ स्थित कमला नदीमा फालेर फरार भएका पाँचजनालाई प्रहरीले मंसिर २ गत्ते पक्राउ गर्यो। झाँक्रीको काम गर्दै आएका ४० वर्षीय भारतीय नागरिक राजकुमार यादवको घाँटी रेटेर हत्या गरिएको आरोपमा प्रहरीले धनगढीमाई नगरपालिका–१० निवासी ३८ वर्षीय फुलगेन साह, निजको भतिजो मिर्चैया नगरपालिका–४ निवासी जितेन साह, १९ वर्षीय रामकुमार साह, धनुषाको कमलामाई नगरपालिका–६ सरुवामडा निवासी २५ वर्षीय अजय महतो र २१ वर्षीय राजलाल महतोलाई पक्राउ गरी कानुनी कारबाही अघि बढायो।

घटना २ः सिरहाको कृष्णपुर गउँका दुई जनालाई हत्या घटनामा अदालतबाट दोषी ठहर भइ फरार रहेका अभियुक्तलाई १६ वर्षपछि प्रहरीले पक्राउ गर्यो। जिल्ला अदालतले दोषी ठहर गरेको १६ वर्षपछि सिरहा नगरपालिका–२० का ६८ वर्षिय हिरवा सहनी सिरहा प्रहरीको फन्दामा परे।

सहनी दुईवटा कत्र्तब्य ज्यान मुद्दामा अदालतबाट दोषी ठहर गरिएका हुन्। कत्र्तब्य ज्यानको एउटा मुद्दामा सहनीलाई अदालतले १० वर्ष र अर्कोमा २० वर्षको सजाय तोकेको छ। २०४४ साल पुस १३ गते सिरहाको कृष्णपुर गाविसमा रामनाथ यादब र रामचन्द्र यादबलाई गोली हानी हत्या गरिएको थियो। उक्त घटनामा यादवद्वयका बुवाले किटानी जाहेरी दिएका थिए। जिल्ला अदालत सिरहाले २०६० साल माघ २८ गते प्रतिवादी हिरवा सहनीलाई १० वर्ष कैद सजाय सुनाएको थियो। पुस १७ गते नै सहनीमाथी तत्कालिन सन्हैठा गाविस–२ का पाँच महिने शिशुलाई हत्या गरेको मुद्दा दर्ता भयो। उतm घटनामा अदालतले सहनीलाई दोषी ठहर गर्दै २०६० माघ २८ गते २० वर्ष कैदको सजाय सुनायो। सहनीलाई सिरहा जिल्ला अदालतमा पेश गरी कैद भुक्तानका लागि चलान गरिसकिएको सिरहा प्रहरी प्रमुख एसपी उमाप्रसाद चतुर्वेदीले बताए।

एसपी चतुर्वेदी सिरहा प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेपछि अपराध नियन्त्रण र अपराध गरी फरार भएकाहरुको खोजी अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय सिरहाको तथ्यांकअनुसार यस आर्थिक वर्षको सात महिनामा मात्र १ सय १० जना फरार प्रतिवादी पक्राउ परिसकेका छन्। गत्त वर्ष वर्षभरीमा ९८ जना मात्र पक्राउ परेका थिए।

अपराधका घटना घटाएर उम्किने तथा अपराधमा सजाय तोकिएपनि समाजमा अपराधको त्रास फैलाउँदै हिँड्ने प्रवृतिमाथी पछिल्लो समय प्रहरीले चलाएको अपराध विरुद्धको अभियानले  लगाम लागाएको स्थानीयहरु बताउँछन्। अपराध र अपरधी विरुद्ध प्रहरीको कठोर कारबाहीले समाज चयनको सांस फेर्न थालेको सुरक्षा मामलामा अतिसंवेदनशील ठानिएका सीमावर्ती हरकट्टी गाउँका विरेन्द्र ठाकुरको अनुभूति छ।

माओवादीको सशस्त्र युद्धका बेलादेखि अशान्त मधेस माओवादीको सशस्त्र युद्ध शान्ति प्रक्रियामार्फत अवतरण भएपनि  शान्त भएन। मधेसमा अरू नै सशस्त्र समूह जन्मिए। माओवादीबाट विद्रोह गरेर २०६१ साउन १० जयकृष्ण गोइतले जनतान्त्रिक तराई मुक्ति मोर्चा नामक सशस्त्र संगठन सञ्चालन गरेपछि मधेस पुनः अशान्त बन्यो। जनतान्त्रिकको नामबाट अपहरण, चन्दा, फिरौती, व्यक्ति हत्या यति बढ्यो कि मधेसका गाउँघरबाट मधेसी नै पलायन हुन थाले। समयान्तरमा सशस्त्र समूहको गतिविधि मधेसमा केही कम भयो। तर अपराधी प्रवृतिका व्यतिmहरु अवरण फेरेर मधेसलाई अशान्त बनाइरहे। आपराधिक क्रियाकलापबाट कृषि तथा मजदुरीमा निर्भर यहाँका  गाउँले चैनको सास फेर्न पाउँदैनथे।

पछिल्ला दिनमा सुरक्षा मामलामा अतिसंवेदनशील ठानिएका यहाँका गाउँसहरका स्थानीयको जनजीवन सामान्यतर्फ फर्किसकेको छ। भरपर्दो सुरक्षा प्रत्याभूतिका कारण गाउँ–सहर गुलजार बन्दै गएका छन। आपराधिक गतिविधिको डरले गाउँ छाडेर पलायन भएका स्थानीय आफ्नो थातथलो फर्किसकेका छन्। ‘सबै समुदायका मानिस पहिलेजस्तै मिलेर खुसीसाथ बसेका छौं,’ सीमावर्ती बरियारपट्टीका ८२ वर्षिय रासलाल यादव भन्छन्,‘समाजमा भाइचाराको भावना बलियो बन्दै गएको छ। गाउँको सांस्कृतिक गठजोड पुरानै अवस्थामा फर्केको छ।’ यहाँका आपराधिक समूह तथा प्रवृतिलाई निमिट्यान्न पार्ने अहिलेका प्रहरी–प्रशासनको इमान्दार भूमिकाकै कारण परिस्थिति बदलिएको यादव बताउँछन्।

समाजमा अपराध तथा हिंसा मच्याउने व्यक्तिलाई प्रहरीले पक्राउ गर्यो। संगठित अपराधमा लागेका अधिकांश व्यक्ति अहिले जेलजीवन बिताइरहेका छन्। कतिपय अपराध छाडेर वैदेशिक रोजगारीमा गइसकेका छन्। जिल्ला प्रहरी कार्यालय, लहानका प्रमुख एसपी उमाप्रसाद चतुर्वेदी सिरहा लगायत यस क्षेत्रमा संगठित आपराधिक गिरोहको सञ्जाल करिब ध्वस्त भइसकेको बताउँछन्। ‘हत्या, डकैती, चन्दा असुली, अपहरण र लागुऔषध ओसारपसार गर्ने अपराधीलाई पक्राउ गरेर जेलचलान गरेका छौं, यसबाट अपराधजन्य घटना नियन्त्रणमा आएको छ,’ चतुर्वेदी भन्छन्।

अपराधले गाउँसहर आजित भएको बेला सखुवानन्कारकट्टी–१ तामासुइँया टोलका गणेश साह वैदेशिक रोजगार रोजे। उनी मलेसिया र साउदी गरि ६ वर्ष वैदेशिक रोजगारीमा बिताए। सात महिना भयो उनी घर फर्केका छन्। गाउँमा शान्ति फर्किएपछि उनले वैदेशिक रोजगारीमा नफर्किने सोच बनाए। उनी भन्छन्,‘ टेम्पो किनेर भाडाँमा चलाउन थालेको छुँ। गाउँ सहर शान्त भएपछि रोजगारको अवसर सृजना हुँदो रहेछ, उनी भन्छन्,‘पहिला अवसर भएर पनि वातवरण थिएन, अहिले वातावरण बनेको छ।’

विदेशबाट कमाएकोबाट १ लाख ८० हजार बुझाएर किस्ताबन्दीमा उनले टेम्पो किनेका छन्। उनले खरिद गरेको टेम्पोको कूल लागत ५ लाख ६५ हजार रुपैयाँ पर्छ। सात महिना भयो तमासुइँया बाट लहान यात्रु बोकेर उनले टेम्पो गुडाउँन थालेको। दिनको १५ सयदेखि २ हजारसम्म कमाई भैहाल्छ उनले भने,‘यतीको कमाई भएपछि विदेश गएर पसिना किन चुहाउँनु।’ दिनको तीन देखि चार खेप लगाउँछु उनले भने,‘विदेशमा मरेर काम गरे यतीको कमाई हुन्थ्यो, यहाँ सजिलै त्यती कमाउँदैछु।’ घरपरिवारसँगै बसेर विदेशमा कमाउने जति कमाई भएपछि को विदेश जाने मन बनाउँछ ? उनले प्रश्न गरे। पहिला जस्तो भयको वातावरण छैन, राती पनि ओहोरदोहोर गर्दा डर छैन्, उनले अनुभूति सुनाए।

गाउँबाट सहरसम्म (लहानसम्म) टेम्पो चल्न थालेपछि स्थानीयहरुलाई सजिलो भएको छ। पहिला बजार जान सोच्नु पथ्र्यो। एक्लै हिँड्न पनि डर थियो। अपराधिक गतिविधिका कारण सहरसँग गाउँको सम्पर्क विच्छेद प्रायः बनिसकेको थियो।  स्थानीय बबिता यादवले भनिन,‘गाउँमा शान्ति फर्किएपछि सहरसँगको दूरी घटाईदिएको छ।’ अब जतिबेला आवश्यकता पर्यो घर नजिकै टेम्पो चढेर मिनेटमै लहान पुगिहाल्छौं, उनले भनिन्। कतमासुइँयाबाट लहानको भाडा ५० रुपैयाँ छ। असुरक्षाका कारण विदेशिएका युवाहरु गाउँ फर्किन थालेका छन्। गाउँ फर्किने युवाहरु स्वरोजगारमा लागेका छन्। कोहि टेम्पो, कोहि पसल संचालन गरेर गाउँसहर गुलजार बनाउँदै छन्।

प्रकाशित: १७ फाल्गुन २०७६ ०८:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App