५ वैशाख २०८१ बुधबार
समाज

सगरमाथा चढ्न सहयोगको आग्रह

सगरमाथा आरोही बन्ने तयारीमा रहेका रामकुमार चेपाङ, संविधानसभा सदस्य गोबिन्दराम चेपाङ लगायत।तस्बिर:अशोक/नागरिक

मकवानपुर – विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न रकम अभाव भएको भन्दै ३१ वर्षीय राजकुमार चेपाङले सहयोगका लागि आग्रह गरेका छन्। सोमबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै उनले सगरमाथा आरोहण गर्न करिब २६ लाख रुपैयाँ खर्च लाग्ने भएकाले सहयोगका लागि अनुरोध गरेका हुन्।

मकवानपुरको कैलाश गाउँपालिका–७ का उनले हालसम्म करिब पाँच लाख रुपैयाँ सहयोगको आश्वासन पाएको बताए। ‘जेठ ५ गते सगरमाथा हिमालको आरोहण गर्ने तयारी गरेको छु,’ उनले भने, ‘आर्थिक अभावले हिमाल चढ्ने प्रक्रिया अघि बढाउन सकेका छैन, मनकारीलाई सहयोगका लागि हात फैलाएको छु।’ ६ हजार मिटरसम्मका हिमाल पटक–पटक आरोहण गरिसकेका चेपाङले मनास्लु, धौलागिरि, आमादब्लाङ, गणेश, कुम्भकर्ण, नेरला, साइपाल, लाक्र्यलगायत हिमाल चढिसकेका छन्। तर सहयोगी भरियाका रूपमा हिमाल आरोहण गरेकाले कुनै प्रमाण नरहेको उनको दाबी छ।

सरगरमाथा चढ्ने पहिलो चेपाङ बन्ने सपना बुनेका उनलाई आर्थिक अभावले भने चिन्तित बनाएको छ। ‘भरियाका रूपमा सगरमाथा चढ्न ४६ लाखको फ्रान्सका नागरिकले अफर दिएका थिए,’ उनले भने, ‘तर नेपाली र आफ्नो जातिको इतिहास रच्न लाखौं रुपैयाँ त्यागेको छु।’

आधा दशकदेखि हिमाल आरोहीहरूको भरियाका रूपमा काम गर्दै आएका चेपाङले सगरमाथा चढ्न झन्डै तीन महिना लाग्ने पनि बताए।

अति सीमान्तकृत र विपन्न चेपाङ समुदायको पहिचान र नेपाल भ्रमण वर्ष–२०२० लाई लक्षित गरी सगरमाथा आरोहणको योजना बनाएको संविधानसभा सदस्य गोविन्दराम चेपाङले बताए। ‘स्थानीय, वाग्मती प्रदेश र संघीय सरकारसँग सहयोगका लागि पहल गरिरहेका छौं,’ उनले भने। हिमालयन गाइड्स नेपाल कम्पनीका अनुसार सगरमाथा आरोहण गर्दा शेर्पा सहयोग आठ लाख ६८ हजार, अक्सिजन सिलिन्डर तीन लाख ८६ हजार, बुट (विशेष जुत्ता) दुई लाख ३० हजार, बेस क्याम्प खाना दुई लाख सात हजार, भरिया खर्च एक लाख ८० हजार पर्छ।

प्रकाशित: १३ फाल्गुन २०७६ ०३:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App