५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

प्रहरीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रहरी कार्यालय हुम्लाका तत्कालीन प्रहरी नायब उपरीक्षक त्रिलोकबहादुर चन्दलगायत १४ जना विरुद्ध विशेष अदालत काठमाडौंमा दुईवटा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। लेखापाललाई दबाब दिई सरकारी रकम निकाल्न लगाई आफ्नो घर खर्च चलाउने, नक्कली हस्ताक्षर गरी दैनिक भ्रमणभत्ता निकाली खाएको भेटिएको अख्तियारले जनाएको छ।

तत्कालीन प्रमुख प्रनाउ त्रिलोकबहादुर चन्द, लेखापाल माधवचन्द ठकुरी, लेखाशाखामा कार्यरत लेखा सहायक टंकबहादुर मल्ल, सर्वराज खत्रीसमेतले मिलेमतो गरी निकासा गरिएको अख्तियारको दाबी छ। अख्तियारका अनुसार सप्रमाण पुष्टि हुन आएको हिनामिना देखिएको भन्दै १९ लाख ९५ हजार रुपैयाँ बिगो कायम गरी माग गरिएको छ।

२०७२ असोजदेखि २०७३ असारसम्म तलब, स्थानीय भत्ता, राशनसमेतको भरपाईमा जोडजम्मामा फरक पारी खर्च लेखिएको अख्तियारको दाबी छ। त्यसैगरी कोष तथा लेखा नियन्त्रक कार्यालय हुम्लाका तत्कालीन लेखापाल भक्तबहादुर शाहीले जिल्ला प्रहरी कार्यालयको लेखापरीक्षण गर्ने क्रममा सरकारी रकम हिनामिना देख्दादेख्दै लेखापरीक्षक गरेको भन्दै आरोपपत्र दर्ता गरिएको छ।

त्यसैगरी प्रनाउ त्रिलोकबहादुर चन्द, लेखापाल माधवचन्द ठकुरी, लेखा सहायकहरु टंकबहादुर मल्ल, सर्वराज खत्रीसमेतको मिलेमतोमा रकम हिनामिना गरेको भन्दै ३२ हजार रुपैयाँ असुलउपर मागदाबी गरिएको छ।

प्रकाशित: १४ फाल्गुन २०७६ ०२:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App