६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

अब जुम्लामै न्युरो सर्जरी

न्युरो सर्जरी विशेषज्ञ निलम खड्कालाई स्वागत गर्दै प्रतिष्ठान प्रशासन । तस्बिर : नागरिक

जुम्ला- झण्डै दशकअघिसम्म जुम्लामा अञ्चल अस्पताल थियो। त्यो अस्पतालमा दरबन्दी अनुसारका कर्मचारी थिएनन्। औषधिको चरम अभाव हुन्थ्यो। अस्पताल पुगेका बिरामी रित्तो हात फर्कन बाध्य हुन्थे। दक्ष चिकित्सकबाट उपचार सेवा पाउँदैनन्। अहेव र स्टाफ नर्सको भरमा बिरामीको उपचार हुन्थ्यो। त्यो बेला जुम्लाबासीले न औषधि पाउँथे, नत प्रभावकारी उपचार सेवा नै। उल्टै सामान्य घाउचोट लाग्दा समेत सुर्खेत नेपालगंज, काठमाडौँ र भारतको लखनउसम्म जानुपर्ने अवस्था थियो। तर अहिले त्यो बिकराल अवस्थाबाट कर्णालीबासीले मुक्ति पाइसकेका छन्।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला पुगेका सिँजाका जयलाल खत्रीले सबै प्रकारको औषधि उपचार पाउने गरेको बताउँछन्। उनले भने,‘ पहिले औषधि उपचार नपाएर अकालमा ज्यान गुमाउनु पथ्र्यो, अहिले मर्नै लागेका बिरामी बचेर घर फर्कन्छन्। यो कर्णालीबासीका लागि सौभाग्य हो।’ उनले अञ्चल अस्पताल हुँदाको स्वास्थ्य सेवालाई स्मरण गर्दै भने,‘कर्णालीमा विशेषज्ञ डाक्टरको फालाफाल होला भनेर कल्पना समेत गरेका थिएनौँ। हाम्रै पालामा स्वास्थ्यमा समृद्धि हासिल भएको देख्दा आश्चर्यमा परेका छौँ।’

अहिले नेपालका सुविधासम्पन्न अस्पतालमा पाउने सबै सेवा जुम्लामै पाउँछ। कर्णाली अस्पतालमा हाडजोर्नी तथा नसा रोग, जनरल सर्जरी प्रसूति तथा स्त्री रोग, मेडिसिन, मानसिक रोग, बालरोग, आँखा रोग मुख तथा दन्त सेवा, आइसीयू, एनआईसीयू, रेडियोलोजी तथा एनेस्थेसिया सेवा उपलव्ध छ। भर्खरैमात्र पश्चिम नेपालमै पहिलो पटक न्युरो सर्जरी सेवा सुरु भएको छ। यसअघि सिटि स्क्यान सेवा थियो। तर विशेषज्ञ नहुँदा न्युरो सर्जरी सेवा सञ्चालनमा आउन सकेको थिएन। न्युरो सर्जन चिकित्सक निलम खड्का प्रतिष्ठानमा आएसंगै नसा सम्बिन्ध शल्यक्रिया सेवा सुरु भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले जनाएको छ। न्युरो सर्जरीको सस्तोमा अप्रेशन गर्न सकिने भएको हो।

यसअघि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान(न्याम्स)मा एसोसिएट प्रोफेसर रहेका चिकित्सक खड्का कर्णाली अस्पतालमा न्युरो सर्जरी सेवा सञ्चालनका लागि पुगिसकेका छन्। अस्पताल निर्देशक डाक्टर मंगल रावल नसा सम्बन्धिका बिरामीलाई अब निकै सहज हुने बताउँछन्।

नसाको शल्यक्रिया गर्न अत्यावश्यक रहेको सिटी स्क्यान प्रतिष्ठानले एक वर्षअगाडि नै सञ्चालनमा ल्याएको थियो। यहाँको भौगोलिक बनावट भिरालो भएकोले लड्ने र जुम्ला सडक सञ्जालमा जोडिएसँगै सवारी दुर्घटनाका कारण टाउको तथा नसामा चोटपटक लागेर धेरै बिरामी आउने भएतापनि न्युरो सर्जरी सेवा उपलब्ध नहुँदा नेपालगञ्ज र काठमाडौं रेफर गर्नुपर्ने बाध्यता रहेको थियो। जुम्लामा न्युरो सर्जन पुगेसँगै अब टाउको र नसामा समस्या भएका यस क्षेत्रका बिरामीले उपचारका लागि बाहिर जानुपर्ने बाध्यता टरेको निर्देशक रावलले बताए।  

अब छाला, नाक, कान र घाँटीको विशेषज्ञ सेवा सञ्चालनका लागि पहल भइरहेको प्रतिष्ठानका रजिष्टार विश्वराज काफ्ले बताउँछन्। ‘नाक, कान र घाँटीको विशेषज्ञ खोजिरहेका छौँ। सरकारसँग उपलब्ध गराउन पहल भइरहेको छ। अब निकट भविष्यमै यो सेवा प्रारम्भ हुुनेछ,’ उनले थपे।

अहिले कर्णाली अस्पतालमा विशेषज्ञ डाक्टर ३६ जना, २२ जना मेडिकल अधिकृत छन्। नर्सिङ तर्फका गरेर झण्डै दुई सय बढी स्वास्थ्यकर्मी छन्। अहिले जटिल प्रकारको रोगले ग्रसित बिरामी उपचार नपाइ फर्कनु परेको छैन। काठमाडौमा हुने सुविधा जुम्लामै हुन्छ। कर्णाली अस्पतालमा सेवा दिन अमेरिकाबाट विशेषज्ञ चिकित्सक आएर एक महिना सेवा दिएर फर्केका छन्।

कर्णालीका जुम्ला, हुम्ला, कालिकोट, मुगु, डोल्पा, र जुम्लासँग जोडिएका अछाम, जाजरकोट, बझाङ र बाजुरा जिल्लाको स्वास्थ्य सेवालाई मध्यनजर गर्दै सरकारले विसं २०६८ मा जुम्लामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गरेको थियो। प्रतिष्ठानले २०६९ कात्तिक २३ गतेदेखि एक जना विशेषज्ञसहित पाँच जना चिकित्सक ल्याएर सेवा सुरुवात गरिएको थियो।

‘कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवा विस्तार हुने क्रम जारी छ। एकदमै महत्वपूर्ण मानिने न्युरो सर्जरीसेवा समेत अब हामी सुरु गर्ने भएका छौँ,’ अस्पताल निर्देशक डा. मंगल रावलले भने,‘यो समग्र कर्णालीको लागि खुसिको कुरा हो।’ उनका अनुसार कर्णालीमा १६ स्लाईस सीसीको सिटिस्क्यान मेसिन गत वर्ष नै ल्याइएको छ। न्युरो सर्जरीमा चाहिने अन्य उपकरण र औजारहरु पनि ल्याइसकेको थियो।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले पटकपटक जिल्लास्थित अस्पताल र स्थानीय तहसँग समन्वय गरेर कर्णालीका जिल्लामा विशेषज्ञ सेवा दिँदै आएको छ। कर्णालीमा आउने जस्तोसुकै प्रकोप जनशक्ति परिचालन गर्दै आइराखेको छ। अब आन्तरिक उडानलाई प्रभावकारी बनाउन सके कर्णालीका सबै जिल्लाबाट सहजै रुपमा अस्पतालमा बिरामी लैजान सकिने जानकारहरु बताउँछन्। अहिले तीन सय बेडको अस्पताल बनेको छ। बिरामीको भिडभाड पनि निकै बढेको छ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका संस्थापक कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी कर्णालीमा अप्रत्यासित रुपमा स्वास्थ्य क्षेत्रमा प्रगति भइरहेको बताउँछन्। उनले कर्णालीलाई स्वास्थ्य पर्यटनका हिसावले अब्बल बनाउन सबै लाग्नु पर्नेमा जोड दिए। औषधि उपचारका लागि भौतारिनु पर्ने अवस्थाको अन्त्य भएको भन्दै मन्त्री भण्डारीले केही समय पनि कर्णालीले विशेषज्ञ चिकित्सक उत्पादन गरेर नेपाल भरी पठाउन सक्ने हैसियत राख्ने बताए। अब स्वास्थ्य क्षेत्रमा भइराहेका उपलब्धि संस्थागत गर्दै लैजानु पर्नेमा जोड दिए।

 

प्रकाशित: १७ फाल्गुन २०७६ ०८:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App